असार सकिनै लाग्दा जम्मा २६ प्रतिशत रोपाइँ

असार सकिनै लाग्दा जम्मा २६ प्रतिशत रोपाइँ

अहिले मुलुकभरका किसान धान रोपाइँमा सबैभन्दा व्यस्त हुने समय हो । तर, समयमा पानी नपरेकाले यो वर्ष धान रोपाइँमा ढिलाई भएको छ । 

गत वर्षको तुलनामा असार अन्तिम सातासम्म आइपुग्दा रोपाइँ आधाभन्दा कम भएको छ । कृषि विभागअन्तर्गतको बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका अनुसार हालसम्म मुलुकभर २६.८ प्रतिशत मात्रै रोपाइँ भएको छ ।

यो वर्ष सरकारले १४ लाख ९५ हजार ८८६ हेक्टर क्षेत्रफलमा रोपाइँ हुने अनुमान गरेको छ । गत वर्ष १५ लाख ४ हजार ४८६ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको थियो । 

केन्द्रका अनुसार हालसम्म सबैभन्दा बढी रोपाइँ कोशी प्रदेशमा भएको छ । कोशीमा यो वर्ष ३ लाख ४० हजार ८२९ हेक्टर क्षेत्रफलमा रोपाइँ हुने सरकारी अनुमान छ ।

अस्तिसम्म कोशीमा एक लाख २४ हजार ९७६ (३६.६७ प्रतिशत) हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको छ । गत वर्ष यो अवधिमा एक लाख ८ हजार ९४४ (३१.९६ प्रतिशत) हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको थियो । 

त्यस्तै, मधेश प्रदेशमा हालसम्म सबैभन्दा कम रोपाइँ भएको केन्द्रले जनाएको छ । यो वर्ष यहाँ ४ लाख १ हजार ६५० हेक्टर क्षेत्रफलमा रोपाइँ हुने अनुमान छ । 

असार १७ गतेसम्मको विवरण हेर्दा मधेशमा ३८ हजार २७५ (९.५३ प्रतिशत) हेक्टर क्षेत्रफलमा मात्रै रोपाइँ सम्पन्न भएको छ । जबकी गत वर्षको यस अवधिसम्म यहाँ ५६ हजार ६८० (३० प्रतिशत) हेक्टर क्षेत्रफलमा रोपाइँ भइसकेको थियो । 

यता, बागमती प्रदेशमा यस वर्ष एक लाख २३ हजार ३६४ हेक्टर क्षेत्रफलमा रोपाइँ हुने अनुमान छ । असार १५ गतेसम्म यहाँ ३७ हजार ९६९ (३०.७८ प्रतिशत) हेक्टर क्षेत्रफलमा रोपाइँ भएको केन्द्रले जानकारी दिएको छ । 

गत वर्षको यस अवधिसम्म बागमतीमा ५१ हजार ३०३ (४३ प्रतिशत) हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको थियो । 

गण्डकी प्रदेशमा यो वर्ष ९७ हजार ८५१ हेक्टर क्षेत्रफलमा रोपाइँ हुने अनुमान गरिएको छ । केन्द्रका अनुसार असार १५ गतेसम्म यहाँ १७ हजार १७४ (१७.५५ प्रतिशत) हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको छ । 

गत वर्षको सोही अवधिमा यहाँ ६२ हजार ५१२ (६२.३२ प्रतिशत) हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको थियो । त्यतिबेला गण्डकीमा एक लाख ३१० हेक्टर क्षेत्रफलमा रोपाइँ भएको केन्द्रले बताएको छ । 

लुम्बिनी प्रदेशमा यस वर्ष ३ लाख ११ हजार ०४२ हेक्टर क्षेत्रफलमा रोपाइँ हुने सरकारी अनुमान छ । गत वर्ष यहाँ ३ लाख २० हजार २७५ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको थियो । 

असार १७ गतेसम्मको विवरण हेर्दा लुम्बिनीमा ७५ हजार ९८३ (२४.४३ प्रतिशत) हेक्टर क्षेत्रफलमा मात्रै रोपाइँ सम्पन्न भएको छ । गत वर्षको यो अवधिसम्म यहाँ एक लाख ७१ हजार ४७५ (५३ प्रतिशत) हेक्टर क्षेत्रफलमा रोपाइँ भएको बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रले जनाएको छ ।

यस्तै, कर्णाली प्रदेशमा यो वर्ष ४५ हजार ३८७ हेक्टर क्षेत्रफलमा रोपाइँ हुने बताइएको छ । असार १७ गतेसम्मको विवरणअनुसार यहाँ २० हजार ४३४ (४५.०२ प्रतिशत) हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको छ । 
गत वर्ष कर्णालीमा ३८ हजार ८८६ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको थियो । साथै, असार १७ गतेसम्म २१ हजार ८९४ (५६.३१ प्रतिशत) हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको थियो । 

यसैगरी, सुदूरपश्चिम प्रदेशमा यो वर्ष एक लाख ७५ हजार ७६३ हेक्टर क्षेत्रमा रोपाइँ हुने अनुमान छ । गत वर्ष यहाँ एक लाख ७८ हजार १६७ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको थियो । 

असार १७ गतेसम्म सुदूरपश्चिममा ८६ हजार ७२ (४८.९७ प्रतिशत) हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको छ । गत वर्षको यो अवधिसम्म यहाँ एक लाख २९ हजार ५२९ (७२.७० प्रतिशत) हेक्टर क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रले जनाएको छ ।  
कृषि विभागकी प्रवक्ता जानुका पण्डित मनसुनमा ढिलाइ भएका कारण धान रोपाइँमा केही ढिलो भएको बताउँछन् । उनका अनुसार रोपाइँका लागि पर्याप्त समय भएको हुँदा आत्तिनुपर्ने कुनै कुरा छैन । ‘यो वर्ष मनसुन ढिलै प्रवेश गर्यो । अहिलेपनि सबै प्रदेशमा मनसुन छिरिसकेको छैन । तर, धान रोपाइँका लागि पर्याप्त समय छ । मनसुनी अवस्था पनि राम्रो भएकाले आत्तिनु पर्दैन,’ उनले भनिन् । 

‘पहाडी जिल्लामा पर्याप्त पानी परेकाले रोपाइँ नियमित भइरहेको छ । अन्य जिल्लामा पनि भइरहेको छ । हाल मधेश, लुम्बिनी र गण्डकी प्रदेशका किसानहरु रोपाइँको तयारीमा भएका कारण त्यहाँको विवरण केही दिनमै आउने छ,’ उनले थपिन् ।

टिप्पणीहरू