मंगोलिया पुग्यो भारतीय सैन्य टोली

मंगोलिया पुग्यो भारतीय सैन्य टोली

भारतीय सेनाको एउटा टोली मंगोलिया पुगेको छ । त्यहाँ जारी संयुक्त बहुराष्ट्रिय शान्ति सेना एक्स खान क्वेस्ट २०२३ मा भाग लिन गढवाल राइफल्सको टोली त्यहाँ पुगेको बताइएको छ ।

संयुक्त अभ्यासमा २० भन्दा बढी मुलुकका सैनिक टोली र पर्यवेक्षकहरूले भाग लिइरहेका छन् । मङ्गोलियन सशस्त्र बलको आयोजना र अमेरिकी सेनाको प्यासिफिक कमाण्डद्वारा सह–प्रायोजित १४ दिने अभ्यास सोमबारदेखि भइरहेको छ । 

अभ्यासको मङ्गोलियाका राष्ट्रपति उख्नागिन खुरेलसुखले उद्घाटन गरेका हुन् । भारतीय रक्षा मन्त्रालयका अनुसार अभ्यासमा सहभागी राष्ट्रका सेनाबीच अन्तरसञ्चालन क्षमता अभिवृद्धि, अनुभव आदानप्रदान र संयुक्त राष्ट्रसंघीय शान्ति सेनाका लागि वर्दीधारी कर्मचारीहरूलाई तालिम दिईंदैछ । 

सैन्य टोलीले कमाण्ड पोष्ट अभ्यास, क्षेत्र प्रशिक्षण अभ्यास, युद्ध छलफल, भाषण र प्रदर्शन गरिरहेका छन् । उक्त सैन्य अभ्यासले भारतीय सेना र सहभागी देशका साथै विशेषगरी मङ्गोलियन सशस्त्र बलहरूसँगको रक्षा सहयोगको स्तर बढाउने विश्वास भारतले लिएको छ । 

एकातिर रुस र अर्कोतिर चीन रहेको मंगोलियामा भएको पछिल्लो सैनिक अभ्यासलाई अन्तर्राष्ट्रिय सुरक्षा विश्लेषकहरुले विशेष चासोका साथ हेरेको बताइन्छ ।

टिप्पणीहरू