एक्ली नारी, मेयरलाई भारी
– आशिका लम्साल
एक्ली निमुखा नारी इन्दिरा चापागाईं विराटनगर महानगरका मेयर नागेश कोइरालालाई भारी परेकी छन् । बरगाछीस्थित गोग्राहा कलेजलाई महानगरले बजेट उपलब्ध गराउन हुँदैन भन्दै तीन महिनादेखि मूलगेटमा बाहिर शान्तपूर्वक धर्ना बस्दै आएकी ५२ बर्षिया इन्दिरालाई साउन १५ गते प्रहरी मार्फत पक्राउ गरेर मुद्दा चलाउन लगाएपछि उनी भारी परेकी हुन् । आफूलाई शुसासनको अभियन्ता बताउँदै भ्रष्टाचार र कुशासनको विरोधमा पनि एक्लै धर्ना बस्दै आएकी इन्दिरालाई थुनाएपछि मेयर कोइरालाको चौतर्फी आलोचना भैरहेको छ । इन्दिराले गर्दा आफूले मूलगेटबाट कार्यालय जान नपाएको, कामकाजमा बाधा पुगेकोे, आफूलाई निरन्तर धाकधम्कीपूर्ण एसएमएस पठाउने गरेको र देख्नेवित्तिकै गालीगलौज गरेर थुक्ने गरेकोले बाध्य भएर पक्राउ गर्नुपरेको उनको दाबी छ ।
यता इन्दिरा पक्राउ परेको बिषयमा विराटनगरका सुकिलामुकिला अधिकारकर्मीहरूले मौनता साँधेका छन् । मानव अधिकारकर्मीहरू समेत चुप छन् । केहीले इन्दिरालाई मनोरोगी पनि भन्ने गरेका छन । तर मनोरोगी हो भने अस्पताल भर्ना गरेर उपचार गराउनु पर्नेमा उल्टो प्रहरी खोरमा थुनाएर मेयरले अत्याचार गरेको भन्दै विरोध पनि भैरहेको छ ।
साउन १५ गते धर्नास्थलबाटै पक्राउ गरेकी इन्दिरालाई जिल्ला प्रहरी मोरङको हिरासतमा राखिएको छ । पहिले ७ दिन र सोमवार फेरि ८ दिनको म्याद थप गरिएको छ । ७ दिनको म्याद सकिएपछि माफी मागेमा छाडिदिने भनिएको थियो । कट्याककुटुक ४० केजी जति तौल भएकी दुब्लीपातली इन्दिरा आफू धर्नामा ।
२०७१ सालमा विराटनगरको बरगाछीस्थित गोग्राह माविको सर्वसम्मत अध्यक्ष चयन भएकी थिइन् । त्यो बेला उनी भ्रष्टाचार छानविन गराउन अख्तियार समेत पुगेकी थिइन् । अनसन पनि बसेकी थिइन् । भ्रष्टाचारको विरोध गर्दा तात्कालिन प्राचार्य बलबहादुर भुजेलले गालीगलौज गरेपछि अदालत गुहारेर एक सय रुपैया क्षतिपूर्ति पनि भराइन् । बिद्यालय व्यवस्थापन समितिको अध्यक्षबाट हटेपछि निरन्तर सुशासनको पक्षमा हातमा नेपालको झण्डा र टाउकोमा रातो फेटा बाँधेर प्रदर्शन गर्दै आएकी थिइन् ।
पछिल्लो समय महानगरमार्फत सञ्चालित गोग्राह माविकै संरचना प्रयोग गरेर निजी कलेज चलिरहेको र त्यसलाई महानगरले सामुदायिक भनेर हरेक बर्ष बजेट उपलब्ध गराउँदै आएको भन्दै इन्दिरा प्रदर्शनमा उत्रिएकी हुन् । भाडाको कोठामा बस्दै आएकी इन्दिराका श्रीमान निजी स्कूलको बस कुदाउँछन् । एक छोरी उच्च शिक्षा पढदैछिन् । पहिले जनसाँस्कृतिक संघ मोरङको सदस्यसमेत रहेकी इन्दिरा कविका रुपमा पनि चिनिन्थिन् । आजकल आफू बसोवास गर्ने महानगरको ५ नम्बर वडा कार्यालयमा सामान्य लेखापढिको काम पनि गर्छिन् ।
टिप्पणीहरू