बैंकमा पनि बिचौलिया र खेतालाको बिगबिगी

बैंकमा पनि बिचौलिया र खेतालाको बिगबिगी

गत वर्ष नेपाल बैंक लिमिटेड सञ्चालक समितिले सीईओ बनाउन पहल गर्दा उनले उमेर हदको कारण आफू भूगोलपार्क आउन नसक्ने बताएका थिए । तर तिनै बज्राचार्यलाई एक वर्षपछि ग्लोबलले एकाएक पानी पोखरी बोलाउनु र उनी पनि जान खोज्नुलाई अर्थपूर्ण मानिएको छ ।

नेपाल राष्ट्र बैंकले जारी गरेको यो वर्षको मौद्रिक नीति र साउन १२ गतेको एकीकृत निर्देशनलाई धोती लगाउँदै ग्लोबल आईएमई बैंकले चार्टर्ड एकाउण्टेण्ट तथा बैंकर रत्नराज बज्राचार्यलाई भोलिदेखि नयाँ सीईओ बनाउन लागेको छ ।

बैंकले गत वर्ष जारी गरेको नीति र निर्देशनमा वाणिज्य बैंकमा कार्यरत सीईओको उमेर ६९ वर्ष नाघ्न नहुने र ६५ वर्षभन्दा माथिकाले नियुक्ति समेत लिन नपाइने छ । तर, ६५ वर्षभन्दा माथिका बज्राचार्यको भोलिदेखि हुने भनिएको नियुक्ति सोझै केन्द्रीय बैंकको निर्देशनविपरित रहेको बताइएको छ ।

गत वर्ष नेपाल बैंक लिमिटेड सञ्चालक समितिले सीईओ बनाउन पहल गर्दा उनले उमेर हदको कारण आफू भूगोलपार्क आउन नसक्ने बताएका थिए । तर तिनै बज्राचार्यलाई एक वर्षपछि ग्लोबलले एकाएक पानी पोखरी बोलाउनु र उनी पनि जान खोज्नुलाई अर्थपूर्ण मानिएको छ ।

यसअघि सोही बैंकमा एक कार्यकाल सीईओ बनेका बज्राचार्य नियम विपरित हुँदाहुँदै किन ग्लोबल जाने खोजे वा उनैलाई लान खोजियो रु स्रोत भन्छ ‘राष्ट्र बैंकले साउन १२ गते जारी गरेको निर्देशनलाई गलत ब्याख्या गरेर उनी जान खोजेका हुन् । ग्लोबलका मुख्य लगानीकर्ताले पनि केन्द्रीय बैंकको निर्देशनलाई ह्याकुलाले पेलेर लान खोजेका हुन् ।’

राष्ट्र बैंक,नियमन विभागको एकीकृत निर्देशन २०७६ को इ. प्रा. निर्देशन नं. ६/०७६ को बुँदा नं. ४ को उप बुँदा (२) मा साउन १२ गते गरिएको संशोधनमा भनिएको छ ‘…. तर २०७८ असार मसान्तभित्र गाभ्ने/गाभिने तथा प्राप्ति प्रक्रिया सम्पन्न गरी एकीकृत कारोबार गर्नेगरी दुई वा दुईभन्दा बढी वाणिज्य बैंकहरू एकापसमा गाभ्ने/गाभिने तथा प्राप्ति प्रक्रियामा सहभागी भएमा एक पटकका लागि ६५ वर्ष उमेर नाघेको व्यक्ति बैंक तथा वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त÷पुनः नियुक्त हुन बाधा पर्ने छैन ।’

उक्त व्यवस्थाले ६५ वर्ष उमेर नाघेका रत्नराज ग्लोबल बैंकको प्रमुख कार्यकारी अधिकृत बन्न ‘दिउँसै रात पर्नुपर्ने’ केन्द्रीय बैंकका अधिकारीहरू बताउँछन् । उनीहरूका अनुसार ग्लोबल र जनता बैंक गत वर्ष मंसिर २० गतेको एकीकृत कारोबारपछि औपचारिक रूपमा मर्ज भएका हुन् । गत वर्षको मौद्रिक नीति र सोबमोजिमको एकीकृत निर्देशनमा उल्लेख भएका मर्जरसम्बन्धी व्यवस्था मात्रै ग्लोबल बैंकको हकमा लागू हुन्छ । यस पटकको मर्जरसम्बन्धी व्यवस्था चालु आर्थिक वर्ष मर्ज हुने बैंकहरूको हकमा मात्र लागू हुने हो ।

पछिल्लो निर्देशनले यहि साउन १ गतेदेखि आगामी असार मसान्तसम्म एकापसमा गाभ्ने/गाभिने तथा प्राप्ति प्रक्रियामा सहभागी हुने बैंकहरूको हकमा मात्र ६५ वर्ष नाघेका कुनैपनि व्यक्ति एक पटकको लागि प्रमुख कार्यकारी अधिकृत बन्न पाउने भनिएको हो । यदि यो वर्ष ग्लोबल फेरि अर्को कुनै वाणिज्य बैंकसँग एकापसमा गाभ्ने/गाभिने तथा प्राप्ति प्रक्रियामा सहभागी भएमा मात्र सीईओको लागि रत्नराज जान सक्ने र ग्लोबलले पनि लान मिल्ने हुन्छ । अन्यथा, कसैले टाउकै फुटाए पनि त्यो नमिल्ने वाणिज्य कानुनका विज्ञहरू बताउँछन् ।

तर, ग्लोबल बैंकका अध्यक्ष चन्द्र ढकालदेखि अन्य प्रभावशाली लगानीकर्ताहरू भने नियामक निकायले जे अर्थ लगाएपनि साउन १२ गतेको सर्कुलरले रत्नराजलाई ग्लोबल जान बाटो नछेक्ने अडानमा रहेको बताइन्छ । ग्लोबलमा अर्थमन्त्री युवराज खतिवडाको समेत राम्रै प्रभाव छ । उनको लगानी रहेको जनता बैंक गत वर्ष ग्लोबलमा मर्ज भएपछि लगानी स्वतः यता सरेको हो ।

साउन ३ गते मौद्रिक नीति घोषणालगत्तै जारी हुने निर्देशनको लागि ग्लोबल बैंकका प्रभावशालीहरूले रत्नराज बज्राचार्यलाई सीईओ बनाउन मिल्नेगरी आवश्यक व्यवस्था गर्न राष्ट्र बैंकको च्यानलमा पहुँच पुर्याएका थिए । एकीकृत निर्देशनमा गरिने संशोधनको व्यहोरा आफैँले लेखेर दिएका कारण उनीहरू उक्त व्यवस्था समावेश हुनेमा ढुक्क थिए ।

तर, केन्द्रीय बैंकका केही उच्च अधिकृत तथा अधिकारीहरूले ‘चालु आर्थिक वर्षसँगै यसअघि मर्ज भएका बैंकको हकमा पनि लागू हुने’ भन्ने ग्लोबलको वाक्यांश हटाइदिएका कारण रत्नराजलाई यतिखेर ग्लोबल बैंकको सीईओ हुने बाटो थुनिएको हो । तर, ग्लोबलका उच्च अधिकारी र बज्राचार्यले समेत १२ गतेदेखि आजको तीन हप्तासम्म उक्त व्यवस्थाप्रति राम्रोसँग ध्यान नदिएको स्पष्ट हुन्छ ।

ग्लोबल -रत्नराज कनेक्सन

नेपाल राष्ट्र बैंकबाट साँढे दुई दशकअघि सेवानिवृत्त रत्नराज पुरानो पुस्ताका चार्टर्ड एकाउण्टेण्ट हुन् । उनले लामो समयदेखि कमलपोखरीबाट धोबीधारा निस्कने बाटोमा म्याक कन्सल्ट्यान्ट्स चलाउँदै आएका छन् । गभर्नर महाप्रसाद अधिकारीले २५ वर्षअघि मद्रासबाट चार्टर्ड एकाउण्टेन्सी उत्तिर्ण गरी बैंकको अधिकृत द्वितीयमा सोझै पदोन्नत भएपछि बज्राचार्यले बिहान बेलुकी त्यहि म्याकमा ‘पार्ट टाइम जब’ दिएका थिए । त्यसैले धेरै चार्टर्ड एकाउण्टेण्टले झैँ अधिकारीले पनि बज्राचार्यलाई गुरु मान्दै आएका छन् ।

अहिले एकाएक उनी गभर्नर बनेपछि पुरानो कनेक्सनको फेरो समाएर राष्ट्र बैंकको उपल्लो तहमा सोझो सम्बन्ध बनाउन ग्लोबलले गतिलो खेतालाको खोजी गर्ने क्रममा रत्नराजलाई सीईओमा नियुक्त गरेको बताइएको छ । तर, एकीकृत निर्देशनमा राष्ट्र बैंकका कर्मचारीले पूर्व जानकारी हुँदाहुँदै पनि ‘चालु आर्थिक वर्षसँगै यसअघि मर्ज भएका बैंकको हकमा पनि लागू हुने’ वाक्यांश छुटाइदिएको कारण उनीहरूको योजना नै धरापमा पर्न गएको छ ।

गौंडैपिच्छे मान्छे

मारवाडीलगायतका महत्वाकांक्षी उद्योग व्यवसायीले महत्वपूर्ण सरकारी निकायमा आफ्ना मान्छे (बिचौलिया) राखेर काम सल्टाउने फर्मुला यतिखेर ग्लोबल बैंकका अध्यक्ष तथा उद्योग वाणिज्य संघका उपाध्यक्ष चन्द्र ढकालले पनि अपनाउन थालेको बुझिएको छ । यसअघि आङछिरिङ्ग शेर्पाले आफ्नो ब्यवसायमा प्रत्यक्ष प्रभाव र असर पर्ने पर्यटन मन्त्रालयअन्तर्गतका नागरिक उड्डयन प्राधिकरण,नेपाल वायुसेवा,पर्यटन बोर्ड,नेपाल ट्रस्ट र स्वयं मन्त्रीमा आफ्नो अनुकूलको मान्छेलाई नियुक्ति दिलाउँथे ।

विगतमा भाइ हेमराजका ससुरा तथा काँग्रेस निकट सचिव रामहरि अर्याललाई राष्ट्रपति रामवरण यादवका प्रारम्भिक दिनहरूमा सहयोग पुर्याउन राष्ट्रपति कार्यालय लगियो । तिनै अर्यालले शीतल निवास पूर्ण रूपले तयार नहोउञ्जेल ढकालको धापासीस्थित घरलाई राष्ट्रपतिको सरकारी निवास बनाएका थिए ।

सेवानिवृत्तपछि राष्ट्र बैंक सञ्चालक समिति सदस्यमा नियुक्त गर्न लगाई पाँच वर्षसम्म केन्द्रीय बैंकको सम्भावित अवरोधलाई उनै अर्याललाई ढाल बनाएर छेक्न लगाए । अहिले अर्याल ज्वाईंको आईएमई लाईफ इन्स्योरेन्समा अध्यक्ष छन् ।

लामो समयदेखि रोकिएको त्यहि लाइफ कम्पनी खोल्न चार वर्षअघि बागलुङका एमाओवादी नेताहरूको सहयोगमा प्रचण्डलाई प्रयोग गरी बागलुङ घर भएका राष्ट्र बैंकका निर्देशकलाई बीमा समितिको अध्यक्ष बनाए । तिनै अध्यक्षले यसबीचमा उनको सबै काम कुनै कसर बाँकी नराखी सिनित्त पारिदिएका छन् ।

ढकालले केही समयअघि राष्ट्रपतिलाई आफूले सानैमा पढेको गाउँको विद्यालयको कार्यक्रममा सहभागी गराउने नाउँमा महामहिमसँग एउटै हेलिकोप्टर चढी बागलुङ पुगेर सबैलाई हैसियत देखाइदिएका थिए ।

टिप्पणीहरू