प्रधानमन्त्री भोलि बिहान स्वदेश आइपुग्दै

प्रधानमन्त्री भोलि बिहान स्वदेश आइपुग्दै

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड साताव्यापी इटाली भ्रमण सम्पन्न गरेर भोलि बिहान स्वदेश फर्कंदै हुनुहुन्छ ।

संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि सङ्गठनद्वारा इटालीको रोममा आयोजित ‘फुड सिस्टम समिट प्लस टु’ मा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गत शनिबार त्यसतर्फ प्रस्थान गर्नुभएका उहाँ भोलि स्वदेश फर्किन लाग्नुभएको हो ।

भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले ‘फुड सिस्टम समिट’ लाई सम्बोधन गर्दै जलवायु परिवर्तन र अन्य प्रकोपसँग जुध्न र अनुकूलन क्षमता सुदृढ गर्न अतिकम विकसित देशहरूको कृषिमा लगानी बढाउनु जरुरी रहेको बताउनुभएको थियो । उहाँले ‘युनाइटेड नेसन्स फुड सिस्टम–२०२३ स्टकिङ मोमेन्ट’ लाई पनि सम्बोधन गर्नुभएको थियो ।  

सोत्र क्रममा प्रधानमन्त्री प्रचण्डले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेस, विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) का कार्यकारी निर्देशक किन्डी म्याकन, बंगलादेशका समकक्षी शेख हसिना, इन्टरनेशनल फण्ड फर एग्रिकल्चर (आइएफएडी) का प्रमुख डा. अल्भारो लाइरियो लगायतसँग पनि भेटवार्ता गर्नुभएको थियो ।

प्रधानमन्त्री नेतृत्वको भ्रमण दलमा स्वकीयसचिव एवम् छोरी गंगा दाहाल, कृषि तथा पशुपंक्षी विकासमन्त्री डा. बेदुराम भुसाल, राष्ट्रिय योजना आयोगका सदस्य डा. जयकान्त राउत, सुरक्षाकर्मी एवम् सञ्चारकर्मीलगायत सहभागी छन् ।

टिप्पणीहरू