एमालेका केन्द्रीय नेताहरुको जिम्मेवारी हेरफेर

एमालेका केन्द्रीय नेताहरुको जिम्मेवारी हेरफेर

नेकपा एमालेले केन्द्रीय नेताहरुको जिम्मेवारी हेरेफेर गरेको छ । आज बसेको सो पार्टीको सचिवालय बैठकले कार्यविभाजन हेरफेर गर्दै सचिवहरुलाई प्रदेश इन्चार्जको जिम्मेवारी तोकेको हो । 

बैठकले पार्टीका छ जना सचिवलाई प्रदेशको इञ्चार्ज बनाएको छ । जसअनुसार कोशी प्रदेशमा रघुबीर महासेठ, मधेशमा योगेश भट्टराई, गण्डकीमा गोकर्ण विष्ट, लुम्बिनीमा पद्मा अर्याल, कर्णालीमा लेखराज भट्ट र सुदूरपश्चिममा छविलाल विश्वकर्मालाई इञ्चार्ज तोकेको छ ।  

प्रदेश इञ्चार्ज तोक्दा सोही भूगोलभन्दा बाहिरका नेताहरुलाई पठाइएको हो ।

त्यस्तै, आजको बैठकले उपाध्यक्षहरुलाई विभागको संयोजन गर्ने जिम्मा दिएको छ भने विभागीय प्रमुख पनि हेरफेर भएका छन् । एमालेले वरिष्ठ उपाध्यक्षसहित ७ जना उपाध्यक्षलाई पार्टीको ३२ वटा विभागको संयोजनको जिम्मा लगाएको हो । 

त्यस्तै, संगठन विभाग प्रमुखको जिम्मा काशिनाथ अधिकारीलाई दिइएको छ । यसअघि खगराज अधिकारी उक्त विभागको प्रमुख थिए । प्रचार तथा प्रकाशन विभागबाट पृथ्वीसुब्बा गुरुङलाई हटाएर राजेन्द्र गौतमलाई ल्याइएको छ । गुरुङ संसदीय मामिला विभागको प्रमुख भएका छन् ।

स्थायी कमिटी र पोलिटब्यूरो सदस्यलाई जिल्ला इन्चार्जको जिम्मेवारी दिइएको छ भने केन्द्रीय सदस्यले पालिका हेर्ने जिम्मा पाएका छन् ।

टिप्पणीहरू