दर्ता नगरी चलेको नर्सिङ्ग होम बन्द गर्ने निर्देशन

दर्ता नगरी चलेको नर्सिङ्ग होम बन्द गर्ने निर्देशन

बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले मापदण्ड विपरीत सञ्चालन भएको अस्पताललाई स्वास्थ्य सेवा बन्द गर्न निर्देशन दिएको छ । 

उपमहानगरपालिकाले जीतपुरसिमरा–०७ मा सञ्चालित राव नर्सिङ्ग होम प्रालिलाई आफ्नो सेवा बन्द गर्न भनेको हो । अन्यथा, प्रचलित कानूनबमोजिम कारबाही गरिने उपमहानगरपालिकाको चेतावनी छ । 

प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीका अनुसार अस्पतालले उपमहानगरको स्वास्थ्य संस्था दर्ता, अनुमति तथा नवीकरणसम्बन्धी नियमावली, २०७९ अनुसारको मापदण्ड पूरा नगरेकाले यस्तो निर्णय गर्नुपरेको हो । 

उनले पत्र काटेर भनेका छन्, ‘तहाँ अस्पतालले सेवा सञ्चालनको अनुमति तथा नवीकरणका लागि दिएको निवेदनउपर कारबाही गर्दा यस उपमहानगरपालिकाले ज्येष्ठ १६ गते गरेको अनुगमनमा जीतपुरसिमरा उपमहानगरपालिकाको स्वास्थ्य संस्था दर्ता, अनुमति तथा नवीकरणसम्बन्धी, २०७९ अनुसारको मापदण्ड पूरा नभएकोले आजबाट सो अस्पतालबाट प्रदान गरिने सम्पूर्ण स्वास्थ्य सेवा बन्द गर्न अनुरोध छ । स्वास्थ्य सेवा बन्द नगरेको खण्डमा प्रचलित कानूनबमोजिम कारबाही हुने समेत जानकारी गराइन्छ ।’
 

टिप्पणीहरू