खानुअघि होश पुर्याऔं, जंगली र विषालु च्याउ घर नभित्र्याऔं

खानुअघि होश पुर्याऔं, जंगली र विषालु च्याउ घर नभित्र्याऔं

जंगली च्याउ खाएपछि गत आइतबार रोल्पामा एकै परिवारका तीन जनाको ज्यान गयो । लुंग्री गाउँपालिका ५, कालापोखराका दुर्गाबहादुर गुरुङका ११ वर्षीय छोरा सुशील गुरुङ, ६ वर्षीय प्रेम गुरुङ र श्रीमती भीमा गुरुङको जंगली च्याउ खाएर निधन भएको हो । 

गत असार २५ गते दुर्गाका छोराहरु प्रेम र सुशील पशु चौपायालाई ओछ्याउने सोत्तर लिन जंगल गएका थिए । त्यहाँ उनीहरुले च्याउ देखे । टिपेर ल्याएको बेलुकी परिवारले त्यसैलाई तरकारीको रुपमा पकाएर खाए । 

उनीहरुलाई बेलुकी केही भएन, तर भोलिपल्ट बिहानदेखि रिंगटा लाग्ने र वान्ता हुन थाल्यो । विगुल माविमा अध्ययनरत दुई दाजुभाईमध्ये प्रेम असार २६ गते स्कुल गए । उनले विद्यालयमा पनि वान्ता गरे । वान्तामा अघिल्लो दिन खाएको च्याउ देखियो । 

शिक्षकहरुले विषालु च्याउ खाएको थाहा पाएपछि परिवारमा अरुलाई पनि समस्या हुनसक्ने डरले हतार हतार घर ल्याए । घरमा दाइ सुशील र आमा भीमाको अवस्था पनि उस्तै जटिल भएको देखियो ।तीनै जनालाई नजिकैको स्वास्थ्य चौकीमा लगियो । त्यहाँ उपचार सम्भव नभएपछि बुटवल रिफर गरियो । तर, उपचारको क्रममा तीनै जनाको मृत्यु भएको हो ।

कमजोर आर्थिक अवस्थाका कारण केही वर्षयता वैदेशिक रोजगारीमा गएका दुर्गाको परिवार यतिबेला जंगली च्याउले गर्दा रित्तिएको छ । परिवारको आधारभूत आवश्यकता पूरा गर्ने आशाले विदेशिएका उनी अहिले एक्लिएका छन् । 

गत जेठ १९ गते धनकुटामा पनि जंगली च्याउ खाएका आमा र छोराको ज्यान गएको थियो । धनकुटा नगरपालिका ७ की २८ वर्षीया मुना राई र उनका छोरा सचिव राईको जंगली च्याउ खाएर मृत्यु भएको हो । 

उनीहरुले जेठ १५ गते चुलिवन जंगलबाट जंगली च्याउ ल्याएर खाएका थिए । त्यसपछि बिरामी परेका उनीहरुलाई जिल्ला अस्पताल धनकुटामा उपचारको लागि भर्ना गरियो । त्यहाँ उपचार हुन नसकेपछि जेठ १८ गते थप उपचारकको निम्ति धरान पुर्याइयो । उपचारमा संलग्न चिकित्सकका अनुसार पखाला र वान्ता भएपछि बाबु, आमा र छोरा अस्पताल पुगेका थिए । 

उपचारपछि बाबुको अवस्था ठीक भयो । त्यसपछि आमा छोराको स्याहारमा लागे । उनीहरुको अवस्थामा समेत सुधार आइसकेको थियो । तर, अचानक आमाको रक्तचाप कम भयो र छोराको मिर्गोलामा समस्या देखिएपछि उपचारको क्रममा दुवैको निधन भएको हो ।

यसैगरी, दोलखामा पनि विषालु च्याउ खाँदा गत असार २६ गते एक महिलाको मृत्यु भयो । गौरीशंकर गाउँपालिका ६ चंखुकी ३२ वर्षीया सोमेलेकी शेर्पाको जंगली च्याउ खाएर निधन भएको हो । 
उनीसहित परिवारका पाँच जनाले असार २३ गते जंगली च्याउ खाएका थिए । त्यसपछि सिकिस्त बिरामी परेका उनीहरुलाई सिंगटीस्थित रोल्वालिङ सामुदायिक अस्पताल पुर्याइयो । 

सोही क्रममा शेर्पाको उपचारको क्रममा मृत्यु भएको हो । यता, जंगली च्याउ खाएका परिवारका अन्य चार जनाको भने हाल स्वास्थ्य अवस्थामा केही सुधार भएको बताइएको छ ।  नेपालका दुर्गम तथा पहाडी क्षेत्रमा विषालु च्याउ खाएर ज्यान गुमाउनेको संख्या वर्षेनी बढ्दो छ । आर्थिक अभावका कारण दैनिक छाक टार्ने क्रममा पोषिलो खाना खोज्दै गर्दा च्याउलगायत वनका कन्दमूल खानुपर्ने बाध्यता अहिले पनि उस्तै छ । 

यसबाट प्रत्येक वर्ष वर्षायाममा अधिंकाश ग्रामीण भेगका सर्वसाधारणले बिहान बेलुकाको छाक टार्ने क्रममा जंगली च्याउ खाएर आफ्नो ज्यान गुमाउने गर्छन् । कतिपय अवस्थामा त घरपरिवार नै सखाप भएको समेत पाइएको छ । 

मानव शरीरका लागि च्याउ अति उत्तम र पौष्टिक आहार हो । च्याउमा प्रोटिन, भिटामिन, क्याल्सियम आदि तत्व पाइन्छ । तर, त्यही च्याउ जथाभावी खाँदा विषको रुपमा परिणत हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सूचना अधिकारी पवनकुमार साह बताउँछन् । 

उनका अनुसार नेपालमा वर्षेनी विषालु च्याउका कारण ३० भन्दा बढीले ज्यान गुमाउने गरेका छन् । त्यस्तो च्याउ खाएपछि वान्ता, पखाला, टाउको दुख्ने र रिंगटा लाग्ने हुन्छ । केही समय बिरामीले सञ्चो भएको अनुभव पनि गर्न सक्छ । तर, विषको असर केही क्षण पछाडि पुनः देखिने गरेकाले अवस्था असहज बन्ने गरेको हो । 

नेपालमा एक हजारभन्दा बढी प्रजातिका च्याउ पाइन्छन् । तीमध्ये करिब एक सय १० प्रकारका च्याउ मात्रै खानयोग्य हुन्छन् । त्यस्तै, केही प्रजातिका च्याउ औषधिको रुपमा पनि प्रयोग गरिन्छ भने अधिकांश च्याउ विषाक्त भएको अनुमान छ ।  

स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी साहका अनुसार कतिपय अवस्थामा च्याउको जात सामान्यतया झट्टा हेर्दा उस्तै देखिने हुँदा कुन विषालु र कुन होइन भनेर छुट्याउन निकै कठिन हुने गर्छ । यसकारण सर्वसाधारणले खानयोग्य च्याउ सोचेर विषालु च्याउ खाने गरेको समेत पाइएको छ । 

विषालु च्याउ हेर्दा सफा, रंगीन र आकर्षक हुन्छ । यो हलक्क बढेको र रहरलाग्दो देखिन्छ । यी च्याउमा हत्तपत्त किरा लाग्दैन । विशेषगरी, वर्षायामको समयमा विषालु च्याउ अधिक मात्रामा फल्ने हुँदा आफुलाई थाहा नभएको वा जथाभावी च्याउ नखान समेत प्रवक्ता साह आग्रह गर्छन् ।

टिप्पणीहरू