विद्यालयका शिक्षक–कर्मचारीले थाले चरणबद्ध आन्दोलन, माग सुनुवाई नभए काठमाडौंमा बृहत प्रदर्शन गर्ने

विद्यालयका शिक्षक–कर्मचारीले थाले चरणबद्ध आन्दोलन, माग सुनुवाई नभए काठमाडौंमा बृहत प्रदर्शन गर्ने

नेपाल शिक्षक महासंघले चरणबद्ध आन्दोलन थाल्ने भएको छ । सरकारले आफ्ना माग सम्बोधनमा आलटाल गरेको भन्दै महासंघले गत साउन २८ गतेदेखि देशव्यापी आन्दोलन थाल्ने घोषणा गरेको हो । 

‘विद्यालय शिक्षा ऐन, २०८०’ को मस्यौदामा रहेका केही दफा शिक्षक–कर्मचारीको पेशागत सुरक्षा र स्वाभिमानविरुद्ध रहेको जनाउँदै आन्दोलनमा जाने निर्णयमा पुगेको महासंघको भनाइ छ । मस्यौदामा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग भएका ३० बुँदे र ५१ बुँदे सहमति उचित ढंगबाट नसमेटिएको महासंघले ठहर गरेको छ । 

स्थायी, अस्थायी–करार, राहत, साविक उमावि, बालकक्षा, विशेष शिक्षा, शिक्षण सिकाइ अनुदान, प्राविधिक धार, संस्थागत विद्यालयका शिक्षकका माग पनि सम्बोधन गरिएको महासंघको गुनासो छ । 

वि.सं २०७५ साल र त्यसपछि स्थायी भएका शिक्षकलाई पुरानै प्रणालीबाट पेन्सन दिनुपर्ने विषय पनि मस्यौदामा उल्लेख नभएको महासंघले जनाएको छ । महासंघले आज सबै जिल्लाको शिक्षा विकास तथा समन्वय एकाइ प्रमुखलाई सरकारले गरेको सम्झौताबारे जानकारी गराएको छ । त्यस्तै, महासंघले २ बजेसम्म एकाइ कार्यालयमा धर्ना दिने भएको छ । 

साउन ३२ गते सात वटै प्रदेशको सामाजिक विकास मन्त्रालयमा तीन घण्टा धर्ना दिने र भदौ १ गते संघीय तथा प्रदेश सांसद्सँग आफ्ना माग सम्बोधनका लागि आग्रह गर्ने भनिएको छ । त्यति गर्दा पनि माग सम्बोधन नभएमा काठमाडौंमा बृहत विरोध प्रदर्शन गर्ने महासंघले चेतावनी दिएको छ ।
 

टिप्पणीहरू