जहाँ नेपाली स्वाभिमानको बासना चल्दैछ

जहाँ नेपाली स्वाभिमानको बासना चल्दैछ

– जीवन डाँगी

पाँच महिनाअघि द्वन्द्वग्रस्त ‘बर्मा’ अर्थात् म्यान्मारबाट पहिलोपटक पुख्र्याैली ‘मुलुक’ नेपाल आएका मोतीलाल आचार्य (४९)ले पंक्तिकारसामु बर्मेली कथा–व्यथा सुनाए । दुई सय वर्षअघि ऐरावती नदीको किनारै–किनार म्यान्मार भित्रिएका नेपालीहरू ‘नेपालीभाषी वा गोर्खा’मा बदलिएको उनी बताउँछन् ।

बर्मेली समाजका जल्दाबल्दा नेपाली नेता मोतीलाल ‘बर्मा’को नाम्टुनगरमा बस्दा रहेछन् । सन् १९३० ताका हजुरबुवा पश्चिम नेपालको तनहुँबाट गएका थिए रे ! हजुरबुवासँगै बर्मा छिरे, मोतीलालका बुवा । नेपाल छाडेर बर्मा जाँदा बुवाको उमेर ९ वर्षको थियो । उनी नाम्टुनगरको लैफरा गाउँमा जन्मिए । बाल्यकालमा बजारपट्टी बसाइँ सरे । गाई चराउँदै गाउँ–शहर गरेर हुर्किएको बताउँछन् उनी ।

गत दशैँताका नेपाल  आएका मोतीलाल बुद्धभूमि लुम्बिनीदेखि सुन्दरनगरी पोखरासम्म घुमे । बुवा जन्मिएको गाउँ–ठाउँमै दशैँपर्व मनाउन पाउँदा सबैभन्दा भाग्यमानी भएको बताउँछन् । बिछोडिएको परिवार–पुर्खासँग वर्षाैँपछि भेट्न पाएकोमा हर्षित देखिन्थे । नेपाल आएको मौका छोपेर सकेजति, भ्याएजति सबैसँग भेटघाट गरे  ।

‘बर्मेली कथा’ सुनाउँदा–सुनाउँदै बहकिएका उनी म्यान्मारको सामाजिक, आर्थिक र धार्मिक विषयमा हौसिएर बोल्थे । तर राजनीतिक विषयमा चुपचाप हुन्थे । राजनीतिबारे बोलुन् पनि कसरी ? म्यान्मारमा बोल्ने–लेख्ने अवस्था छैन । देश द्वन्द्वको भुमरीमा धकेलिएको छ । जनता मौन छन् । त्यहाँ नेपालीहरूले राजनीतिको ‘र’ पनि सुन्दैनन्, बोल्दैनन् । बस्, म्यान्मारका नेपाली गाउँमा सन्नाटा छाएको छ ।

उनीजस्ता झण्डै साढे २ लाख नेपालीभाषीले यतिखेर म्यान्मारमा एउटा बेग्लै नेपाली समाज जगाइरहेका छन् । 

नेपाली दशकौँसम्म गोर्खा सैनिकसहित सुनखानी, सिसाखानी, फलामखानी, कोइलाखानी, रत्नखानी र पशुपालनमै रमे । उनीहरू नाउंछो, मिचिना, टाउँजी, च्याउमे, तिब, लास्यो, कुट्खाई, टांया, नाम्टू, नाम्सान्, ल्वेलिम, ल्वाइक, यकसक, सिन्टांउ, स्वेञ्याउ, माइंस्यु, प्यिंउल्वीं, माण्डले, वाइम, मोञीं, कता, कले, मलाई, फलाम्, हाखा, मोगोक, टमू, यांगौजस्ता गाउँ–ठाउँमा बस्दै आएका छन् ।

‘भाषा मेटिए, जाति मेटिन्छ’

म्यान्मारमा जातीय द्वन्द्व उकालोलाग्दो छ । त्यहाँका जाति–जनजाति सशस्त्र विद्रोहमा होमिएका छन् । जंगलतिरै बस्छन्, कतिपय प्रान्तमा उनीहरूकै राज छ । जातीय अधिकारको लागि राज्यसत्तासँग भिड्दै आएको विद्रोही समूहको छेउतिर अर्को एउटा शान्त जाति छ– गोर्खा अर्थात् नेपाली । ‘भाषा मेटिए, जाति मेटिन्छ’ भन्ने उनीहरूको ठूलो चिन्ता छ ।

म्यान्मारका कैयौँ जाति–जनजातिबीच नेपाली समाज र सभ्यता कसरी टिकिरहेको छ ? चासो पक्कै हुनुपर्छ । सन् १९९२ मा ‘नेपाली भाषा बचाऊ अभियान’मार्फत बर्मेली–नेपाली साहित्यकार ठाकुरप्रसाद गुरागाईंले सबैभन्दा ठूलो भूमिका खेलेका रहेछन् । उनका नेपाली औँलाहरूले हस्तलिपी पुस्तकबाट बर्माका सारा नेपालीलाई नेपाली अक्षर चिनाए । त्यो बेला न इन्टरनेट थियो, न मोबाइल फोन । म्यान्मार नेपाली भाषा सिक्ने र कखरा सिक्ने एउटै उपाय थियो, हातेपुस्तक ।

अहिले म्यान्मारमा २४८ वटा नेपाली पाठशाला छन् । घरघरमा नेपाली पाठ्यपुस्तक छन् । कक्षा एकदेखि दशसम्म बर्मेली–नेपालीले आफ्नै पुस्तक छापेका छन् । म्यान्मारको सरकारी स्कुल ‘मार्च, अप्रिल, मे’मा बन्द हुन्छ । यो समयलाई ‘वसन्त बिदाइ’ भनिन्छ । सरकारी स्कुल बिदा भएको मौका छोपेर पाठशाला खुल्छन् । अनि नेपाली भाषा पढाइन्छ ।

नेपाली शिक्षक–शिक्षिकाले बालबालिकामाझ तीन महिनासम्म जातीय चेतना फैलाउँछन् । ‘नेपाली भाषा–संस्कृति हरायो भने हामी हराउँछौँ । कपी, पेन्सिलदेखि शिक्षक–शिक्षिकासम्म केन्द्रीय शिक्षा विभागले जोहो गरिदिन्छ । र, हाम्रा केटाकेटीले नेपाली भाषा पढ्न पाउँछन्,’ मोतीलालले भने ।

त्यसअघि बर्माभूमि जोगाउन र चिनाउन सुकबहादुर राई, बीपी प्रधान, छविलाल थापा, सुरलक्ष्मण राई, सुकबहादुर थापा, रकी थापा, कुलबहादुर थापाले गरेको योगदानले नेपाली समाजमा बेग्लै ऊर्जा भरेको छ ।

‘बर्मा गए कर्मसँगै’ भनेझैँ नेपाली पनि सपनाको भारी लगेर बर्मादेश पुगेका थिए रे ! बर्मेली नेपालीले आजसम्म स्वतन्त्रता खोसिएको जीवन जिइरहेका छन् । उनीहरूको वास्तविक कर्म बर्मामै रहेछ । शुरु–शुरुमा शिशाखानी र गोर्खा सैनिकको रुपमा म्यान्मार भित्रिएको मोतीलाल बताउँछन् । उनका अनुसार कति नेपाली राम्रो पैसा कमाएर नेपालसमेत फर्किए । कतिपय उतै बसे । म्यान्मारमा बस्नेहरू बर्मेली–नेपाली भएका छन् ।

म्यान्मारमा जन्मिएका नेपालीभाषी नेपाल र नेपाली साहित्य भन्यो कि हुरुक्कै हुन्छन् । नेपाल घुम्ने रुचि प्रकट गर्छन् । ‘हामी म्यान्माली नेपालको दर्शन गर्न आतुर हुन्छौँ । तर इच्छा हुँदाहुँदै खर्चले धान्दैन,’ कान्छा छोरा राजकुमार आचार्यसँग नेपाल घुम्न आएका मोतीलालले भने ।

गाई–भैंसी पाल्छन्, दूध–दही बेच्छन्

म्यान्मार गएका नेपाली कस्तो ठाउँमा बस्छन् ? एउटा नेपालीको अर्को नेपालीलाई प्रश्न हुने नै भयो । मोतीलाल फ्याट्ट जवाफ दिन्छन्, ‘ऊबेला पहाडबाट जानेहरू बर्माको पहाडी भेगमै बसेछन् । बर्मा पुगेपछि रोजीखोजी उत्पादन गर्ने भूगोल र गाईवस्तु पाल्ने गाउँ–ठाउँ रोज्थे रे ! हेर्नोस्, नेपालीहरू बसाइँ सरेरै म्यान्मार जाने चलन थियो रे !’ नेपालबाट जोतिँदै–ठोकिँदै भारतको मणिपुर हुँदै म्यान्मार गएका नेपाली पशुपालन र अन्य खुद्राखाद्री पेशामा रमाउन थाले । नेपालको हरियो पहाड छाडेर म्यान्मार गएकाहरू त्यहाँ पनि हरियो पहाडमै बसे । पत्थरखानीमा खटे । पशुपालनमा रमे । पहाड नेपालजस्तै शीतल छ । उर्वर छ । उत्पादन राम्रो हुन्छ । म्यान्मार कृषि पेशाका लागि उपयुक्त मानिन्छ । बर्मेली नेपालीहरू अन्न फलाएर धन कमाउँछन् । मकै र धान फलाउनेहरू धनी छन् ।

म्यान्मारका नेपाली हीरा बेच्छन्, सुनको व्यापार गर्छन् । होटल खोलेका छन्, सानातिना पसल चलाउँछन् । गाडी किनेका छन्, पर्यटक बोक्छन् । गाई–भैँसी पाल्छन् । दूध–दही बेच्छन्, घिउ बनाउँछन् । राम्रो आम्दानी गरेका छन् । बर्मेली–नेपालीहरू काम खोज्दै थाइल्याण्ड जान्छन् । कतिपय मलेसियासम्म पुगेका छन् । 

११ तलाको धर्मशाला बनाउँदै बर्मेली–नेपाली

दुनियाँभर महँगी छ । गाउँबाट शहर जानेहरू महँगीको मारमा पर्छन् । तर, म्यान्मारका नेपालीले बेग्लै सुविधा बनाएका छन् । शहरमा धेरै दिन बस्नुपर्दा भारी खर्च हुन्छ । होटल जाँदा झमेला भोग्नुपर्छ । त्यसैले रंगुन, माण्डले, मिचिना, टमू र नाउंछोमा धर्मशाला बनाएका छन् ।

धर्मशालामा नेपालीभाषी मात्र छिर्न पाउँछन् । सन् १९८२ तिर नेपालीहरू मिलेर माण्डलेमा तीनतले धर्मशाला बनाए । मिचिनामा पनि तीनतले, टमुमा दुईतले र नाउंछोमा दुईतले । सन् २००० पछि म्यान्मारका समाजसेवी नन्दराम न्यौपानेले आफ्नो व्यक्तिगत लगानीमा आर्थिक राजधानी रंगुनमा नौतले एउटा धर्मशाला बनाइदिए । मोतीलालका अनुसार माण्डले र रंगुन सबैभन्दा धेरै नेपाली भेटिने शहर हो । अहिले नेपालीको संख्या ह्वात्तै बढेको छ । माण्डलेको तीनतले धर्मशालाले सेवा दिन नसकेपछि नेपालीले चन्दा संकलन गरेरै एघार तलाको धर्मशाला बनाउँदै छन् ।

माण्डलेको नेपाली धर्मशालाभित्र १ सय ५० वटा कोठा हुनेछन् । एक वर्षभित्र त्यो धर्मशाला बनिसक्ने मोतीलाल बताउँछन् । ‘हालसम्म ८ तलाको काम पूरा भएको छ । धर्मशाला बनेपछि नेपालीलाई थप सुविधा हुन्छ,’ उनी भन्छन् ।

जहाँ नेपाली, त्यहाँ नेपाल

उनीहरू बर्माको अग्लो हिमाल खाकाबोराजीको फेददेखि समुद्री तट नागपालीसम्म फैलिएका छन् । ‘अंग्रेजी–जापानी’ शासकबाट पेलिँदै–ठेलिँदै हुर्किरहेको म्यान्मार नेपालभन्दा पाँच गुणा ठूलो छ । पूर्वी नेपालदेखि अलिक परको देशमा त्यतिखेर हिँडेरै कसरी पुगे नेपाली ? जहाँ नेपाली छन्, त्यहाँ अनेकौँ देवीदेवताका मन्दिर छन् । म्यान्मारमा ३ सय ३० वटा शहर छन् । तर, नेपालीहरू ३३ वटा शहरमा बस्छन् ।

टिप्पणीहरू