को हुन् राकेश अडुकिया ? किन मोबाइल बन्द गरेर भागे उनका बाबु छोरा ?

को हुन् राकेश अडुकिया ? किन मोबाइल बन्द गरेर भागे उनका बाबु छोरा  ?

राजश्व अनुसन्धान विभागले विवादास्पद व्यवसायी राकेश अडुकिया पछिल्लो सुनकाण्डमा सँलग्न रहेको बलियो प्रमाण जुटाएको छ । यसअगावै उनका बाबुछोरा मोबाइल बन्द गरेर नेपालबाट फरार भएका छन् ।

जनआस्था साप्ताहिकले हिजै बिहान ‘सुन ल्याउने साहुजीको पाइनै लाग्यो सुराक’ शीर्षकमा निजको तस्विरसहित समाचार प्रकाशन गरेको थियो ।अडुकियाले पछिल्लो छ महिनामा गरेको हङकङ, दुबई,नयाँ दिल्ली र बैंककतिरको शंकास्पद यात्रा विवरण पनि हिजैको जनआस्था डट कममा प्रकाशित छ । 

४८ वर्षे राकेश सन् १९७५ को अगष्ट ९ का दिन काठमाण्डौंमा जन्मिएका थिए । उनले भारतीय नागरिकको हैसियतमा हङकङस्थित भारतीय महावाणिज्यदूतावासबाट उतैको नागरिकता र पासपोर्ट जारी गराएका छन् । 

उनले जेड ५०९७७३९ नम्बरको भारतीय राहदानी बोकेका छन् । हङकङमा उनको पारिवारिक लगानी रहेको रोयल सिल्भर हङ्गकङ्ग लिमिटेड’ छ । 

यता गोरखा विकास बैंकमा डुबेको रकम उठाएका राकेशले अरबौँ रकम आफू र परिवारको नाममा शेयरमा लगानी गरेका छन् । श्रीमती रुची अडुकिया (जाजोदिया) जेड ३०८५०३७ नम्बरको भारतीय राहदानी बोक्छिन् । उनको नाममा नेपाल रेमिटेन्स प्रा. लि.र टेस्ला गाडीको नेपालका निम्ति आधिकारिक शोरुम र लक्ष्मी बैंकको शेयरलगायत देखिन्छ । 
 

राकेशको विशेषगरी एमालेका ठूलाबडा नेताहरुसँग घनिष्ठ सम्बन्ध रहेको बुझिएकोछ । अन्य राजनीतिक दलका नेताहरुसँग पनि उनको उठबस प्रायः हुँदै आएको छ । एमाले नेतृत्वसँग भने उनको भेट र सम्बन्ध नेपाल राष्ट्र बैंकका एक जना तत्कालीन कार्यकारी निर्देशकले गराइदिएपछि झाँगिएको स्रोतको दाबी छ । 

उनै कार्यकारी निर्देशकको सामिप्यताका कारण राकेशले एमाले वरिष्ठ  नेताहरुसँग पनि पछिल्लो समय उत्तिकै घनिष्ट सम्बन्ध राख्दै आएका थिए ।

टिप्पणीहरू