महासंघले भन्यो,‘शिक्षक–कर्मचारीको हकहितका लागि लड्न तयार छौं’
नेपाल शिक्षक महासंघले पुनः आन्दोलनको चेतावनी दिएको छ । सरकारले आफ्ना माग सम्बोधनमा आलटाल गरेको भन्दै महासंघले कडा आन्दोलनका कार्यक्रमसहित अघि बढ्ने उद्घोष गरेको हो ।
नयाँ संघीय शिक्षा ऐनले शिक्षक–कर्मचारीको सबै मागमुद्दा सम्बोधन गरी मुलुकमा गुणस्तरीय शिक्षाको विकास गर्नुपर्ने उल्लेख गर्दै महासंघले सरकारले आफूसंग आवश्यक सहकार्य र छलफल नगरेको गुनासो पोखेको छ ।
महासंघले विज्ञप्ति जारी गर्दै सरकारको उक्त कदम नेपाली शिक्षक–कर्मचारीका जायज मागमुद्दामाथि धोका वा षड्यन्त्रको लक्षण भएको धारणा व्यक्त गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विगतमा गरेका सबै सहमति कार्यान्वयन गर्नुपर्नेमा महासंघको जोड छ ।
त्यस्तै, महासंघले नयाँ ऐनमा स्थायी, राहत, साविक उमावि, बालकक्षा, अस्थायी–करार, विशेष शिक्षा, प्राविधिक धार, शिक्षण सिकाइ अनुदान, संस्थागत विद्यालयका शिक्षकलगायत सबैको माग समेट्न आग्रह गरेको छ ।
‘नयाँ ऐनले नेपाल शिक्षक महासंघ र नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबीच भएका विगतका सबै सहमतिको कार्यान्वयन गरी स्थायी, राहत, साविक उमावि, बालकक्षा, अस्थायी–करार, विशेष शिक्षा, प्राविधिक धार, शिक्षण सिकाइ अनुदान, संस्थागत विद्यालयका शिक्षकलगायत सबै खालका शिक्षक र विद्यालय कर्मचारीका मागमुद्दा सम्बोधन गर्न सक्नुपर्छ’, जारी विज्ञप्तिमा उल्लेख छ ।
महासंघले शिक्षक–कर्मचारीका मागमुद्दा र हकहितमाथि हुने कुनै पनि प्रकारको षड्यन्त्र र धोका सह्य नहुने जनाएको छ । साथै, महासंघले शिक्षक–कर्मचारीको हकहित, सुरक्षा र स्वाभिमानका निम्ति गर्न लागिएको आन्दोलनका लागि तम्तयार अवस्थामा रहन सम्बन्धित सबैलाई सुसूचित गराएको छ ।
विद्यालय शिक्षक–कर्मचारीले यसअघि पनि आफ्ना माग राख्दै राजधानीमा ठूलो आन्दोलन गरेका थिए ।
टिप्पणीहरू