शरणार्थी प्रकरणमा थप ‘हाइप्रोफाइल’ को नाम खुल्दै, लुम्बिनीका मुख्यमन्त्री समेत शंकाको घेरामा
नेपाली काँग्रेस नेतृ तथा सांसद आरजू राणा देउवा र प्रहरी खोरमा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाँण निकट मानिएका लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको नामसमेत ‘भुटानी शरणार्थी प्रकरण’ मा मुछिएको छ ।
‘नेपाली नागरिकलाई नक्कली शरणार्थी बनाएर अमेरिका लैजाने’ भन्दै करोडौँ असुल्ने गिरोहको ‘नेक्सस’ मुख्यमन्त्री चौधरीसम्म फैलिएको प्रहरीलाई उद्धृत गर्दै स्रोतले जनाएको छ ।
प्रहरी अनुसन्धानका क्रममा उक्त संगठित ठगी गिरोहका नाइके केशव दुलाल, सानु भण्डारी र दाङका सन्देश शर्माले शरणार्थी प्रकरणमा ‘हाई प्रोफाइल’ हरूको संलग्नता देखाउने क्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चौधरीको नाम पोलेपछि उक्त रहस्य बाहिरिएको बताइन्छ ।
अभियुक्त शर्माले ‘काँग्रेस नेता बुद्धिराम भण्डारीको साला गजेन्द्र बुढाथोकी (फरार) र लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको सहयोगमा आफूहरूले तत्कालीन गृहसचिव टेकनाराण पाण्डेलाई पटकपटक भेटेको’ बयान दिएका छन् ।
‘निज टेकनारायण पाण्डेलाई काठमाडौँ आएको बेला दुईपटक भेटेको हुँ, केही व्यक्तिहरूले मेरो नाम जोडेर प्रहरीमा उजुरी गरेपछि म त्यहाँ गएको थिएँ,’ उनको बयान उद्धृत गर्दै स्रोत भन्छ, ‘दाङका केटाहरूलाई अमेरिका पठाउने विषयमा गजेन्द्र दाई र डिल्ली दाई (मुख्यमन्त्री) सँग कुराकानी हुँदैजाँदा निज पाण्डेको नाम भने सुनिरहेको थिएँ ।’
पूर्वगृहमन्त्री खाँण, गिरोहका नाइके केशव दुलाल, सानु भण्डारी र सन्देश शर्मालाई काठमाडौँ प्रहरी परिसले पक्राउ गरेपछि मुख्यमन्त्री चौधरी अहिले काठमाडौंमा रहेको बताइन्छ । उनले गत सोमबार र मंगलबार प्रहरी थुनामा रहेकालाई भेट्न खोजेको स्रोतको दाबी छ । तर प्रहरीले अभियुक्तहरूलाई भेट्न नदिएको बताइन्छ । मुख्यमन्त्री चौधरीसँग यसबारे थप बुझ्न खोज्दासम्पर्क हुन सकेन ।
अमेरिकी पीआरधारी बुढाथोकीले सत्ता र पहुँचको आडमा तत्कालीन गृहमन्त्री बालकृष्ण खाँण, काँग्रेस नेतृ राणा र तत्कालीन सचिव टेकनारायण पाण्डेलाई कैयौँपटक गृह मन्त्रालयमै भेटेको र निरन्तर फोन सम्पर्कमा रहेको अभियुक्त सन्देश शर्माले बयानको क्रममा पटक पटक बताउँदै आएका छन् ।
त्यतिखेर तत्कालीन गृहमन्त्री खाँणलाई गजेन्द्रले भेटिरहँदा उनीविरुद्ध काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयमा केही पीडितले ठगीको उजुरी हालेका थिए । तर खाँणले मुख्यमन्त्री चौधरी र गजेन्द्रको आग्रह मान्दै पीडितहरुको उजुरीसमेत लुकाउन प्रहरीलाई बाध्य पारेको तथ्य पनि खुलेको छ ।
करोडौँ ठगी प्रकरणमा मुछिएका दाङका बुढाथोकी र प्रहरी खोरमा रहेका सन्देशले ‘शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु’ भन्दै राप्ती क्षेत्रका दुई सयभन्दा बढी युवकबाट पचासौं लाख असुलेको खुलासा भएको छ ।
‘अमेरिका पठाइदिन्छौँ तर इलिगल होइन भनेर दाङका गजेन्द्र र सन्देशले म र मेरो साथीबाट ३३ लाख लिए । उनीहरूले पैसा लगे तर हामीहरूलाई अमेरिका पठाएनन्’, अमेरिकी सपना देखेर गजेन्द्र र सन्देशमार्फत् ठगिएका एक पीडितले भने, ‘त्योबेला उजुरी गर्न जाँदा डिल्ली अंकलले मेरो बुबालाई भनेरै रोक्नुभयो । खै, हाम्रो पैसा डुब्यो ।’
‘आफूहरूबाट २० देखि ५० लाख लिए पनि समयमै अमेरिका नपठाएको’ भन्दै पीडितहरूले प्रहरी गुहार्दा पनि फरार अभियुक्त गजेन्द्रको दबाबमा मुख्यमन्त्री चौधरीले धेरैलाई शान्त पार्ने काम गरेको पीडितहरूको गुनासो छ । उनीहरूले नक्कली शरणार्थी परिचयपत्रसहितका प्रमाण अनुसन्धानका लागि प्रहरीमा बुझाएका छन् ।
‘उहाँ (मुख्यमन्त्री) ले पैसा खाएको चाहिँ थाहा भएन तर हामीहरूलाई प्रहरीकोमा जान नदिने, अमेरिका पठाइदिन्छन् भनेर उजुरी गर्न नदिने काम उहाँबाटै भएको छ,’ हाल काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयमा उजुरी दिएका दाङका एक पीडितले भने ।
स्रोतकाअनुसार प्रहरी हिरासतमा रहेका तत्कालीन गृहसचिव टेकनारायण पाण्डे, बालकृष्ण खाँणकी पत्नी मञ्जु खाँण र गिरोहका नाइके केशव दुलालसँग फरार सूचीमा रहेका बुढाथोकीको भेट उनै चौधरीले गराइदिएका थिए । उनी काँग्रेसमा बूढानीलकण्ठ निकट मानिन्छन् ।
टिप्पणीहरू