कावासोती नगरपालिकाको ढोकामा नेविसंघको ताला

कावासोती नगरपालिकाको ढोकामा नेविसंघको ताला

नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिकामा तालाबन्दी गरिएको छ । नेपाली कांग्रेसको भातृ संगठन नेविसंघले आज नगरपालिका कार्यालयमा ताला लगाएको हो । 

जिल्ला सभापति कुमार क्षेत्री र प्रवक्ता पवन भुर्तेलले संयुक्त विज्ञप्ति जारी गर्दै आफ्ना मागहरु पूरा नभएपछि तालाबन्दी गर्नुपरेको बताएका छन् । नेविसंघ माध्यमिक तहसम्म निःशुल्क शिक्षाको अभियानमा रहेको उल्लेख गर्दै विज्ञप्तिमा नगरप्रमुख विष्णुप्रसाद भुसाल र शिक्षा शाखा विद्यार्थीको शैक्षिक अधिकारप्रति लापरवाह भएपछि यो निर्णयमा पुगेको बताइएको छ । 

विद्यार्थीहरुको हकहितका लागि निरन्तर आन्दोलन गर्दापनि नगरपालिकाले सुनुवाई नगरेको गुनासो उनीहरुको छ । कार्यसमितिले गत जेठ ८ गते आफ्ना मागसहितको ज्ञापनपत्र नगरपालिकामा बुझाएको थियो । 

तर, नगरपालिकाले माग सम्बोधनमा चासो नदेखाएपछि विरोधका कार्यक्रम सार्वजनिक गरिएको थियो । कार्यसमितिले त्यसपछि सिठीजुलुस, धर्ना, अनशनलगायतका विरोध कार्यक्रम गरेको थियो । 

विद्यार्थीहरु आमरण अनशन बस्दासमेत नगरप्रमुख भुसालले माग सम्बोधनमा कुनै चासो नदेखाएपछि बाध्य भएर तालाबन्दी गर्नुपरेको कार्यसमितिको भनाइ छ । त्यस्तै, कार्यसमितिले आफ्नो माग पूरा नगरी ताला खोलेको पाइएमा थप सशक्त कदम उठाउने चेतावनी दिएको छ । 

‘हाम्रो माग पूरा नभएसम्म ताला नखुल्ने जानकारी गराउछौं । हाम्रो मागहरुलाई बेवास्ता गरी ताला खोलेको पाएमा नगरपालिकाविरुद्ध जस्तोसुकै कदम पनि उठाउन सक्ने तथा उक्त कदमबाट उत्पन्न हुनसक्ने जस्तोसुकै परिस्थितिको सम्पूर्ण जिम्मेवार स्वयम् नगरपालिका हुने कुरा पनि अवगत गराउन चाहन्छौं’, विज्ञप्तिमा उल्लेख छ ।

टिप्पणीहरू