जनवादी संस्कृति, नेकपा र सामाजिक रूपान्तरण

जनवादी संस्कृति, नेकपा र सामाजिक रूपान्तरण

हामीलाई जनवाद र जनवादी संस्कृति सिकाइयो र पढाइयो । पार्टी र संगठनमा लोकतान्त्रिक एवं प्रजातान्त्रिक विधिबाट छलफल, विचार–विमर्श, तर्क–वितर्क, वाद–प्रतिवाद तथा तार्किक बहस गर्ने कुरालाई हामी जनवादी संगठानात्मक प्रणाली र विधि भन्ने गर्छाैं । संगठनमा एउटा विधि र प्रक्रियाबाट बैठकको सञ्चालन हुने र त्यसमा विधिसम्मत तरिकाले छलफल हुने कुरा हुन्छ भने त्यो जनवाद हो । निर्णय प्रक्रियामा पारदर्शी तथा समावेशी प्रक्रिया हुन्छ भने त्यो जनवाद हो । तरफेरि निर्णय भएपछि भने आफूलाई चित्त नबुझे पनि त्यसलाई स्वीकार गरी लागू गर्नुपर्छ । त्यो केन्द्रीयता हो । जनवादी केन्द्रयता लेलिनवादी संगठानात्मक सिद्धान्तको प्रमुख आधार हो ।

जनवाद र संस्कृति

जनवादसँगै जनवादी संस्कृति गाँसिएर आएको हुन्छ । पार्टी र संगठनमा जनवादी पद्धति हुने तर व्यवहार तथा कार्य प्रक्रियामा सो अनुकूलको संस्कृति भएन भने त्यसमा मेल खाँदैन । संस्कृति के हो भन्ने सन्दर्भमा विभिन्न समाजशास्त्रीले विभिन्न तरिकाले व्याख्या र विवेचना गरेका छन् । समाजशास्त्री कोहेनले संस्कृतिलाई खाली चेक जस्तै हो भनेका छन् । उनले जसरी चेकमा वाहकले आफूलाई लागेको अंक भर्न सक्छ त्यसरी नै मानव संस्कृति पनि मानिसले आफ्ना गतिविधिलाई भर्न सक्छन् भनेका छन् ।

संस्कृति मानिस जन्मेदेखि नमरून्जेलसम्म गर्ने सिकाई, भोगाइ, विधि, व्यवहार, संस्कार, पद्धति, खानपान, सीप, ज्ञान, धर्म–संस्कार, राजनीतिक–सामाजिक क्रियाकलाप, मानवीय गतिविधिजस्ता सबै मानिससँग गाँसिएका कुरा हाम्रा सामाजिक संस्कार तथा संस्कृति हुन् । मानिस मरेपछि पनि समाजले त्यो मानिसलाई सम्झने संस्कार तथा संस्कृति बनाएका हुन्छन् । संस्कृतिसँग समाज जोडिएको हुन्छ । संस्कृति मानव निर्मित कुरा हो । त्यसो भएकोले समाज, देश तथा स्थानका आ–आफ्ना सामाजिक संस्कृति हुन्छन् । कुनै समाजमा त्यही कुरा पाच्य हुन्छ भने कुनैमा सोही कुरा बर्जित हुन्छ । जस्तो बंगलादेशमा गाईको मासु काटेर खाने कुरालाई समाज, कानन प्रथा तथा संस्कृतिले स्विकारेको पाइन्छ भने नेपाल तथा भारतमा सो कुरा सबै दृष्टिले वर्जित छ ।

राजनीतिक संस्कार तथा संस्कृतिसमेत देशअनुसार फरक हुन्छ । तर, लोकतान्त्रिक मूल्य, मान्यता, विश्वव्यापी प्रचलन, पद्धति, सर्वस्वीकार्य विधि तथा लोकतान्त्रिक प्रणालीका कुरा भने मूलतः विश्वका सबैजसो मुलुक र समाजमा समानजस्तै हुन्छन् । अलोकतान्त्रिक शासन, सैन्य शासन तथा निरंकुश शासन र प्रणाली भएका राष्ट्र तथा समाजमा भने लोकतान्त्रिक शासनको भन्दा फरक संस्कृति पनि हुन सक्छन् । यसरी प्रजातान्त्रिक शासन र राजनीतिक प्रणालीका संस्कृति तथा संस्कार सामान्यतया: समान प्रकारका हुन्छन् ।

नेकपा र जनवादी संस्कृति

तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच ०७५ साल जेठ ३ गते एकता भई बनेको नेकपा मूलत ः जनवादी तथा प्रगतिशील राजनीतिक र सामाजिक संस्कृति अगाल्ने राजनीतिक पार्टी हो । माक्र्सवादी साँस्कृतिक चेतना तथा लेलिनवादी संगठानात्मक सिद्धान्तलाई आफ्नो मार्गनिर्देशक सिद्धान्त मान्ने दल भए पनि तत्कालीन नेता मदनकुमार भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय प्रजातान्त्रिक परिपाटी अँगाल्ने नीति यसले लिएको छ । अर्थात् बदलिँदो विश्व परिस्थितिअनुकूल आफूलाई ढाल्दै पनि लगेको छ । जुन आवश्यक हो ।

मूलतः माक्र्सवादी तथा प्रगतिशील सिद्धान्त मान्ने भएपछि आफ्ना व्यवहार, विधि, मान्यता, मूल्य, कार्यप्रणाली, तरिका तथा व्यवहार पनि विज्ञानवादी, प्रगतिशील तथा वस्तुगत हुनै पर्ने मानिन्छ । रूढीग्रस्त सोच, चिन्तन, व्यवहार, अन्ध धार्मिक चिन्तन र संस्कार, अवैज्ञानिक र अवस्तुवादी मूल्य–मान्यता, जनविरोधी प्रचलन र संस्कार तथा सामन्ती चिन्तन सिद्धान्तत ः नेकपाको संस्कृतिमा पर्दैन र हुँदैन । हामीले कस्तो खाँन्छौं ? कस्तो बोल्छौं ? कस्तो व्यवहार गर्छाैं ? कस्तो चिन्तन पाल्छौं ? सामान्य मान्छेप्रति कस्तो व्यवहार गर्छाैं ? आफूलाई नेता र अगुवा मान्छौँ भने आफूले प्रतिनिधित्व गर्ने बैठक, भेला र कार्यक्रममा आफूलाई मालिक बराबर त ठान्दैनौं ? आफूले भनेको मात्र ठीक भन्दै अरूलाई बोल्न, विचार राख्न दिँदैनौं कि ? के त्यस्तो व्यवहार र सोच जनवादी संस्कृति हो ? आफूलाई प्रतिकूल हुने विचार र विषय छलफल र बहस गर्नै दिन्नौं कि ? के त्यो प्रगतिशील संस्कृति हो ? के त्यो जनवादी संस्कृति हो ? आफूभन्दा तलका कार्यकर्ता तथा सदस्यहरूलाई नोकर तथा दासजस्तो सोच गरी व्यवहार गर्दै छौं कि ? के त्यही हो त जनवादी संस्कृति ? यसैले जनवादी मूल्य, संस्कार तथा संस्कृतिका सन्दर्भमा विचार–विमर्श र चिन्तन गर्नुपर्ने अवस्था छ ।

भाषणमा ठूला समाज परिवर्तनका कुरा गर्ने अनि व्यवहारमा पुरातन र रूढीग्रस्त चिन्तन पाल्दै छौं भने त्यो कस्तो संस्कृति हो ? के त्यस्तो संस्कृति माक्र्सवादी संस्कृति हुन्छ ? वा विज्ञानवादी संस्कृति हुन्छ ? वा प्रगतिशील संस्कृति हुन्छ ? यसैले नेकपाको नेतृत्वका विभिन्न तह र तप्कामा रहेका तथा शासन–सत्ताका विभिन्न अंगमा बस्नेहरूले जनवादी, प्रगतिशील तथा विज्ञानवादी संस्कृति र संस्कारको सन्दर्भमा सोच्नुपर्ने भएको छ ।

संस्कृति र सामाजिक रूपान्तरण

सामाजिक रूपान्तरण तथा परिवर्तनमा संस्कृति तथा संस्कारको ठूलो भूमिका तथा अर्थ हुन्छ । समाज र मुलुकलाई प्रभावित पार्ने भनेको राजनीति र राजनीतिक नेतृत्वको माध्यमबाट हो । यसकारण राजनीतिक नीति र नेतृत्वको सोच, व्यवहार, चिन्तन, संस्कार तथा संस्कृतिमा समाजको सुधार तथा सामाजिक परिवर्तनको मुद्दा हुनैपर्ने हुन्छ । सामाजिक परिवर्तनको लागि राजनीतिक नीति र नेतृृत्वले अग्रिणी भूमिका खेल्न सक्ने भएकाले सोही स्थानबाट परिवर्तनको थालनी सम्भव छ । समाज महत्वपूर्ण इकाइ (कम्पोनेन्ट) हो । तर, समाजलाई पनि प्रभावित, परिचालित तथा परिवर्तित गर्न सक्ने माध्यम भनेको मुुलुकको शासन सत्तामा सीधै हैसियत तथा वैधानिक अधिकार भएको राजनीतिक पार्टी तथा त्यसलाई निर्देशन गर्न सक्ने हैसियत भएको नेतृत्व नै हो ।

यस्तो समाज, मुलुक तथा राज्य संयन्त्रलाई ढाल्न र परिवर्तन गर्न सक्ने यन्त्रमा बस्ने मानिस वा नेताको सामाजिक चिन्तन, सोच, विधि, व्यवहार तथा संस्कृतिलाई हेरेर, देखेर तथा चर्चा एवं चिन्तनबारे जानकारी पाएरै सामान्य नागरिकले पनि आफ्ना धारणा बनाउने र संस्कार तथा संस्कृति परिवर्तन गर्न थाल्ने भएकाले राजनीतिक नेतृत्व सामाजिक परिवर्तनमा सहयोगी बन्न सक्छन् भन्ने हो । अब यहीँनेर प्रश्न उठछ । के हाम्रा राजनीतिक भूमिका, निर्णय प्रक्रियामा भूमिका र शासन–सत्तामा रहेकाहरू सामाजिक परिवर्तन तथा रूपान्तरणमा सहभागी भइरहेका छन् ? वा बोल्ने उएटा र गर्ने अर्कै गर्दै छन् ? जस्तो सामन्ती संस्कार र संस्कृति भन्दै नेता र शासकले गलाभरि बोझिलो सुन लगाउने संस्कृतिको विरोध गर्दै आएका छौं । अब आफँै र आफ्ना परिवारका सदस्यले के त्यो पालना गरेका छन् ? अन्धविश्वास, कुरीति, कुसंस्कार तथा रूढीवादी कुराको विरोधमा बोल्ने नेताले आफू र आफ्नो परिवारमा कसरी लागू गरी आएका छन् ?

त्यो संस्कृति र संस्कारबाट अरूले के सिक्ने ? जस्तो प्रगतिशील र जनवादी संस्कृतिको वकालत गर्ने नेता वा सरकारी शासनमा भएको मान्छे स्वयंले मरेपछि स्वर्ग पुगिन्छ भन्दै १३ दिनसम्म गौरी पुराण सुन्छ र समाजका मानिसलाई सुनाउँछ भने त्यो परिवर्तनशील र प्रगतिशील संस्कृति हुन सक्ला ? यस्ता कुरा समाजमा धेरै देखिन्छन् । झाडा–पखाला लाग्दा झारफुक गर्न झाँक्री खोज्दै हिँड्ने हाम्रो सामाजिक संस्कृतिमा एकैपटक सबै कुरा परिवर्तन गर्न सकिन्छ भन्ने होइन र हुन्न । सवाल नेता र शासकमा त्यो सोच तथा संस्कृति कति हाबी छ ? त्यो मूल सवाल हो ।

समाज परिवर्तन गर्ने भन्दै हामीले धेरै भाषण सुन्यौं । थुप्रै राजनीतिक कार्यपत्र तथा घोषणापत्र देख्यौं । निर्वाचनमा र राजनीतिक कार्यक्रमका दौरान समाज रूपान्तरणका गुलिया कुरा सुन्यौं । हामी सत्तामा पनि पटक–पटक पुग्यौं । अल्पमतको होइन, बहुमतकै सरकार चलायौं । अब फेरि प्रश्न जन्मन्छ कि हामीले चलाएको सत्ता, नेतृत्व र शासन समाजको अग्रगामी रूपान्तरण र सामाजिक परिवर्तनमा कति सहायक बन्न सक्यो ? यो बढो गम्भीर, सोचनीय तथा विश्लेषणयोग्य सवाल हो ।

टिप्पणीहरू