पोखरामा पूर्व पन्च र जनजातिको विवाद चर्कंदै
पोखराको पृथ्वी चोकमा अवस्थित शालिक विवाद हिजो दिउँसो मिल्ने अवस्थामा पुगे पनि रात परेपछि झन बढेको छ । उक्त चोकमा राप्रपाले पहिले झैँ पृथ्वीनारायण शाहको र जनजातिहरुले लखन थापाको शालिक कायम हुनुपर्ने माग चर्काउँदै आएपछि लफडा नयाँ मोडतिर गएको बताइन्छ ।
यो माग दुबै पक्षको पुरानो भएकाले सहमतिमा पुग्न दुवै पक्षलाई जुँगाको लडाईं हुन गएको बुझिएको छ । पछिल्लो समय राप्रपाले उक्त स्थानमा पृथ्वीनारायणको फोटो झुण्डाएको छ ।
जनजातिका नेताहरु भने उक्त फोटो हटाउनुपर्ने माग गर्दै विरोधमा उत्रेपछि बुधबारदेखि पृथ्वी चोकको वातावरण तनावग्रस्त भएको राप्रपाको भनाई छ । आन्दोलनरत दुवै पक्ष छलफलको निम्ति हिजो दिउँसो जिल्ला प्रशासन कार्यालय पुगेका थिए ।
‘हिजो दिउँसो सहमति भयो । तर,बेलुकीपख राप्रपाले सहमति मान्दैनौं भनेपछि अवस्था पहिलेझैँ बनेको छ,’ हिजो दिउँसो विकसित पछिल्लो घटनाक्रमबारे प्रहरी श्रोत भन्छ, ‘अहिले शाहको फोटो हटाउने, एक महिनामा लखन थापाको शालिक पनि हटाउने सहमति भएको थियो । तर राप्रपाले शालिक नहटाएसम्म फोटो राख्ने अडान पेश गरेपछि कुरो पहिलेकै ठाउँमा पुग्यो ।’
यस मामिलामा राप्रपाको तर्फबाट नारायण गुरुङले नेतृत्व गरेका छन् । जनजाति संघ संगठनमा लागेका अन्य धेरै गुरुङले भने नारायणको मागलाई अस्वीकार गर्दै आएका हुन् । उनीहरु जनजाति महासंघका अध्यक्षको नेतृत्वमा सहभागी हुँदै आएका छन् ।
परिस्थिति तनावग्रस्त भए पनि हालसम्म लाठी चार्ज गर्नपर्ने अवस्था भने नरहेको प्रहरीको भनाई छ ।
टिप्पणीहरू