एक दर्जन प्रहरी महिनौंदेखि सम्पर्कविहीन

एक दर्जन प्रहरी महिनौंदेखि सम्पर्कविहीन

नेपाल प्रहरीले लामो समयदेखि बेपत्ता प्रहरीहरुको खोजी गर्न थालेको छ । गत फागुनयता सम्पर्कविहीन प्रहरीहरुलाई सक्रियताका साथ खोज्न थालिएको बताइएको छ । 

प्रहरी प्रधान कार्यालयले आफूखुसी गैरहाजिर भएका ११ प्रहरीलाई सात दिनभित्र सन्तोषजनक स्पष्टीकरणसहित कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ । आज जारी सूचनामा ईलाका प्रहरी कार्यालय, दोभानमा कार्यरत प्रहरी नायव निरीक्षक रुद्रमणि निरौला, जिल्ला प्रहरी परिसर, काठमाडौंमा कार्यरत प्रहरी सहायक निरीक्षक किरण तिवारी, पर्यटक प्रहरी वीरगञ्जमा कार्यरत मणिभुषणप्रसाद यादव रहेका हुन् । 

त्यस्तै, ईलाका प्रहरी कार्यालय, चिसापानीका प्रहरी हवल्दार नन्दनसिंह बोहरा, भौतिक पूर्वाधार महाशाखा, प्राविधिक गुल्म नक्सालका प्राविधिक प्रहरी जवान गणेशकुमार साह, प्रहरी वृत्त, मालीगाउँका प्रहरी जवान विष्णा भण्डारी पनि लामो समयदेखि सम्पर्कविहीन छन् । 

प्रहरी चौकी, शनिश्चरेका प्रहरी जवान अनिल तामाङ्ग, लुम्बिनी प्रहरी प्रभाग, गण, बाँकेका प्रहरी जवान माधवराज अर्याल, ईलाका प्रहरी कार्यालय, तुल्सीपुरका प्रहरी जवान रविन कालुङ, विशेष सुरक्षा गार्ड, कञ्चनपुरका प्रहरी जवान नरेन्द्रकुमार भण्डारी र जिल्ला प्रहरी परिसर, काठमाडौंकी कार्यालय सहयोगी मालती तामाङ्गसँग पनि स्पष्टीकरण मागिएको छ । 

प्रहरी नियमावली, २०७१ को नियम ११५ को दफा (२) बमोजिम यसअघि सूचना टाँस गर्दासमेत सम्पर्कमा नआएपछि पुनः सूचना जारी गर्नुपरेको कार्यालयले जनाएको छ ।  

भनिएको छ, ‘सन्तोषजनक स्पष्टीकरणसहित यस कार्यालय वा सूचना जारी गर्ने कार्यालयमा हाजिर हुन आउनुहोला, अन्यथा तपाईंहरुउपर प्रहरी नियमावली, २०७१ को नियम ११३ को उपनियम (१) को खण्ड (च) को कसूरमा ऐ. नियमावलीको नियम १०९ को देहाय (ख)(१) बमोजिम सेवाबाट हटाउने कारबाही भइजाने हुँदा प्रहरी नियमावली, २०७१ को अनुसूची–१४ को भाग–४ को प्रयोजनार्थ यसै सामूहिक सूचनाद्धारा तपाईंहरुलाई सफाइको मौका प्रदान गरिएको व्यहोरा जानकारी गराइएको छ ।’

टिप्पणीहरू