चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा दरखास्त आह्वान
चिकित्सा शिक्षा आयोगको रिक्त उपाध्यक्ष पदमा नियुक्तिका लागि आवेदन खुलाइएको छ । नियुक्तिका सिफारिस गर्न गठित समितिले आवेदन माग गरेको हो ।
समितिले योग्यता पुगेका अनुभवी नेपाली नागरिकले आगामी १५ दिनभित्र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय सिंहदरबारमा कार्यालय समयभित्र निवेदन पेश गर्न सक्ने जनाएको छ ।
उपाध्यक्ष हुनका लागि मान्यताप्राप्त विश्वविद्यालयबाट चिकित्सा शास्त्रको कुनै पनि विधामा कम्तीमा स्नातकोत्तर उपाधि प्राप्त गरी चिकित्सा शास्त्रको कुनै पनि विधामा कम्तीमा बीस वर्षको अनुभव भएको वा चिकित्सा शिक्षाको क्षेत्रमा कम्तीमा दश वर्षको अनुभवसहित स्वास्थ्य सेवाका क्षेत्रमा कम्तीमा बीस वर्ष काम गरेको अनुभव खुल्ने प्रमाणपत्र हुनुपर्ने छ ।
त्यस्तै, शिक्षण संस्थाको बहालवाला वा अवकाश प्राप्त उपकुलपति, प्राध्यापक वा विशिष्ट श्रेणीको चिकित्सक वा चिकित्सक शिक्षा विज्ञको रुपमा ख्याति प्राप्त गरेको पुष्टाई हुने प्रमाण, नेपालको संविधानको धारा २९१ बमोजिम नियुक्ति हुन अयोग्य नभएको प्रमाण, ४५ वर्ष उमेर पूरा भई ६५ वर्ष उमेर ननाघेको हुनुपर्ने सूचनामा उल्लेख छ ।
समितिले योग्य व्यक्तिले चार वर्षे व्यवसायिक कार्ययोजनासहितको सोचपत्र बढीमा पाँच हजार शब्दको पेश गर्नुपर्ने पनि जानकारी गराएको छ । यससम्बन्धी विस्तृत जानकारी लोकसेवा आयोगको वेबसाइट वा मन्त्रालयको वेबसाइटमा हेर्न सकिनेछ ।
टिप्पणीहरू