'मौसमी कामका लागि विदेश लैजाने अनुमति छैन'
सरकारले मौसमी कामदारको रुपमा वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति नदिईएको स्पष्ट पारेको छ ।
दक्षिण कोरियालगायतका अन्य मुलुकमा मौसमी कामदारको भिसामा पठाइदिने भन्दै रकम ठगी गरेको विषय बाहिरिएपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले यस्तो जानकारी दिएको हो ।
मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेले विज्ञप्ति जारी गर्दै कसैले व्यक्तिगत वा संस्थागत रुपमा कोरियालगायत अन्य मुलुकमा मौसमी कामदार भिसामा पठाइदिने भनी रकम मागेमा सम्बन्धित निकायलाई त्यसको सूचना दिन भनेका छन् । हालै केही नेपालीलाई थाइल्याण्डबाट ट्राभल डकुमेन्टमार्फत म्यानमार पुर्याई अलपत्र पारेको, यातना दिएको समाचार प्रकाशित भएको भन्दै वैदेशिक रोजगार विभागबाट जारी हुने श्रम स्वीकृति मात्र आधिकारिक कागजात रहेकोले सो बाहेक अरु आधारमा वैदेशिक रोजगारीमा नजानसमेत मन्त्रालयले आग्रह गरेको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘केही एजुकेशन कन्सलट्रेन्सी तथा ट्राभल एजेन्सीबाट समेत वैदेशिक रोजगारमा पठाइदिने प्रलोभन देखाई ठगी गरेको उजुरीका आधारमा विगतमा अनुसन्धान तथा कानूनबमोजिम कारबाही गरी सो सम्बन्धमा सुसूचित गराइएकोमा पुनः त्यस प्रकृतिको ठगीका गुनासोहरु दोहोरिने गरेकोले नेपाल सरकारले खुला गरेका श्रम गन्तव्य मुलुकहरुमा केबल वैदेशिक रोजगार विभागमा कानून बमोजिम दर्ता भई नवीकरण भएका इजाजत प्राप्त संस्थामार्फत मात्र संस्थागत रुपमा वैदेशिक रोजगारीमा कामदार जानसक्ने कानूनी व्यवस्था भएकाले अन्य संस्थाहरुले वैदेशिक रोजगारीमा पठाउन गर्ने सबै प्रकारका कार्य गैरकानूनी हुने र सो कार्य गरेको पाइएमा कानूनबमोजिम कारबाही हुने जानकारी गराइन्छ ।’
मन्त्रालयले रोजगारीका लागि विदेश जान चाहने सबै नागरिकहरुलाई आधिकारिक सूचना एंव जानकारी लिएर मात्र विदेश जाने प्रक्रियामा सहभागी हुन अनुरोध गरेको छ । त्यस्तै, ठगीसम्बन्धी उजुरी वैदेशिक रोजगार विभागको श्रम कल सेन्टर फ्रि नम्बर ११४१, नजिकका श्रम तथा रोजगार कार्यालल, नेपाल प्रहरी, जिल्ला प्रशासन कार्यालय, स्थानीय तहको रोजगार सेवा केन्द्र, मन्त्रालयको फेसबुक पेन र निःशुल्क फोन नम्बर १६६००१५०००५ मा गर्न सकिने पनि जानकारी दिएको छ ।
टिप्पणीहरू