पाँच बुँदे सहमतिसंगै रिटर्नीहरुको आन्दोलन स्थगित
वैदेशिक रोजगार विभागअन्तर्गत ईपीएस कोरिया शाखा र कोरिया रिटर्नी समूहबीच पाँच बुँदे सहमति भएको छ ।
पुनः कोरिया जान पाउने वातावरण बनाउनुपर्ने माग गर्दै आन्दोलनरत रिटर्नीहरुसंग शाखाले आज पाँच बुँदे सहमति गरेको हो । एचडीआर सर्भिस अफ कोरिया, ईपीएस सेन्टर नेपालको रोहबरमा भएको सहमतिमा रिटर्नीहरुलाई स्वस्फूर्त रुपमा ‘सिबिटी’ परीक्षामा सहभागी हुन दिनुपर्ने भनिएको छ ।
त्यस्तै, ‘सिबिटी’ लगायतका परीक्षा सञ्चालनमा कोही कसैले अवरोध नगर्ने र विभिन्न खालका मिथ्या समाचारमा दुवै पक्षले प्रतिवाद गर्ने उल्लेख छ । रिटर्नी समूहले राखेका मागहरुलाई कार्यान्वयनमा ल्याउन वैदेशिक रोजगार विभागले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमार्फत कुटनीतिक पहल गर्ने भएको छ ।
रोष्टरमा रहेका व्यक्तिहरुलाई छिटोभन्दा छिटो कोरिया पठाउन पहल गर्ने उल्लेख गर्दै सहमतिपत्रमा भनिएको छ,‘रोष्टरमा अधिकभन्दा अधिक संख्यामा रहेको अवस्थामा तत्काल अन्य परीक्षाहरु सञ्चालन नगर्ने वातावरणको सिर्जना गर्न पहल गर्ने ।’ साथै, रिटर्नी समूहले सामाजिक सञ्जालमार्फत अवाञ्छित सन्देश प्रवाह नगर्ने प्रतिबद्धता जनाएको छ ।
कसैले गैरजिम्मेवार रुपमा त्यस्ता गतिविधि गरेको पाइएमा रिटर्नी समूह जिम्मेवार नहुने तथा त्यस्ता क्रियाकलाप गर्ने व्यक्तिले नै कानुनी कारबाही भोग्नुपर्ने स्पष्ट पारिएको छ । आज भएको सहमतिसंगै रिटर्नी समूहको आन्दोलन स्थगित भएको छ ।
टिप्पणीहरू