मुलुकको पहिलो जलविद्युत केन्द्रलाई ऊर्जा संग्रहालय बनाइने
पाँचसय किलोवाट जडित क्षमताको फर्पिङ जलविद्युत केन्द्रलाई ऊर्जा संग्रहालयको रुपमा विकास गरिने भएको छ । नेपाल विद्युत प्राधिकरणको ३८औं वार्षिकोत्सवको अवसरमा जलविद्युत केन्द्रको परिसरमा आयोजित वृक्षरोपण कार्यक्रममा ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतको सामुन्ने सो जानकारी दिइएको हो ।
केन्द्रलाई जलविद्युत संग्रहालय र पर्यटकीयस्थलका रुपमा विकास गर्न एनइए इन्जिनियरिङ कम्पनीलाई परामर्शदाता नियुक्त गरेर प्राधिकरणले गुरुयोजना तयार पारिरहेको पनि बताइएको छ । ऐतिहासिक जलविद्युत केन्द्रलाई पर्यटनसँग जोडेर पुराना संरचनाको जीर्णोद्धार र खाली रहेको जग्गामा नयाँ संरचना निर्माण गरिने छ ।
काठमाडौंको दक्षिणकाली नगरपालिकास्थित केन्द्रको जलाशय र विद्युत गृह क्षेत्रमा रहेको जग्गामा हरियाली पार्क, रेस्टुरेन्ट, पसल, जिप लाइन, पिकनिक स्पट, पुस्तकालय, वालउद्यानलगायत संरचनाहरु निर्माण गरिने छन् । गुरुयोजना कार्यान्वयनका लागि करिब एक अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।
केन्द्रको स्वामित्वमा तीन सय २४ रोपनी जग्गा छ । पर्यटकीय संरचना निर्माणका लागि जलाशय क्षेत्रको ४६ रोपनी र विद्युत गृह क्षेत्रको करिब १ सय ४६ रोपनी जग्गा प्रयोग गरिने जनाइएको छ ।
मन्त्री बस्नेतले ऐतिहासिक महत्व बोकेको विद्युत केन्द्रलाई संरक्षण गरी जलविद्युत क्षेत्रका अध्येता, अनुसन्धानकर्ता तथा चासो राख्ने सबैलाई सन्दर्भ स्थान र इतिहासलाई बुझ्ने बुझाउने ठाउँका रुपमा विकास गरिनुपर्ने बताएका छन् । उनले केन्द्रबाट स्थानीय बासिन्दाको सामाजिक आर्थिक वृद्धि हुने खालका योजना तथा कार्यक्रम कार्यान्वयनमा ल्याइनुपर्नेमा जोड दिए ।
फर्पिङ जलविद्युत केन्द्र १९६८ जेठ ९ गतेदेखि औपचारिक रुपमा सञ्चालनमा आएको थियो । तत्कालीन राजा पृथ्वी वीर विक्रम शाहबाट टुँडिखेलमा बत्ती बालेर उद्घाटन भएको उक्त जलविद्युत् केन्द्रबाट राजपरिवार, राणापरिवारलगायतको घरमा बिजुली वितरण गरिएको थियो । राणा प्रधानमन्त्री चन्द्रशमशेरको शासनकालमा निर्माण भएकाले केन्द्रको नाम चन्द्रज्योति राखिएको थियो । करिब चार वर्ष लगाएर निर्माण गरिएको आयोजनाको लागत त्यतिबेलाको सात लाख १३ हजार रुपैयाँ थियो ।
केन्द्र २०३८ सालसम्म निरन्तर सञ्चालनमा थियो । तर त्यसपछि ललितपुरका विभिन्न क्षेत्रमा खानेपानी आपूर्तिका लागि जलाशयको पानी टर्बाइनमा प्रवेश नगराई प्रयोग गर्न थालेपछि विद्युतगृह बन्द भएको थियो । केन्द्रको मर्मतसम्भार गरी पुनः २०६३ पुसबाट आवश्यक परेको समयमा सञ्चालन गर्न सकिने गरी चालु हालतमा राखिएको छ ।
टिप्पणीहरू