स्विट्जरल्याण्डका कार्यवाहक राजदूतको टोली महाकाली नदी छेउ
नेपालस्थित स्विट्जरल्याण्ड दूतावासका कार्यवाहक राजदूत नेतृत्वको टोली सुदूूरपश्चिमको धनगढी पुगेको छ । टोली आजै बिहान पौने ९ बजे बुद्ध एअरको उडानमा काठमाडौंबाट त्यता गएको थियो ।
छ जनाको टोलीमा दूतावासको तर्फबाट तीन जना र स्वीस एजेन्सी फर डेभलपमेन्ट कर्पोरेसन (एसडीसी) का तर्फबाट तीन जना छन् । उनीहरु बिहान धनगढी पुगेपछि होटल रुबसमा झोला राखेर सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहसँग भेटघाट गर्न मुख्यमन्त्रीको कार्यालय पुगेका थिए । बिहान ११ बजेदेखि १२ बजेसम्म भएको भेटपछि टोली मध्यान्ह महेन्द्रनगर प्रस्थान गरेको थियो । दिउँसो साढे १ बजेदेखि २ बजेसम्म शुक्लाफाँटास्थित जंगल रिसोर्टमा लञ्च खाएर उनीहरुले शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज भ्रमण गरेको बताइएको छ ।
कार्यवाहक राजदूत माथिआस मेइएरको टोलीमा दूतावासकी वरिष्ठ कार्यक्रम अधिकृत डा. उषा भण्डारी,वरिष्ठ कार्यकारी कार्यालय व्यवस्थापक निर्जला श्रेष्ठ छन् । त्यसैगरी एसडीसी प्रोजेक्टका तर्फबाट डा. कुष्माकर भट्ट, उद्धव सुवेदी र डिल्ली भट्ट उक्त टोलीमा सदस्य छन् ।
शुक्लाफाँटा निकुञ्जको भ्रमणपछि उनीहरुले महेन्द्रनगरदेखि दोधारा चाँदनीसम्मको लामो झोलुङ्गे पुलको अवलोकन भ्रमण गरेका हुन् । उक्त पुल एसडीसीको सहयोगमा बनाइएको थियो । त्यहाँबाट कार्यवाहक राजदूतको टोली धनगढी फर्केर साँझको डिनरको लागि थारु कटेज रेष्टुराँ जाने कार्यक्रम भएको स्रोतले बतायो ।
भोलि बिहान सवा ८ बजे सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयमा कार्यक्रम राखिएको छ । मन्त्री भपटबहादुर साउँद र एसडीसीका प्रमुखले कार्यक्रमको अध्यक्षता गर्ने बताइएको छ । त्यसपछि मन्त्री साउँदसँग टोलीले बिहान १० बजे छुट्टै भेटवार्ता गर्ने छ ।
साढे १० बजेदेखि १२ बजेसम्म धनगढीका केही विद्यालयको भ्रमण, अवलोकनपछि स्विस दूतावासको टोलीले होटलमा दिवा भोजन गर्ने जानकारी दिइएको छ । दिउँसो १ बजेदेखि साढे ३ बजेसम्म स्थानीय औद्योगिक अवस्थाको जानकारी लिएपछि उनीहरु साँझ ६ बजे बुद्ध एअरको उडानमा काठमाडौं फर्कनेछन् ।
टिप्पणीहरू