सर्पले टोकेर गत वर्ष ६० जनाको अकालमा मृत्यु

सर्पले टोकेर गत वर्ष ६० जनाको अकालमा मृत्यु

सर्पको टोकाइबाट हिजो एक किशोरको ज्यान गयो । सल्यानको बागचौर नगरपालिका ४, पेदीखोला घर भई हाल दाङको शान्तिनगर गाउँपालिका ७ बस्दै आएका १६ वर्षीय मनोज वलीको निधन भएको हो । 

राति कोठामा सुतिरहेको अवस्थामा सर्पले टोक्दा गम्भीर बिरामी भएका उनलाई उपचारका निम्ति राप्ती प्रादेशिक अस्पताल तुलसीपुर लगिएको थियो । सामान्य उपचारपछि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकोमा उनको उपचारको क्रममा मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) पुष्पराज मल्लका अनुसार पछिल्ला चार दिनमा जिल्लामा सर्पदंशबाट दुई जनाले ज्यान गुमाइसकेका छन् । गत असार २१ गते उदयपुरको चौदण्डीगढी नगरपालिका ७, भुल्केकी ७२ वर्षीया जमुना घिमिरेको पनि विषालु सर्पको टोकाइबाट निधन भएको थियो । राति विषालु सर्पले डसेपछि गम्भीर घाइते भएकी उनलाई उपचारार्थ नेपाली सेनाको १८ नम्बर बाहिनी अड्डा परिसरमा रहेको सर्पदंश उपचार केन्द्रमा लैजाने क्रममा बाटोमै मृत्यु भएको बताइन्छ । 

त्यस्तै असार २६ गते कपिलवस्तुमा सर्पदंशबाट दुई बालकले आफ्नो ज्यान गुमाए । बुद्धभूमि नगरपालिका १, कपासिकाका १२ वर्षीय ग्रीस पहाडी र उनका ९ वर्षीय भाइ ग्रीष्म पहाडीको सर्पको टोकाइबाट निधन भएको हो । उनीहरु राति सुतेको बेलामा सर्पले टोकेपछि बेहास भएका थिए । बिहानीपख दुवै जना बेहोस अवस्थामा भेटिएपछि गोरुसिंगेस्थित बुद्ध पोलिक्लिनक लगिएको थियो । 

क्लिनिकले थप उपचारका निम्ति बुटवल रिफ गर्यो । सोही क्रममा लुम्बिनी प्रादेशिक अस्पताल लैजाने क्रममा एक जनाको बाटोमा र अर्काको उपचारको क्रममा निधन भएको हो । कपिलवस्तुमा यसअघि गत असार २४ गते पनि सर्पदंशबाट दुई जनाले ज्यान गुमाइसकेका छन् । बुद्धभूमि नगरपालिका १० की १६ वर्षीया ममता रैदास र महाराजगञ्ज नगरपालिकाकी ३० वर्षीया अनिता यादवको विषालु सर्पले डस्दा मृत्यु भएको थियो । सर्पले डसेको बेलैमा थाहा नपाउँदा उनीहरुको अकालमा ज्यान गएको हो । 

पछिल्लो समय गर्मी अत्यधिक बढेसँगै सर्पदंशका घटनाहरु पनि हवात्तै बढेका छन् । तीमध्ये उल्लेख गरिएका यी केही प्रतिनिधि घटना मात्रै हुन् । नेपाल प्रहरीको तथ्याङ्कअनुसार गत आर्थिक वर्ष २०७९÷०८० मा सर्पको टोकाइबाट ६० जनाले ज्यान गुमाएका छन् । त्यस्तै, सयौंको संख्यामा घाइते भएका हुन् ।

सर्पदंशबाट कर्णाली प्रदेशमा २, कोशीमा २, गण्डकीमा ४, बागमतीमा ५, मधेशमा ८, लुम्बिनीमा १९ र सुदूरपश्चिममा २१ जना गरी ६० जनाको सो अवधिमा निधन भएको थियो । सर्पले डसेपछि बेलैमा उपचार नपाउँदा, लापरबाही गर्दा र धामी झाँक्रीको भर पर्दा अधिंकाश बिरामीको ज्यान जाने गरेको पाइएको छ । 

नेपालमा विशेषगरी, जेठदेखि भदौ महिनासम्म सर्पदंशको जोखिम उच्च हुन्छ । घाँस काट्दा, खेल्दा, हिँड्दा वा सुतेकै अवस्थामा समेत सर्पले टोक्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का जुनोटिक शाखा प्रमुख डा.हेमन्त ओझा बताउँछन् । 

उनका अनुसार नेपालमा तराई र भित्री मधेशका विभिन्न जिल्लाका साथै मध्यपहाडी क्षेत्रमा बढी सर्पहरु देखिने गर्दछन् । तर, सबै सर्प विषालु नहुने उनको भनाई छ । ‘नेपालमा ८० प्रजातिका सर्पहरु पाइन्छन् । तीमध्ये १९ देखि २० प्रजातिका सर्प विषालु हुन्छन्,’ उनी भन्छन्, ‘हाम्रो मुलुकमा पाइने सर्पमा खासगरी न्युरोटक्सिस र हेमाटोटक्सिस गरी दुई प्रकारका विषालु हुन्छन् ।’ 

तीमध्ये न्युरोटक्सीसले नसा र मांशपेशी र हेमाटोटक्सीसले रगत पातलो बनाउने समस्या उत्पन्न गराउँछ । डा.ओझाका अनुसार विषालुमध्ये गोमन, करेत, हरेउ, बाघेजस्ता सर्पले डस्दा मानिसको मृत्यु हुने गरेको छ ।

सर्पले डसेपछि छालाको रंग रातो हुने, सुन्निएको जस्तो देखिने, दुख्ने, हातखुट्टा झमझम गर्न थाल्ने, पेट दुख्ने, वाकवाकी लाग्ने र वान्तासमेत हुने लक्षण देखापर्छ । जुनसुकै सर्पले डसेपनि तत्काल उपचारको निम्ति नजिकैको स्वास्थ्य चौकी वा स्वास्थ्य संस्था जान उनको आग्रह छ ।  

विशेषगरी रातको समयमा सर्पदंशका घटना धेरै हुने हुँदा यसबाट जोगिन राति भुईंमा नसुत्न, रातको समयमा कतै हिँड्न परेमा टर्चलाईटको प्रयोग गर्न, बुट लगाउन र घर वरपर दाउरा, ईंट्टाको थुप्रो नराख्न उनले सल्लाह दिएका छन् ।

टिप्पणीहरू