सार्वजनिक यातायातमा पाकेटमारको बिगबिगी

सार्वजनिक यातायातमा पाकेटमारको बिगबिगी
सुन्नुहोस्

गत असार १९ गते ललितपुरको ग्वार्कोमा सार्वजनिक यातायातमा यात्रारत एक यात्रुको नौ लाख रुपैयाँ चोरी भयो । झोलामा बोकिरहेको अवस्थामा ७ हजार ४७ डलर ९९ लाख ३ हजार १ सय ५७ रुपैयाँ बसबाटै चोरी भएपछि उनी तत्काल प्रहरीमा उजुरी गर्न पुगे । 

प्रहरीले खोजतलास अघि बढायो । सोही क्रममा चार जना पकेटमार पक्राउ परे । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवम् प्रहरी उपरीक्षक रविन्द्र रेग्मीका अनुसार भक्तपुरको थिमीमा बस्दै आएका ३१ वर्षीय सञ्जिव तामाङ, काठमाडौंको फर्पिङ बस्दै आएका ३३ वर्षीय आइतमान तामाङ, ललितपुरको इमाडोल बस्दै आएकी २१ वर्षीया सविना तामाङ र ग्वार्कोकी ५८ वर्षीया मंगललक्ष्मी श्रेष्ठ प्रहरीको नियन्त्रणमा पुगेका हुन् ।

ग्वार्कोबाट नेपाली दुई लाख रुपैयाँ, मोबाइल र चोरीको डलर सटही कार्यमा संलग्न मंगललक्ष्मी श्रेष्ठ सोही दिन पक्राउ परेपछि प्रहरीले अरुलाई पनि पक्रन सफल भएको थियो । उनीहरुको साथबाट प्रहरीले सय दरका अमेरिकी डलर २८ थान बरामद गरेको हो । चोरीसम्बन्धी कसुरमा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको छ । 

त्यसअघि जेठ १९ गते काठमाडौंको गोंगबुस्थित प्रहरीले सार्वजनिक यातायातमा पाकेटमारेर भाग्दै गरेको अवस्थामा दुई जनालाई नियन्त्रणमा लिएको थियो । एक जना पीडितको साथबाट ३४ हजार रुपैयाँ नगद झिकेर भाग्ने क्रममा प्रहरी प्रभाग गोंगबुबाट खटिएको टोलीले उनीहरुलाई पक्रेको हो ।

पक्राउ परेकामा टोखाका ३० वर्षीय मणिराज गुरुङ र लैनचौरका २९ वर्षीय आशिष ठकुरी रहेको प्रहरीले जनाएको छ । 

पछिल्लो समय पाकेटमारिएका घटना बढ्दो क्रममा छ । तीमध्ये यी केही प्रतिनिधि घटना मात्रै हुन् । सार्वजनिक यातायातमा चढ्दा पाकेटमारहरुले पैसा, मोबाइल चोरेर आपतविपत् परेकोे अनुभव हामीमध्ये धेरै जनाको छ । मानिसको भीडभाड तथा धेरै सवारी साधन आवतजावत हुने ठाउँमा पाकेटमारिएका घटना बढी हुने गरेको छ ।

काठमाडौंको नयाँ बसपार्क, सुन्धारा, एनएसी, रत्नपार्क, कंलकी, कोटेश्वर, गौशालाजस्ता ठाउँमा त्यस्तो घटना बढी हुने गरेको बताइन्छ   । पाकेटमारहरु प्रायः भीडभाड र खचाखच गाडीमा मात्र चढ्छन् । भीड भएको ठाउँमा उभिन्छन् । भीडमा ठेलमठेल गर्दै यात्रुको नगद, मोबाइल, गहना आदि लुट्छन् । 

उनीहरु एकै ठाउँमा वा खुला ठाउँमा नउभिने प्रहरीको अनुसन्धानबाट खुलेको छ । जहाँ भीड हुन्छ, त्यहाँ घुस्रिन्छन् र असजिलो ढंगले बस्छन् । सकेसम्म सिटमा बस्दैनन् । दुई वा दुई जनाभन्दा बढीको समूहमा मात्र गाडीमा चढ्छन् । तर, एकअर्कालाई नचिनेजस्तो गर्छन् । एउटै यात्रुलाई घेरेर बस्छन् र आँखाको इशारा वा कोड भाषा प्रयोग गर्छन् । पाकेटमारहरु प्रायः लामो यात्रा गर्दैनन् । जहाँ पकेट मार्छन्, लगत्तै ओर्लिन्छन् ।

भक्तपुरको कौशलटार बस्दै आएकी सिर्जना कार्कीको सार्वजनिक यातायातमा यात्रा गरिरहँदा पाकेटमारकै डर हुने अनुभव छ । उनी काठमाडौंको कलंकीस्थित एक औषधि पसलमा काम गर्छिन् । प्रायजसो बेलुकी कामबाट घर फर्किदा केही ढिलो हुन्छ । 

साउन १४ गते सदाझैं काम सकेर घर जाने क्रममा आफ्नो मोबाइल हराएको उनले बताइन् । भनिन्, ‘गाडी कोचाकोच थियो । मैले आफ्नो गोजीमा मोबाइल राखेको थिएँ । ललितपुरको ग्वार्को पुगेपछि केही व्यक्तिहरु गाडीमा चढे । उनीहरु असहज महशुस हुनेगरी बसेका थिए । तर, मैले त्यति ध्यान दिइन । पछि गोजी छाम्दा त मोबाइल नै चोरी भइसकेछ ।’

आफ्नो मोबाइल हराएको थाहा पाएपछि उनले सबैलाई खोजिदिन आग्रह गरिन् । तर, मोबाइल फेला परेन । त्यसपछि प्रहरी चौकीमा उजुरी गर्न गएको उनले तीतो अनुभव सुनाइन् । 

काठमाडौंको नयाँ बानेश्वर बस्दै आएकी कविता बस्नेत पनि सार्वजनिक यातायातमा पाकेटमारिएको घटना धेरै हुने गरेको सुनाउँछिन् । 

भन्छिन्, ‘गाडी खचाखच भएकै बेला पकेटमारहरु चढ्छन् । नजिकै आएर टाँसिन्छन् । र, असहज महशुस हुने गरी बस्छन् । उनीहरुको हात कति बेला हाम्रो झोला वा गोजीमा पुग्छ, पत्तै हुँदैन । त्यसैले, सार्वजनिक यातायातमा चढ्दा आफ्नो सामानको सुरक्षा आफैंले गर्नुपर्छ । होशियार हुनुपर्छ । कोहीमाथि शंका लागेमा कतै आफ्नो सामान हराएको छ कि छैन भनेर तत्काल चेकजाँच गर्नुपर्छ । अरुलाई पनि सचेत गराउनुपर्छ ।’

नेपाल प्रहरीका प्रवक्ता तथा प्रहरी नायव महानिरीक्षक कुवेर कडायत काठमाडौंको नयाँ बसपार्क, कंलकी, कोटेश्वर, जडीबुटी, गौशाला, रत्नपार्कजस्ता ठाउँमा पाकेटमारीका घटना बढी हुने गरेको बताउँछन् । 

ती स्थानमा दशैं, तिहार, तीजलगायत चाडपर्वको समयमा यस्ता घटना बढी हुने उनको भनाइ छ । जसअनुसार पाकेटमारहरुले कोड भाषा प्रयोग र गाडीमा आवश्यकताभन्दा बढी हलचल गर्छन् । 

उनी सार्वजनिक यातायातमा यात्रा गर्दा सकेसम्म धेरै पैसा वा धनमाल नबोक्न सल्लाह दिन्छन् । साथै, गरगहना लगाएर हिँड्नु पनि असुरक्षित हुने प्रवक्ता कडायतले बताए ।

विशेषगरी, सहरमा पाकेटमारीका घटना बढी हुने भएकाले ग्रामीण भेगबाट आएका सर्वसाधारण यसबारे सचेत नहुँदा उनीहरु सबैभन्दा पहिले यसको सिकार बनिरहेको उनको ठम्याई छ ।  

भन्छन्, ‘पाकेटमारीका घटना सहरमा बढी हुने गरेको छ । जसका कारण गाउँबाट आएका व्यक्तिहरु यसबारे सचेत नहुँदा यसको सिकार बन्न पुग्छन् । त्यसैले, सार्वजनिक यातायातमा कसैमाथि शंका लागेमा आफु सचेत हुनुपर्छ, अरुलाई पनि सचेत गराउनुपर्छ । त्यस्तो घटना भइहाले ट्राफिक कन्ट्रोलको १०३ वा नेपाल प्रहरी (१००) मा फोन गरेर खबर गर्न सकिन्छ । पाकेटमारको फोटो खिचेर वा भिडियो बनाएर प्रमाणसहित नजिकैको प्रहरी चौकीमा उजुरी गर्न सकिन्छ ।’

यसरी पक्राउ परेकाहरुमाथि कसुरको गाम्भीर्यता र प्रमाण हेरेर चोरीसम्बन्धी मुद्दा चलाइने पनि उनले जानकारी दिए ।
 

टिप्पणीहरू