भुक्तानीका लागि ठेकेदारहरुले पाँच दिन सिठ्ठी फुक्ने, रकम नरोकिएको सरकारी दाबी
निर्माण सम्पन्न भएका आयोजनाहरुको अरबौं रकम भुक्तानी नपाएको भन्दै चरणबद्ध आन्दोलनमा उत्रिएका निर्माण व्यवसायीहरुले पाँच दिनसम्म सिठ्ठी जुलुस निकाल्ने भएका छन् ।
निर्माण व्यवसायी महासंघको अगुवाइमा उनीहरुले सिट्ठी जुलुसको कार्यक्रम अघि सारेका हुन् । घोषित विरोध कार्यक्रमअनुसार भोलिदेखि शुक्रबारसम्म महासंघको अनामनगरस्थित कार्यालयबाट नयाँ बानेश्वरको संसद भवन अगाडिसम्म सिठ्ठी जुलुस निकालिने छ । हरेक दिन बिहान ९ बजेबाट जुलुस निकाल्ने र संसद भवन अगाडि पुगेर सभा गर्ने महासंघले जनाएको छ ।
सरकारले रोकेको भुक्तानी तत्काल दिनुपर्ने, सम्पूर्ण आयोजनाको एकमुष्ठ म्याद थप हुनुपर्नेलगायत ९ बुँदे मागसहित आन्दोलन गरिरहेका ठेकेदारहरुले यसअघि प्रधानमन्त्री निवास बालुवाटार घेराउ गर्नुका साथै संसद भवन अगाडि धर्नासमेत दिएका थिए ।
तर, सरकारले ठेकेदारहरुलाई दिनुपर्ने भुक्तानी रकम नरोकिएको जनाएको छ । उनीहरुले भुक्तानी रोकिएको भन्दै आन्दोलन गरे पनि प्रक्रिया पुगेका बिलहरुको भुक्तानी भइसकेको जनाइएको छ ।
अर्थ मन्त्रालयका प्रवक्ता धनिराम शर्माका अनुसार त्यस्ता बिलको कुनै पनि भुक्तानी रोकिएको छैन । कुनै पनि सरकारी अड्डामा भुक्तानीका लागि प्रक्रिया र नियमानुसार पेश भएका बिलको सोहीबमोजिम भुक्तानी भएको उनको भनाई छ ।
टिप्पणीहरू