सार्वजनिक यातायातमा महिलामाथिको दुर्व्यवहार झन् डरलाग्दो

सार्वजनिक यातायातमा महिलामाथिको दुर्व्यवहार झन् डरलाग्दो
सुन्नुहोस्

ओखलढुङ्गाकी सरस्वती बस्नेत भक्तपुरको सूर्यविनायक बस्छिन् । गत असार २५ गते राजधानीको सार्वजनिक यातायातमा यात्रा गर्दा उनलाई निकै असहज महशुस भयो । ललितपुरको सातदोबाटोमा काम गर्ने उनी भक्तपुर–कलंकी रुटको बस चढेकी थिइन् । खचाखच यात्रुको भीडमा उनी पछाडिको सीटमा बसेकी थिइन् । 

उनीसँगै बसेका एक पुरुषले हात हल्लाएझैँ गरेर उनको शरीर छुन खोजिरहन्थे । उनका अनुसार ती पुरुष कहिले खल्तीबाट मोबाइल निकालेझैँ गर्थे, कहिले राखेकोझैँ । त्यस्तो व्यवहारबाट उनलाई निकै असहज महशुस भयो । पुरुष यात्रुलाई सोझो भएर बस्न आग्रह गरिन् । तरपनि उनको हर्कत रोकिएन । उनले चालकलाई गुनासो गरिन् । बसमा भएका सबै यात्रुले कराउन थालेपछि पुरुष कौशलटारमा ओर्लिए । 

तर, महिलाले उक्त घटनाबारे प्रहरीमा उजुरी दिइनन् । ‘उजुरी दिएर किन झमेलामा पर्नुजस्तो भयो, त्यसैले उजुरी गरिन,’ बस्नेतले भनिन् । त्यस्तै एक किशोरीले पनि त्यस्तै घटनाको सामना गरेको बताएकी छन् । बानेश्वरबाट भक्तपुर जान बस चढेकी उनीसँग अस्वाभाविक रुपमा पुरुष यात्रु टाँसिए । 

शुरुमा उनले सामान्य भएको ठानिन् । तर, ती पुरुषको अनैतिक हर्कत रोकिने छाँटकाँट नदेखिएपछि उनी कराइन् । ठूलो स्वरमा कराएपछि आफूमाथि दुव्र्यवहार भएको बताइन् । यात्रुहरुले ती पुरुषलाई गाडीबाट ओरालिदिए ।

यी त केही उदाहरण मात्रै हुन् । सार्वजनिक यातायातमा यात्रा गर्ने हरेक महिलाले कुनै न कुनै खालको यौन दुर्व्यवहार खेप्नुपरेको छ । महिलामाथि हुने गरेका कैयौं हिंसामध्ये सार्वजनिक यातायातमा हुने हिंसा पनि एक हो । त्यसमाथि १५ देखि २५ वर्ष उमेर समूहका किशोरी तथा युवतीहरु सबैभन्दा धेरै पीडित हुने गरेको पाइन्छ ।

अहिलेको युगमा पनि महिलाहरु हाम्रा सडकमा गुड्ने सार्वजनिक यातायातमा निर्धक्कसँग यात्रा गर्न सक्ने वातावरण बनेको छैन । काठमाडौं, ललितपुर र भक्तपुर रुटमा चल्ने बसमा महिलामाथि धेरै नै हिंसा हुने गरेको छ । 

भीडको बहाना बनाएर महिला तथा किशोरीको संवेदनशील अंगमा हेर्ने, छुने र अश्लील शब्दको प्रयोग गर्ने हर्कत भइरहको गुनासो सुनिन्छ । बसमा हुने यौनहिंसा सहन नसकेर कतिपय महिला बीच बाटोमै ओर्लिएका पनि छन् । 

नियमित रुपमा सार्वजनिक यातायात प्रयोग गर्ने हरेक महिलासँग यौन दुर्व्यवहारको अनुभव छ । कतिपयले प्रतिवाद गर्छन् भने बोल्न नसकेर गन्तव्यमा नपुग्दै गाडीबाट ओर्लिएर अर्को सवारी साधन चढेका पनि भेटिन्छन् । नेपाल प्रहरीको तथ्याङ्कअनुसार पछिल्लो दुई वर्षमा सार्वजनिक यातायातमा महिला तथा किशोरीहरुमाथि यौनजन्य दुर्व्यवहार गर्ने एक हजार ९७० जना पक्राउ परेका छन् । 

आर्थिक वर्ष २०७८÷७९ मा मात्रै एक हजार ५७३ जना पक्राउ परेका थिए । महानगरीय प्रहरी कार्यालय रानीपोखरीबाट खटिएको टोलीले अश्लील हर्कत गर्ने ३० जना, शारीरिक यौनजन्य दुर्व्यवहार गर्ने ७४ जना, अपशब्द र अश्लील गाली गर्ने सात जना तथा अन्य हर्कत गर्ने एक हजार २३४ जनालाई नियन्त्रणमा लिएको बताइन्छ । 

त्यस्तै, मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर र सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीबाट खटिएको टोलीले उक्त अवधिमा अश्लिल हर्कत गरेका एक÷एक जनालाई पक्राउ गरेको थियो । 

यता, लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङले त्यस्ता हर्कत गरेका ८९ जना, शारीरिक यौनजन्य दुर्व्यवहारमा संलग्न ११ जना र अपशब्द अश्लिल गाली गर्ने ११३ जना र अन्य विविधमा १४ जनालाई समातेको तथ्याङ्कमा उल्लेख छ । 

प्रहरीले पक्राउ परेकामध्ये एक हजार ३४५ जनालाई परिवारको जिम्मा लगाउँदै ४७३ जनाविरुद्ध मुद्दा दायर गरेको छ । गत आर्थिक वर्ष २०७९÷८० मा सार्वजनिक यातायातमा महिला तथा किशोरीमाथि दुर्व्यहार गरेका तीन सय ९७ जना समातिएका हुन् । 

त्यसमध्ये महानगरीय प्रहरी कार्यालय रानीपोखरीबाट खटिएको टोलीले अश्लील हर्कत गरेका १६५ जना, शारीरिक यौनजन्य दुर्व्यवहार गरेका १२७ जना र अन्य १०४ जनालाई नियन्त्रणमा लिएको जनाएको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले अश्लिल हर्कत गरेका एक जना र अपशब्द अश्लील गालीगलौज गर्ने एक जनालाई पक्रेको बताएको छ । तीमध्ये ९० जनालाई प्रहरीले आफन्तको जिम्मा लगाएको छ । त्यस्तै, ५५ जनाविरुद्ध मुद्दा दायर गरिएको हो । 

सार्वजनिक यातायातमा महिला तथा किशोरीमाथि हुने यौनजन्य हिंसा न्यूनीकरणका लागि प्रहरीले २०७४ सालदेखि ‘सेफ्टी पिन’ अभियानसमेत सञ्चालन गर्दै आएको छ । महिला र बालबालिकामाथि हुने यौनजन्य हिंसा र दुर्व्यवहार नियन्त्रण गर्न प्रहरीले उपत्यकाका तीन वटै जिल्लामा सादा पोशाकका प्रहरीलाई खटाउने गरेको जानकारी दिएको छ । 

साथै, सार्वजनिक सवारीसाधनमा हुने भीडभाडदेखि रुख–झाडीका छेउछाउ, सार्वजनिकस्थल, पैदल र सवारी रुटलाई केन्द्रित गरेर प्रहरी समेत परिचालन गर्दै आइरहेको बताइन्छ । यद्यपि, अहिलेपनि सार्वजनिक यातायातमा महिला तथा किशोरीहरुमाथि हुने यौनजन्य दुर्व्यवहार रोकिन सकेको छैन । 

नेपाल प्रहरीका प्रवक्ता तथा प्रहरी नायव महानिरीक्षक कुवेर कडायत सार्वजनिक यातायातमा आफूमाथि दुर्व्यवहार भएको थाहा हुँदाहुँदै पनि महिला, किशोरी वा युवतीहरुले उजुरी गर्न नसकेको बताए । उनका अनुसार कतिपय पीडित प्रहरीको सम्पर्कमै आउन मान्दैनन् । आए पनि किटानी जाहेरी दिन अन्काउन उनको भनाइ छ । 

‘अभियानमा खटिएको सादा पोशाकको प्रहरीले पीडकलाई पक्रेर त ल्याउँछ । तर, अधिंकाश घटनामा पीडितबाट जाहेरी आउँदैन,’ उनले भने, ‘एक दिन थुने भइगयो अब यसो गर्दैन भनेर पीडित आफैंले छाड्न लगाउँछन् ।’

जाहेरी नपरेका पीडकलाई कतिपय अवस्थामा अन्य मुद्दा लगाएर भएपनि प्रहरीले कारबाहीको दायरामा ल्याउने गरेको उनी बताउँछन् । ‘१५ वर्षदेखि २५ वर्ष उमेर समूहका बालिका, किशोरी र युवतीहरु सार्वजनिक यातायातमा यौनजन्य हिंसाबाट पीडित हुने गरेको पाइएको छ । तर, पीडितले समाजले र घरपरिवारले के भन्ला भनेर पनि उजुरी नदिने गरेको पाइएको,’ प्रवक्ता कडायतले भने । 

पीडितले पहिलोपटक भएकाले उजुरी नदिने गरेको उनको बुझाई छ । भन्छन्, ‘सार्वजनिक यातायातमा हुने दुर्व्यवहार पनि अन्य यौनजन्य दुर्व्यवहारभन्दा कम होइन भन्ने चेतनाको कमी देखिएको छ । यो अपराध हो । पीडितहरुले कतिपय अवस्थामा पहिलो पटक भनेर छाडिदिने गर्छन् । यसो गर्नाले पीडकको मनोबल बढ्छ । उसले पटकपटक त्यस्तो हर्कत दोहोर्याउँछ । त्यसैले, आफूमाथि दुर्व्यवहार भएको थाहा पाउनेबित्तिकै प्रतिवाद गर्नुपर्छ र प्रहरीमा उजुरी दिनुपर्छ ।’

महिला तथा किशोरीहरुमाथि हुने यस्ता यौनजन्य हिंसा न्यूनीकरण तथा आफूमाथि दुर्व्यवहार भएमा प्रहरीमा उजुरीका लागि प्रेरित गर्ने उद्देश्यले विद्यालय तथा सार्वजनिक स्थलमा जनचेतनामूलक कार्यक्रम गर्दै आएको उनको दाबी छ । सार्वजनिक यातायातमा आफूमाथि कसैले दुर्व्यवहार गरेमा तत्काल प्रहरीमा सम्पर्क गर्न उनले सम्बन्धितलाई आग्रह गरेका छन् ।

टिप्पणीहरू