बजेट तर्जुमामा दिइएको दबाबबारे आयोगको ध्यानाकर्षण
बजेट निर्माणको क्रममा कर्णाली प्रदेशको आर्थिक मामिला तथा योजनामन्त्री वेदराज सिंहलाई दबाब दिइएको आरोप लागेपछि कर्णाली प्रदेश योजना आयोगले ध्यानाकर्षण भएको बताएको छ ।
विभिन्न सञ्चारमाध्यमबाट बजेट निर्माणको क्रममा योजनामन्त्री सिंहलाई आयोगका जिम्मेवार पदाधिकारी तथा कर्मचारीले दबाब तथा प्रभावमा पार्न खोजेको भन्दै समाचार प्रकाशित भएपछि आयोगले आपत्ति जनाएको हो ।
मन्त्री सिंहले गत असार ३ गते पत्रकार सम्मेलन गरेर प्रदेश योजना आयोगका पदाधिकारीले बजेटमा दबाब र बार्गेनिङ्ग गरेको बताएपछि आयोग उपाध्यक्ष योगेन्द्रबहादुर शाहीले आज विज्ञप्ति जारी गर्दै स्पष्टीकरण दिएका हुन् ।
उनले आयोगका जिम्मेवार पदाधिकारी र कर्मचारीहरुको त्यसमा कुनै संलग्नता नभएको दाबी गरेका छन् । उनले भने, ‘मुख्य भूमिकामा नरहेका केही कर्मचारीले मन्त्री सिंहलाई दबाब दिएका हुन् ।’
ती कर्मचारीले दिएका अभिव्यक्ति र संवादहरु आयोगको आधिकारिक नभएको उल्लेख गर्दै विज्ञप्तिमा भनिएको छ, ‘आर्थिक मामिला तथा योजना मन्त्रालयका माननीय मन्त्रीज्यूको अभिव्यक्ति र प्रकाशित समाचारको लागि जिम्मेवार रहेको कर्मचारीलाई कानुनबमोजिम कारबाही गरिसकिएको व्यहोरा जानकारीका लागि अनुरोध छ ।’
आगामी दिनमा कुनै व्यक्तिले गरेको गल्तीलाई आयोगसँग जोडेर अभिव्यक्ति नदिन र समाचार प्रकाशन गर्नुअघि आयोगको आधिकारिक धारणा बुझ्न सम्बन्धित सबैमा अनुरोधसमेत गरिएको छ ।
आयोगले आफूसँग सम्बद्ध कुनै व्यक्तिले प्रचलित कानुन उल्लंघन गरेमा वा आचरण विपरीतका कार्य गरेमा शून्य सहनशीलताको नीति अपनाउने जनाएको छ ।
टिप्पणीहरू