सहमतिपछि गौर हत्याकाण्ड पीडितहरुले आन्दोलन रोके
गौर हत्याकाण्ड पीडित संघर्ष समितिको आन्दोलन स्थगित भएको छ । सरकारसँग पाँच बुँदे सहमतिपछि आन्दोलनका कार्यक्रम स्थगित भएको बताइएको छ ।
भर्खरै गृह मन्त्रालयमा भएको गौर हत्याकाण्ड पीडित संघर्ष समितिका प्रतिनिधि र सरकारी प्रतिनिधिहरुबीचको छलफलपछि पाँच बुँदे निर्णय भएको हो ।
सहमतिमा उक्त घटनाको विषयमा तत् समयमा दर्ता भएका जाहेरी समेतलाई छानबिन र अनुसन्धान गरी तथ्य र प्रमाणको आधारमा दोषीलाई कानूनबमोजिम कारबाहीको प्रक्रिया अघि बढाउन सरकार तयार रहेको उल्लेख छ ।
त्यस्तै, गौर घटनामा मृत्यु भई शहीद घोषणा गरिएका व्यक्तिको विवरण राजपत्रमा प्रकाशित गर्नुका साथै शहीद घोषणा हुन छुटेका मृतकहरुलाई शहीद घोषणा गर्न प्रक्रिया अघि बढाउने सहमति भएको छ ।
यस्तै घटनामा मारिएकाहरुको स्मृतिमा रौतहटमा शहीद स्मारक स्तम्भ निर्माण कार्य यसै वर्षबाट अघि बढाइने, घाइते तथा हालसम्म उपचाररतको निम्ति उचित प्रबन्ध गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई अनुरोध गर्ने एवम् आर्थिक सहायता उपलब्ध गराउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अनुरोध गर्ने सहमति भएको जनाइएको छ ।
टिप्पणीहरू