नेपाल दक्षिण एसिया र चीनबीच समृद्धिको पुल बन्नसक्छ : अध्यक्ष ढकाल

नेपाल दक्षिण एसिया र चीनबीच समृद्धिको पुल बन्नसक्छ : अध्यक्ष ढकाल
सुन्नुहोस्

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले चीन र दक्षिण एसियाबीच पुलको रूपमा रहेकाले यो क्षेत्रको समृद्धिमा नेपालले महत्वपूर्ण भूमिका निर्वाह गर्नसक्ने बताएका छन् ।

चीनको खुनमिङमा आयोजित १६औँ चीन–दक्षिण एसिया व्यापार मञ्चको अध्यक्षको रूपमा सम्बोधन गर्दै अध्यक्ष ढकालले चीन र दक्षिण एसियाली क्षेत्रबीच बृहत्तर सहयोगका लागि थप सहकार्य तथा साझेदारी सुदृढ गर्नुपर्ने धारणा राखेका छन् । उनले भने, ‘साझा आर्थिक लाभ र आपसी लगानी वृद्धिमा आधारित सहकार्यले मात्र अहिलेका चुनौतीलाई समाधान गर्न सकिन्छ । लगानीका लागि नयाँ क्षेत्र पहिचान गर्ने, पर्यटन प्रवद्र्धन, आपसी व्यापार अभिवृद्धि र औद्योगिक साझेदारीलाई थप सुदृढीकरण गर्नु आवश्यक देखिएको छ ।’

विश्व अर्थतन्त्रमा देखिएका अनिश्चितताहरू कम गर्न, द्वन्द्व र जलवायु परिवर्तनले सृजना गरेको महामारी र आपूर्ति श्रृंङ्खलामा देखा परेका अवरोधबाट जोगाउन सक्ने बलियो रणनीति तयार गर्न पनि आपसी सहकार्य बढाउनुपर्ने आवश्यकता रहेको हो । उनले भने, ‘दक्षिण एसियाली क्षेत्रमा बजारको पर्याप्त सम्भावना छ, तर  कमजोर यातायात तथा आपूर्ति पूर्वाधार र व्यापार सहजीकरण नहुँदा आर्थिक वृद्धि प्रभावित भएको छ ।’

उनले डिजिटल अर्थतन्त्रमा एकाकार हुने तथा आपूर्ति र औद्योगिक श्रृंखलाहरुको साझेदारी, कृषि, पर्यटन, नवीकरणीय ऊर्जा, खानी, पूर्वाधार, आइसिटी, जडीबुटी र औषधि उत्पादनलगायत महत्वपूर्ण क्षेत्रमा चीनको विशेषज्ञतालाई प्रविधि र लगानीको हस्तान्तरणबाट नेपालसहित दक्षिण एसियाले लाभ लिनसक्ने धारणा राखेका हुन् ।

टिप्पणीहरू