यसकारण बोलाइयो प्रधानमन्त्रीलाई राष्ट्र बैंकको आँगनमा

यसकारण बोलाइयो प्रधानमन्त्रीलाई राष्ट्र बैंकको आँगनमा

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सरकारी निवास बालुवाटारसँगैको नेपाल राष्ट्र बैंक जान लाग्नुभएको छ । उहाँलाई माओवादी निकट कर्मचारी संगठनले आयोजना गर्न लागिएको कार्यक्रममा प्रमुख अतिथि बनाएको बताइएको छ ।

सांगठनिक हिसाबले निकै कमजोर मानिएको राष्ट्रिय कर्मचारी संगठनको कार्यक्रममा प्रधानमन्त्री प्रमुख अतिथि बन्नुको भित्री कुरो अर्कै रहेको स्रोतको दाबी छ । काठमाडौं उपत्यका बाहिरका कार्यालयमा सरुवा भएर जानबाट रोकिन उक्त संगठनमा प्रवेश गरेका काँग्रेस र एमाले निकट कर्मचारीहरुको एउटा समूहबाहेकका मुश्किलले एकाध दर्जन सदस्य रहेको संगठनको कार्यक्रममा प्रधानमन्त्री सहभागी हुन लाग्नुभएको हो ।

गभर्नर महाप्रसाद अधिकारीलगायत बैंकको उच्च व्यवस्थापनलाई मनोवैज्ञानिक दबाब दिन एक जना निर्देशक र केही कर्मचारीको पहलमा प्रधानमन्त्रीलाई बैंकको प्राङ्गणमा उभ्याएर बोल्न लगाउने कार्यक्रम तय भएको एमाले निकट कर्मचारी संघका एक जना पदाधिकारीले बताए । ‘संगठन मजबुत नभएपछि सत्ताका ठूलाबडालाई देखाएर काम फत्ते गर्न प्रधानमन्त्री बोलाउन लागिएको हो । प्रधानमन्त्री पनि हैसियत बिर्सेर राष्ट्रिय अन्तर्राष्ट्रिय विषयलाई लत्याउँदै कमजोर युनियनको कार्यक्रममा प्रमुख अतिथि बन्न लाग्नुभएको छ,’ ती पदाधिकारीले भने ।

बैंकमा तीन वटा कर्मचारी संगठन दर्ता छन् । काँग्रेसको वित्तीय कर्मचारी र एमालेको कर्मचारी संघको तुलनानमा संगठनको सदस्य संख्या अत्यन्तै न्यून छ । २५ प्रतिशत कर्मचारी संख्या पनि माओवादीले प्राविधिक रुपमा पुर्याउँदै आएको वित्तीय र संघको दाबी छ ।

टिप्पणीहरू