बालेनको निर्णयलाई लिएर रास्वपाका सांसद र व्यवसायीबीच लफडा

बालेनको निर्णयलाई लिएर रास्वपाका सांसद र व्यवसायीबीच लफडा

काठमाडौंका व्यावसायिक भवनमा पार्किङ शुल्क उठाउन नपाइने नयाँ नियमलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी र सिनेमा हलका मालिकबीच लफडाबाजी भएको छ । 

काठमाडौं महानगरपालिकाले व्यावसायिक भवनमा पार्किङ निःशुल्क गराउने निर्णयमा समर्थन जनाएका स्वतन्त्रका सांसद असिम शाह र हलवाला भाष्कर ढुंगानाबीच सामाजिक सञ्जालमा आरोप–प्रत्यारोप चलेको हो । सांसद शाहले पार्किङमा मच्चाइएको लुट महानगरको पछिल्लो कदमले रोकिएको टिप्पणी गरेपछि आगो भएका ढुंगाना उनीमाथि खनिए ।   

‘हामीले करोडौं खर्च गरेर बनाएको फिल्म हेर्न हाम्रा दर्शकले जति खर्च टिकटमा गर्नुपर्थ्यो, त्यो भन्दाबढि पार्किङको नाममा तिर्नुपर्थ्यो । ग्राहकले कुनै सामान खरिद गरेर बाहिर निस्कँदा कतिपय अवस्थामा झण्डै त्यही सामान बराबर मूल्यको पार्किङ शुल्क तिर्नुपर्ने बाध्यता थियो, सिधाभन्दा एक प्रकारको लुट थियो,’ शाहले सामाजिक सञ्जालमा लेखेका छन, ‘काठमाडौं महानगरको पछिल्लो कदमले त्यो अन्त्य भएको छ, जुन स्वागत योग्य छ । भएको कानुनलाई इमानदार रुपमा कार्यान्वयन गरे मात्र पनि नागरिकले कति राहत पाउछन् भन्ने यो पछिल्लो उदाहरण हो ।’ 

शाहलाई जवाफ दिँदै ढुंगानाले कडा प्रतिवाद गरेका छन् । ‘निजि पैसाले भवन बनाउदा चाहिं मलमा सपिङ गर्ने उच्च वर्गलाई  पार्किंग फ्री गर्न पर्ने रे, जनताको पैसाले बनाएको सडकको र त्यहाँको पसलहरुलाई चाहिं सरकारले पार्किंग तोक्ने रे,’ उनले लेखेका छन, ‘त्यो मात्रै भएन एउटा  रास्वपा  सांसदले समग्र समस्यालाई नहेरी आफ्नो ब्यापारलाई फाइदा हुने हुनाले (भ्रम) यस्तो संसारमा कहिँ नभएको उल्टो नियमलाई समर्थन गरेर स्टाटस लेख्छ । अझै एउटा झुण्डको तालि, अरुलाई झोले भन्दै गालि । ल, माने बा ।’

फिल्म आदिपुरुषलगायत भारतीय फिल्म प्रदर्शनमा रोक लगाएपछि ढुृंगानाको समूह मेयर बालेन शाहविरुद्ध यसअघि अदालतसमेत पुगेको थियो ।
 

टिप्पणीहरू