माग पूरा नभएसम्म सदन चल्न दिँदैनौं : एमाले

माग पूरा नभएसम्म सदन चल्न दिँदैनौं : एमाले

एक क्विन्टल सुन तस्करी प्रकरणमा गृहमन्त्रीको राजीनामा र उच्चस्तरीय छानबिन आयोग गठनको माग गर्दै प्रतिनिधिसभा बैठक अवरुद्ध गरिरहेको नेकपा एमालेले आज पनि संसद बैठक सुचारु गर्न दिएको छैन ।

सदनको अवरोध हटाउन सभामुखले बोलाएको कार्य व्यवस्था परामर्श समितिमा एमाले प्रतिनिधिले आफ्ना माग पूरा नभएसम्म सदन खोल्न नदिने अड्डी कसेका हुन् । एमाले सहमत नभएपछि बैठक बिना निष्कर्ष टुंगिएको छ ।

नयाँ बानेश्वरस्थित संघीय संसद भवनको शंकर हलमा सभामुख देवराज घिमिरेको अध्यक्षतामा बसेको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा, विभिन्न राजनीतिक दलका प्रमुख सचेतक तथा सचेतकहरुको उपस्थिति थियो । 

त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट बाहिरिएको एक क्विन्टल सुनको विषयमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै आएको एमाले सदन खुलाउन तयार नभएपछि हिजो बस्ने भनिएको प्रतिनिधिसभा बैठक सूचना टाँसेर स्थगित गरिएको थियो ।  

यसअघि साउन १० गतेको बैठकमा पनि एमालेले सोही माग राखेर बैठक अवरुद्ध गरेको थियो । संसद्को गत्यावरोध हटाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच पटक (पटक छलफल भएपनि सहमति जुट्न सकेको छैन ।

सभामुख देवराज घिमिरेले संसद बैठक सुचारुको निम्ति मार्ग प्रशस्त गर्न प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीलाई आज बिहान फोनवार्तामा अनुरोध गर्नुभएको छ ।

टिप्पणीहरू