रेशम चौधरीलाई आममाफी दिने क्याबिनेटको सिफारिस
सरकारले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई आममाफी दिन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।
आज बिहान बसेको मन्त्रिपरिषद बैठकले चौधरीलाई बाँकी १५ वर्षको कैद माफी गर्न सिफारिस गर्ने निर्णय गरेको बताइएको छ । बैठकले चौधरीसँगै अन्य केही कैदीलार्ई पनि बाँकी सजाय माफी गर्ने निर्णय गरेको छ ।
सरकारको सिफारिसबमोजिम राष्ट्रपतिले भोलि गणतन्त्र दिवसको दिन चौधरीको बाँकी कैद मिनाहा र आममाफी दिने तयारीबमोजिम आज क्याबिनेटले उक्त निर्णय गरेको हो ।
यसअघि जिल्ला र उच्च अदालतले गरेको फैसला जेठ २ गते सर्वोच्चले पनि सदर गरिसकेको थियो ।
यता सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले राष्ट्रपति कार्यालयले सोधेका केही विषयहरु सम्बोधन गरेर बाँकी सजायँ मिनाहा गर्न सिफारिस गर्ने निर्णय गरेको जानकारी दिनुभएको छ । चौधरीलाई माफी मिनाहाको सिफारिस गर्दा कुनै कानुनी उल्लंघन नभएको उहाँको भनाइ छ ।
यसअघि जेठ १२ गते राष्ट्रपति रामचन्द्र पौडेालले चौधरीलाई आममाफीका लागि पेश गरिएको फाइल गृह मन्त्रालयमा पठाउनुभएको थियो । सर्वस्वसहित जन्मकैदको फैसला सुनाइएका उनलाई आममाफी दिन सरकारले गरेको सिफारिससहितको फाइल गृहमा पठाउनुभएको हो ।
२०७२ भदौ ७ गते टीकापुरमा घटनामा प्रहरी वरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपाने र एक शिशुसहित आठ जनाको हत्या भएको थियो । उक्त घटनामा मुख्य दोषी ठहरिएपछि जन्मकैदको सजाय भुक्तानी गरिरहेका चौधरी अहिले केन्द्रीय कारागारमा छन् ।
टिप्पणीहरू