मेरो सन्दर्भ

मेरो सन्दर्भ
सुन्नुहोस्

म संगठन बनाउँछु, उ टीम बनाउँछ,
म कार्यकर्ता भेट्छु, उ नेता भेट्छ, 
म बस्तीमा जान्छु, उ निवासमा जान्छ, 
म कार्यकर्ता चिन्छु, उ नेता चिन्छ,
म सुझाव दिन्छु, उ उपहार दिन्छ

किनभने, 
म संगठन बनाउँछु, उ गुट बनाउँछ,
म नीतिको प्रचार गर्छु, उ नेताको चाकरी गर्छ, 

म सिद्धान्तका कुरा गर्छु, उ अधिकारका कुरा गर्छ
म काम गर्छु, उ कुरा गर्छ !

म आस्थाको कुरा गर्छु, उ नास्ताका कुरा गर्छ,
म विचारका कुरा गर्छु, उ अचारका कुरा गर्छ,
म पछि पर्छु, उ अघि सर्छ,

किनभने, 
म संस्था बनाउँछु, उ झुण्ड बनाउँछ,
म सदस्यता बढाउँछु, उ टीम बढाउँछ, 
म जनताको काम गर्छु, ऊ नेताको सेवा गर्छ,
म कार्यकर्ता कमाउँछु, उ नेता कमाउँछ,
म विचार समाउँछु, उ अचार समाउँछ, 
म झुपडीमा रमाउँछु, उसले महल बनाउँछ, 
म कार्यकर्ताको निकट पाउँछु, 
उसले नेताको टिकट पाउँछ, 

किनभने,
म पार्टी समाउँछु, उसले नेता समाउँछ,
म जनता कमाउँछु, उसले धन कमाउँछ,
म पार्टीमा लाग्छु, उ गुटमा लाग्छ
म आन्दोलनमा लाग्छु, उ सुराकीमा लाग्छ,
म गरिब हुन्छु, उ धनी हुन्छ, 
म गाली खान्छु, उ ताली खान्छ,
म सिँढी चढ्छु, उ लिफ्ट चढ्छ, 
म कार्यकर्ता हुन्छु, उ नेता हुन्छ, 

किनभने,
म पार्टी बनाउँछु, उ गुट बनाउँछ, 
मैले कार्यकर्ता कमाउँदा, उसले धन कमाउँछ,
म जनता धनी हुने बाटो बनाउँछु, 
ऊ आफैं धनी हुने बाटो खन्छ,
म फुटपाथे कार्यकर्ता
उ महान नेता बन्छ !

म सडकमा हुन्छु, उ महलमा पुग्छ, 
म ताला लाउँछु, उ माला लाउँछ, 
म सडक तताउँछु, उ कुर्सी तताउँछ,
म गन्हाउँछु, उ बास्ना आउने हुन्छ,
म रुवाउँछु, उ हसाउँछ, 
म बचाउँछु, उ फसाउँछ,

किनभने,
म संगठन बनाउँछु, उ झुण्ड बनाउँछ,
म संस्था बनाउँछु, उ पदमा बस्न मरिहत्ते गर्छ 
म पार्टी बनाउँछु, उ गुट बनाउँछ !

अन्ततः
म मर्छु, उसैले माला चढाउँछ ! !

 

टिप्पणीहरू