प्रेमी बन्छौ कि शासक, भन ए पुरुष !

प्रेमी बन्छौ कि शासक, भन ए पुरुष !

पाब्लो पिकासो । विश्वविख्यात चित्रकार, मूर्तिकार, डिजाइनर, कवि अनि नाटककार । बीसौं शताब्दीका सबैभन्दा चर्चित तर विवादास्पद व्यक्तित्व । १४–१५ वर्षको कलिलो उमेरमै उत्कृष्ट चित्र बनाउन थालेका । २५ वर्षको उमेरमा कोरेको कलाकृति ‘एभिगननका महिलाहरू’ पहिलो सुप्रसिद्ध चित्र । सो चित्र एक वर्ष लगाएर बनाएको । सन् १९३७ मा स्पेनी गृहयुद्धको समय जर्मन सेनाले स्पेनमा बम बर्साएपछि त्यसको विरुद्ध ‘गेर्निका’ चित्र तयार पारेको, जुन आजपर्यन्त विश्वका महत्वपूर्ण कलाकृतिमध्येको सर्वोत्कृष्ट मानिन्छ । स्पेनमा जन्मिए पनि पिकासोको अधिकांश समय फ्रान्समा बियो । ९२ वर्ष लामो जीवनमा दुईपटक बिहे गरे, २५ जनाभन्दा बढीसँग प्रेम गरे ।

सन् १९४३ मा पिकासो फ्रान्सको पेरिसमै थिए । दोस्रो विश्वयुद्ध चरमोत्कर्षमा पुगेको थियो । सर्वत्र युद्धको वातावरण । पेरिस मात्र होइन, फ्रान्सका अन्य नगर, गल्ली, चोकसमेत त्रासमा । सम्पूर्ण फ्रान्स जर्मनीको नियन्त्रणमा गइसकेको । फ्रांन्स्वा गिलोट त्यहींकै चित्रकार । भर्खर २१ वर्षमा टेकेकी । पहिलो एकल चित्रकला प्रदर्शनीको क्रममा पेरिस पुगेकी । सानैदेखि पिकासोको प्रशंसक । आफूले गुरु मानेका पिकासो पनि पेरिसमा भएको थाहा पाएपछि भेट्ने लालसा बढ्यो । पेरिसस्थित एउटा रेष्टुराँमा भेट्ने तय भयो । भेटघाटमा पिकासोकी पछिल्लो प्रेमिका डोरा मार र गिलोटका प्रेमी बेन्जामिन गोल्से पनि सहभागी थिए । तर, पहिलो भेटमै पिकासो र गिलोट एकअर्कामा यतिधेरै गफिए कि दुवैले आ–आफ्ना प्रेमी–प्रेमिकाको उपस्थितिसमेत बिर्सिए । डोरा पिकासोभन्दा १६ वर्ष कान्छी । दुवै जना सन् १९३५ देखि सँगै थिए । पिकासो विवाहित । रुसी व्याले नर्तकी ओल्गा खोख्लोभा उनकी पत्नी । पिकासो डोरासित लहसिनुअघि फ्रान्सिसी मोडल मेरी थेरेसा वाल्टरको प्रेममा थिए । लोग्नेले अरु स्त्रीसँग सम्बन्ध राख्ने गरेको र मेरीले गर्भाधानसमेत गरिसकेको खबर सुनेपछि ओल्गा पेरिस पुगेर सम्बन्ध बिच्छेद मागिन् तर पिकासो सम्बन्ध तोड्न तयार भएनन् । त्यसपछि ओल्गा दक्षिण फ्रान्समा गई बस्न थालिन् ।

पहिलो भेटमै पिकासो र गिलोट नजिकिएको देखेपछि डोराले पनि बूढो पिकासोले तरुनी प्रेमिका खोजेको महसुस गरिन् । किनभने पिकासो त्यो बेला ६२ वर्षको भइसकेका थिए । गिलोट ४१ वर्षले कान्छी । पहिलो भेटपछि पिकासोले डोरालाई मात्र बिर्सेनन्, गिलोटले पनि गोल्सेलाई बिर्सिइन् । पहिलो भेटघाटमै दुवै जनाले पिकनिकमा जाने सल्लाह गरे । पिकनिकमा दुई जना मात्र गए । डोरा र गोल्सेलाई सहभागी गराएनन् ।गोल्से निरास भई एक्लै घर फर्किए । पिकनिकमा दुवैले आ–आफ्नो जीवनगाथा सुनाए । गिलोटले कलासम्बन्धी धेरै प्रश्न पिकासोसँग सोधे । अन्त्यमा ‘फेरि भेटौंला’ भनेर दुवै छुटे । पिकासो र गिलोटको ‘फेरि भेटौंला’ धेरै दिनपछि बल्ल सम्भव बन्यो, किनभने पेरिसमाथि जर्मन सेना तैनाथ थियो, उनीहरूले पिकासोमाथि पनि निगरानी राख्दै थिए । बदलिँदो परिस्थितिको कारण पिकासो एकदम उदास थिए ।

एक साँझ गिलोट पिकासोको घर पुगिन् । ढोकाबाहिर गिलोटलाई देखेपछि पिकासो अत्यन्त खुशी भए । पिकासोले आफूलाई नियन्त्रण गर्नै सकेनन् । एक क्षणको हेराहेरपछि दुवै प्रेमिल बने । गिलोट पिकासोको अँगालोमा बाँधिइन् । तनमन समर्पण गरिन् । गिलोटलाई पिकासो रोमन युगका विलासी शासकले जत्तिकै प्रेमिका फेर्न र शारीरिक सम्बन्ध राख्न माहिर हुन् भन्ने थाहा थियो । तैपनि उनी पिकासोको प्रेम बन्धनमा बाँधिइन् । यहाँसम्म कि गिलोट आफ्नो घर फर्किनन् । पिकासोसँगै बस्न थालिन् । पिकासो महिलालाई पहिला ‘देवी’ र पछि ‘दासी’ मान्छन् । आफूसँगै बसुञ्जेल, प्रेम गरुञ्जेल देवी र छोडिसकेपछि ‘दासी’ । गिलोट पनि देवी र दासी बन्न तयार भइन् ।

एक दिन ६२ वर्षीय पिकासो र २१ वर्षिया गिलोट समुद्री तटमा अर्धनग्न भई घाम तापिरहेका थिए । आइतबारको दिन भएकाले निकै भीडभाड थियो । बच्चा, बूढाबूढी, युवायुवती । मेलाको माहोल थियो । रंगी–विरंगी छाता । जोडीहरू आफ्नै धुनमा मस्त । गिलोट उत्तानो परेर पल्टिराखेकी थिइन् । शरीरमा ब्रा र रंगीन पेन्टी मात्र थियो । सँगै पिकासो पल्टेका थिए गगल्स लगाएर । उनी जोक्स सुनाएर गिलोटलाई हँसाउँदै थिए । त्यत्तिकैमा ओल्गा आइपुगिन् । उनी पिकासो र गिलोटको बीचबाट हिँडिन् र पिकासोको खुट्टामा हल्का लात्ती हानेर अघि बढिन् । पिकासोले पत्नीलाई चिनिहाले । ओल्गाले पहिला–पहिला पनि त्यस किसिमको दुव्र्यवहार गर्ने गरेकाले उनको यो व्यवहारप्रति आश्चर्य मानेनन् । तर गिलोटलाई इशारा गर्दै भने, ‘यिनी नै हुन् ओल्गा, जसको तारिफ तिमीसँग पटक–पटक गर्ने गर्छु ।’

कुरो सुनेर गिलोट छक्क परिन् । पिकासोले देखाएकी महिलालाई हेर्न थालिन् । अग्ली, गोरी रुसी महिला, जसले गिलोटलाई खाउँलाजस्तै गरी हेरिरहेकी थिइन् । एकछिन त गिलोट डराइन् तर उत्नीखेरै ‘उँह’ गरी उपेक्षापूर्ण तरिकाले पुनः बालुवामा पल्टिइन् । ओल्गालाई पिकासो राम्रोसँग चिन्दथे, त्यसैले गिलोटलाई भने, ‘सतर्क रहनु, उनी पूरा पागलजस्ती छन् । उनी ती महिलाको शत्रु हुन्, जसले पिकासोसँग प्रेम गर्छन् ।’

गिलोटले पुनः ओल्गालाई उपेक्षा गरिन् । पुनः जोक्स सुन्न थालिन् । एकछिन मात्र भएको थियो, एकाएक गिलोट ‘एैया’ भनेर चिच्याइन् । पिकासोले ‘के भयो ?’ भन्न नपाउँदै गिलोट दायाँ हातको औंला चलाउन थालिन् । पिकासोले ‘ऊ त ओल्गा हुन्’ भन्न नभ्याउँदै गिलोट ओल्गाको पछाडि दौडिइन् । आफ्नो औंलामा कुल्चेर गएकी ओल्गाको कपाल समातेर लडाइदिइन् । अनि लात्तीले हान्न थालिन् । एकछिनमै भीड जम्मा भयो । ओल्गा चिच्याइन् । गिलोट लात्ती र मुक्का हान्दै थिइन् । पिकासो पल्टेरै हाँस्दै त्यो दृश्य हेर्दै थिए । त्यो दिन ओल्गाले गिलोटको हातबाट निकै निकै कुटाइ खाइन् । गिलोट फर्केर पिकासो भएको ठाउँमा आइन् । उनी हस्याङफस्याङ गर्दै थिइन् तर पिकासोले न उनको बारेमा सोधे न ओल्गाको बारेमा । उनी गिलोटको कपाल मिलाउँदै पुनः जोक्स सुनाउन थाले । पिकासो कठोर हृदय भएका पुरुष थिए । उनी प्रेमिका र पत्नी छटपटाएको देखेर आनन्द महसुस गर्थे ।

पिकासोले गिलोटको प्रेमलाई औसत नै ठान्ने गर्थे । जबकि गिलोटले उनलाई मनैदेखि प्रेम गर्थिन् । पिकासो र गिलोटले १० वर्ष लोग्ने–स्वास्नीसरह बिताए । सँगै बस्दाको परिणाम गिलोट छोरा क्लाड र छोरी पालोमीको आमा बनिन् । गिलोट सधैं पिकासोको कला र विचारको प्रशंसक रहिन् । पिकासो सही अर्थमा कलाकार थिए, चित्रकार थिए । त्यसैले घरेलु जीवन अन्यको भन्दा फरक रह्यो । घरेलु जीवनमा उनको व्यवहार सामान्य खालको हुन्नथ्यो । सामान्य महिला उनको व्यवहार खप्न सक्दैनथे । गिलोटले पछि उनको र पिकासोको रुचि कहिल्यै मेल नखाएको स्वीकारिन् पनि । १० वर्ष सँगै बसेपछि अलग्गिन बाध्य हुनुको कारण पिकासोको व्यवसाय थिएन, बल्की उनको निरंकुश व्यवहार थियो । गिलोटले पछि आत्मवृत्तान्तमा स्वीकारिन् कि ‘अन्तिम समय पिकासोको मनमा मप्रतिको प्रेम पूर्णतः समाप्त भइसकेको थियो । उनी मात्र एउटा लोग्ने र शासक अथवा परिवारको मुखियामा सीमित हुन पुगेका थिए ।’

पिकासोको व्यवहारमा प्रेमको बदला रुखोपन मात्र बाँकी रहेपछि एकदिन गिलोटले ‘म तिमीबाट अलग्ग हुन चाहन्छु’ भनिन् । कुरो सुनेर पिकासोको शासक मन क्रुद्ध बन्यो । उनले अलग हुन चाहनुको कारण रिसाएरै सोधे । गिलोट उनको हरेक व्यवहारबाट दिक्क भइसकेकी थिइन् । त्यसैले गम्भीर भएर भनिन्, ‘हामी अलग बस्नु नै बेस होला, अब सँगै बसेर दुवैलाई फाइदा छैन । मलाई लाग्छ, तिमी मात्र प्रेम गर्ने वस्तु रहेछौ । तिमीसित बिहे सम्भव देखिनँ । महिला पुरुषबाट प्रेमको अपेक्षा गर्छन्, शासन होइन । यदि कुनै लोग्ने शासन गर्न चाहन्छ भने पहिला ऊ, असल प्रेमी हुनु आवश्यक छ ।’

पिकासोले सोधे, ‘के म असल प्रेमी हैन त ?’

‘तिमीबारे मेरो राय भिन्न छ । तिमी असल प्रेमी त हौ तर लोग्ने बनेपछि शासकमा परिणत हुन्छौ । त्यसकारण म तिम्रो दासत्वबाट मुक्त हुन चाहन्छु ।’

गिलोटको पछिल्लो कुरा सुनेर पिकासो नाजवाफ बने र चुपचाप आफ्नो कोठामा पसे । उनीहरूबीच कैयौं दिनसम्म बोलचालसम्म भएन । अन्त्यमा गिलोट घर छोडेर हिँडिन् । गिलोटले आफ्नो जीवनको अमूल्य समय पिकासोलाई दिएकोमा पश्चाताप गरिन् । पछि उनको दुई जनासँग बिहे भयो । सन् १९७० मा दोस्रो बिहे गरेका उनका लोग्ने जोनास साल्क पोलियोको खोप बनाउने अनुसन्धानकर्ता थिए । पिकासोको निधन सन् १९७३ मा भइसकेको छ भने गिलोट जिउँदै छिन् । ९९ वर्षकी भइन् ।

-राजेन्द्र स्थापित

टिप्पणीहरू