बालुवाटार बैठकमा कोशीको कुरो

बालुवाटार बैठकमा कोशीको कुरो

सत्तारुढ गठबन्धन दलको बैठक शुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अहिले बैठक बसिरहेको छ । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको बैठकमा समसामयिक राजनीतिका बारेमा छलफल हुने जनाइएको छ । त्यस्तै, कोशी प्रदेश सरकार गठन र केन्द्रमा क्याबिनेट पुनर्गठनका विषयमा समेत बैठकमा छलफल हुने बताइएको छ । एमाले–राप्रपा गठबन्धन सरकार ढलेपछि कोशीमा नयाँ सरकार गठनको रस्साकस्सी चलिरहेको छ । 

प्रदेश प्रमुख परशुराम खापुङले हिजो साँझ संविधानको धारा १६८ को उपधारा २ वा ३ बमोजिम मुख्यमन्त्री नियुक्ति र सरकार गठनका लागि दलहरुलाई दाबी पेश गर्न आह्वान गरेपछि दलहरुको दौडादौड बढेको हो । 

९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि कम्तीमा ४७ प्रदेशसभा सदस्यको आवश्यकता पर्छ । तर, एमाले–राप्रपा गठबन्धनसँग ४६ सांसद छन् भने काँग्रेस–माओवादी गठबन्धनसँग पनि सोही संख्यामा सांसद छन् । यसबाट सरकार गठन प्रक्रिया पेचिलो बनेपछि केन्द्रमा शीर्ष नेताहरु छलफलमा बसेका हुन् । 

बैठकमा प्रधानमन्त्री प्रचण्ड, काँग्रेस सभापति शेरबहादुर देउवा, उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, जसपा अध्यक्ष उपेन्द्र यादव, लोसपा अध्यक्ष महन्थ ठाकुर, एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेलगायत सहभागी छन् ।

टिप्पणीहरू