‘रातो र कालो प्लेटका सवारी साधनको हैसियत एउटै हो सरकार ?’
निजी प्रयोजनका लागि दर्ता भएका सवारी साधनले यात्रु बोकेको विरोधमा यातायात व्यवसायी तथा चालकले आन्दोलन शुरु गरेका छन् । मजदुर चालक स्वतन्त्र संघर्ष समितिको आयोजनामा काठमाडौंको मीनभवनस्थित यातायात व्यवस्था विभाग अगाडि ‘विरोध सभा’ गरिएको छ ।
उनीहरुले डेढ सयभन्दा बढी ट्याक्सी सडकमा तेर्साएर निजी गाडीलाई यात्रु बोक्न दिन नहुने माग गरेका छन् । त्यसैगरी नेपाली भूमिमा काम गर्ने भारतीय गाडीलाई पनि उक्त कार्यमा निषेध गर्नुपर्ने उनीहरुको माग छ ।
काठमाडौं उपत्यकामा ट्याक्सी व्यवस्थापन गर्नुपर्ने र ट्राफिक प्रहरीद्वारा भइरहेको साँचो खोस्ने, चालकलाई दुर्व्यवहार गर्ने कार्य तत्काल बन्द गर्नुपर्नेमा ट्याक्सी चालकहरुको माग छ । उनीहरुले अंग्रेजी इम्बोस्ड नम्बर प्लेट खारेज गर्न, नेपाली अंक र पहिचानसहितको जिपिएस नम्बर कायम गर्न, नेपालभर ट्याक्सीको एउटै भाडादर कायम गर्न प्रदर्शनकारीले सरकारलाई आग्रह गरेका हुन् ।
मीटरको सिल चुडिँदा गाडी साहु र चालक जेल जानुपर्ने कानुन खारेज गर्नुपर्ने, दुर्घटनामा परेकाको उपचार खर्च राज्यले व्यहोर्नुपर्ने र मृत्यु भएमा २५ लाख रुपैयाँको राहत प्रदान गर्नुपर्ने माग अघि सारिएको छ । त्यसैगरी पठाओलगायत एप खारेज गर्न, अनलाइन र मीटरको भाडादर बराबर कायम गर्न, सेतो, पहेँलो, हरियो, नीलो, रातो र कालो नम्बर प्लेटको सम्मान गर्न उनीहरुले सरकारसमक्ष आग्रह गरेका छन् । एक जना आन्दोलनकारीले भने, ‘सबैको एउटै काम हो भने किन फरक फरक रंगका नम्बर प्लेटको व्यवस्था गर्नु ? रातो र कालो प्लेटका सवारी साधनको हैसियत एउटै हुन सक्छ ?’
प्रदर्शनकारीहरुले ‘सम्पूर्ण सवारी साधन चालकहरुलाई समान व्यवहार गरियोस्, ‘उपत्यकामा आवश्यकताअनुसार ट्याक्सी स्ट्याण्डको व्यवस्था गरियोस्’, ‘ट्याक्सी एकता जिन्दावाद, ट्राफिक ज्यादती बन्द गरियोस्’, ‘यातायात भ्रष्टाचारी दलालदेखि होशियार ! हाम्रो माग पूरा गर’, लगायत प्लेकार्ड बोकेर चर्को नाराबाजी गरेका छन् ।
टिप्पणीहरू