कलियुगे कृष्णको कल्पना

कलियुगे कृष्णको कल्पना

कोरोना कहर । बाढीको वितण्डा । पहिराको पेलान । आर्थिक अस्तव्यस्तता । तैपनि आर्थिक वर्ष सकाएर कमिशन, पर्सेन्टेज फुत्काउनु छ कसैलाई । कोही सीधै टेबलमाथि नै । अदुअआले समाएको समायै छ तैपनि नेपाली जात अटेरी । अर्कालाई समाउँदा आफू परिएला भनी नचेत्ने कस्तो मति ?

सेना, प्रहरी, स्वास्थ्यकर्मी आफैँ कोरोनापीडित हुन थाले । खेलाडी, शिक्षक पनि । आफू त महादेव उत्तानटाङ, कसले देला वर ? सरकारी अस्पताल भरिभराउ, निजी अस्पतालले भर्ना लिन नमान्ने । शहरमै पनि अस्पताल चहार्दा चहार्दै मर्नुपर्ने, कस्तो विडम्बना ! पहिले व्यवसाय खोलाउन दवाव दिनेहरु आफैँ पसल थुनेर लुक्न थाले लौ । नेपालीको भागमा छ कूल ऋण रु. ४७ हजार । केले तिर्ने ? कतिलाई यतिबेला नै अनशन बस्नुपर्ने, कसैलाई हाम्फाल्न मन पर्ने, कसैलाई विष खान सकसक लाग्ने । काठमाडौँमै सङ्क्रमित एक हजार पुग्न लागे । राजधानी बल्ल त्राहित्राहि हुँदैछ । हिरोको पालो लाष्टाँ आउँछ भन्थे, हो रेछ । काठमाण्डु खुब हिरो पल्टेको थियो, अब कसरी सम्हाल्दो रेछ, हेरौँ न । फोहोरमा चुर्लुम्म डुबेर पनि पुगेन यसलाई । कोरोना भाइरसको महामारी, जातीय विभेद र राजनीतिक परिदृश्यले अमेरिकी पूर्वप्रथम महिला मिशेल ओबामालाई त लो ग्रेड डिप्रेशन भयो भने अरुको के कुरा ? राष्ट्रपति भवनतिरै गोली चलेर राष्ट्रपति लुक्नुपर्ने अवस्थाका अगाडि विश्व शान्तिको कुरा गर्नु पनि बेकार हो जस्तो लाग्छ ।

पहिले मुलुकभरि लकडाउन, अब कतै सटडाउन त कतै निषेधाज्ञा । ग्याष्ट्रिक पचाउने नेपालीले अदुवा, बेसार र तातोपानी खाएर कोरोनालाई पचाउँछ भन्थे, झन्झन् सल्केर उधुम पो मच्चायो । धेरै महिनापछि फेरि युवतीहरुमाथि तेजाब प्रहार भयो । लोग्नेमानिसहरु अरुको रुपप्रति कत्तिको ईष्र्यालु हुँदा रेछन् भने ती पनि अरु राम्रा भएको देखिनसक्ने ? “मेरी हुन सक्दिन भने त्यसलाई विरुप नपारी छाड्दिन” भन्ने बदलाको भावनाले तिनमा निकै घर गरेको हुँदोरेछ ।

अनि यी राम र बुद्ध कति चर्चित भएका ? पुराणमा वर्णित र इतिहासमा अङ्कित दुवैको सम्बन्ध नेपाल र भारत दुवैसँग हुनु, मिथक पात्र वास्तविक बन्नु, भारतको अयोध्यामा नरेन्द्र मोदीले मन्दिर शिलान्यास गर्नु र नेपालको माडी अयोध्यापुरी नै रामजन्मभूमि भनी शास्त्रीय रुपले कम्युनिष्ट प्रधानमन्त्रीले मान्नुमा रमाइलो संयोग छ । उत्तरआधुनिक कालमा इतिहासको पनि मृत्यु हुने रैछ । एक पटक मानिएको सत्य शाश्वत नहुने रैछ । केदारनाथको शिर पशुपतिनाथ मानिएकामा डोलेश्वर भइदियो, व्यासको जन्मस्थल हाम्र्रै दमौली बनिदियो, रावणको जन्म म्याग्दी होइदियो ।

लेनिन भन्थे, कम्युनिष्ट शासनमा सुन चर्पीलाई काम लाग्छ, किनभने सुनमा खिया लाग्दैन । पहेँलो धातु अचेल जमीनमा, आकाशमा तस्करी हुँदैछ जतिबेला यसको मोल रु. एक लाख नाघेको छ । हिंसा, जुवा, रक्सी र वेश्यामा बस्न नपुगेको ठान्ने कलिलाई राजा परीक्षितले अर्काे ठाउँ सुनमै बस किन भने ? जबकि उनकै मुकुट सुनले बनेको थियो । त्रेतायुगमा राम र रावण, द्वापरमा कृष्ण र कंसबीच युद्ध भए झैँ कलियुगमा कल्कि र कोरोनाबीच युद्ध हुने केही युट्युबले उल्लेख गरेका छन् । के अब कलियुगको अन्त्य हुन लागेकै हो त ?

टाउको एकातिर र गीँड एकातिर पारी मारेर टुक्राटुक्रा पारी सडकमा फाल्न सक्ने मान्छे पनि जन्मेकै रेछन् नेपालमा । उहिले वीरेन्द्रले ख्यातिलाई मारेर टुक्राटुक्रा पारी फ्रिजमा राखेको घटना फेरि सम्झायो ग्वँगबुँको हिजोअस्तिको घटनाले । अब क्रूरताको कुनै सीमा छैन र आश्चर्य पनि केहीमा लाग्दैन मान्छेलाई । पराकाष्ठा छ सबैतिर ।

विश्व राजनीति त्यति रोचक छैन जति आन्तरिक राजनीति छ । अमोनियम नाइट्रेटको विस्फोटनले सरकार ढलेको लेबनानको घटनाले हाम्रै सिंहदरबार जलेको(२०३० असार २५ ) र दशरथ रङ्गशाला थुनिएर(२०४४ फागुन २९) प्रधानमन्त्री कीर्तिनिधि विष्ट र शिक्षामन्त्री केशरबहादुर विष्टले राजीनामा दिएको घटना सम्झाएको छ । हामीकहाँ त्यसपछि पनि केही नैतिकताका कारण राजीनामा दिएका घटना भए पनि सामान्य नैतिकता नदेखाएका थुप्रै उदाहरण छन् । नेकपा बैठक नबस्ने, नेका महाधिवेशनको मुखमा विभागको गठन हुने । दुई तिहाइको सोह्र सालको नेका सरकार सत्र सालमा जाकियो, झण्डै दुई तिहाइको नेकपा सरकार कुन भँड्खालामा पर्ने हो, सबको नजर त्यतै छ । चार औँला काटे जस्तो ख्यालख्याल साम्यवादी नेताहरुलाई पार्टीहरुमा दरार ल्याउन, तिनका भाषाले मै हुँ भन्ने भाषाविद्लाई पनि जित्छ । प्रजातन्त्रवादीहरु विधान मिचेर लोकतन्त्र भट्टयाउँछन् र साम्यवादको भूत देखाएर जनतालाई तर्साइरहन खोज्छन् । नेकाले विभाग गठन भटाभट गरिसक्यो, नेकपाले चाहिँ प्रमुख–उपप्रमुख तोकेर विभाग भन्ने नै बिर्सिसक्यो । अरु दल त क्रियाको प्रतिक्रिया दिने खालका मात्र हुन्, भरोसा छैन ।

यदा यदा हि धर्मस्य ग्लानिर्भवति भारत ।
अभ्युत्थानमधर्मस्य तदात्मानं सृजाम्यहम् ।।४(७।।
परित्राणाय साधूनां विनाशाय च दुष्कृताम् ।
धर्मसंस्थापनार्थाय सम्भवामि युगे युगे ।।४(८।।

खै त नेपालमा नयाँ अवतार जन्मेको ? दुष्टहरुको विनाश गर्नेको अवतरण भएको ?
महाकविले पनि मर्ने बेलामा कृष्णलाई नै सम्झे–
रहेछ संसार निशा समान,
आएन ज्यूँदै रहँदा नि ज्ञान ।
आखिर रहेछ श्रीकृष्ण एक,
न भक्ति भो, ज्ञान, न भो विवेक ।

सबैतिर चरमावस्थाका बीच सेतो देवदत्त घोडामा चढेर आउने त्यो कल्कि अवतार जन्मने बेला त भइसक्यो । पृथ्वी र धर्मको उद्धार गर्ने ‘त्यो’ कहिले आउने हो, धैर्यको बाँध फुटिसक्यो ।

s[email protected]

 

टिप्पणीहरू