समातिएको भोलिपल्टै छाडिए अडुकियाका सन्तान

समातिएको भोलिपल्टै छाडिए अडुकियाका सन्तान

‘मुख्य सुन तस्कर’ भनिएका राकेश अडुकियाका छोरा रोहनलाई प्रहरीले पक्रेको झण्डै २४ घण्टामै छाडेको छ । नयाँ दिल्लीबाट इण्डिगो एअरको उडानमा काठमाडौं आउने क्रममा रोहनलाई हिजो नियन्त्रणमा लिइएको थियो । 

उनलाई गृह मन्त्रालयले कालोसूचीमा राखेको कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनबाट प्रहरीले दिउँसो ३ बजे पक्रेर राजस्व अनुसन्धान विभाग,हरिहर भवनमा पठाएको थियो । विभागले बुझ्न नमानेपछि साँझ ५ बजे  अध्यागमनको हिरासत कक्षमा लगेर राखियो ।

उनै अडुकियालाई प्रहरीले आज मध्यान्ह अनुसन्धानको निम्ति बोलाएको समयमा तत्काल हाजिर हुने शर्तमा उनलाई छाडेको हो ।

रोहनको काठमाडौं आगमन कुनै आकस्मिक नभएको प्रहरीको प्रारम्भिक बुझाइ छ । उनी आफ्ना पिता राकेशसँगको सल्लाहमा योजनाबद्ध रुपमा नेपाल आएका हुन् । अडुकियासँगका कतिपय कारोबारमा संलग्न हुनेहरुलाई उल्लेख गर्दै स्रोतले भनेको थियो, ‘दुवैजना भागेर हिँड्दा यताको कारोबार डुब्ने र ठप्प हुने अवस्था बन्यो । अरबौंको कारोबार भएकाले त्यो सम्हाल्न पनि उनले पहिले छोरालाई काठमाडौं पठाएका हुन् ।’

राकेशको राहदानी हङकङस्थित भारतीय महावाणिज्य दूतावासबाट जारी भएको हो भने छोरोको लण्डनस्थित भारतीय दूतावासमा बनाइएको देखिन आएको छ । उनी त्यही राहदानी बोकेर हिजो दिउँसो नयाँ दिल्लीबाट यता आएका थिए ।
 

टिप्पणीहरू