प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकमा एमाले अध्यक्ष अनुपस्थित
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्ष नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अनुपस्थित हुनुभएको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बसेको बैठकमा एमालेका तर्फबाट उपाध्यक्ष तथा संसदीय दलका उपनेता सुवास नेम्वाङ र प्रमुख सचेतक पदम गिरी सहभागी छन् । सदनमा सहभागी राष्ट्रिय दलहरुको सो बैठकमा अरु पार्टीबाट भने शीर्ष नेताहरु उपस्थित छन् ।
बैठकमा कांग्रेसका सभापति शेरबहादुर देउवा र उपसभापति तथा उपप्रधानमन्त्री पूर्णबहादुर खड्काको सहभागिता छ । माओवादी केन्द्रबाट अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री प्रचण्ड, वरिष्ठ उपाध्यक्ष तथा उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ र प्रमुख सचेतक हितराज पाण्डे बैठकमा छन् ।
प्रतिपक्ष राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र सन्तोष परियार बैठकमा सहभागी हुँदा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेन उपस्थित छन् । त्यस्तै, जनतमत पार्टीकी अनितादेवी पनि सर्वदलीय बैठकमा बसेकी छन् ।
सुन तस्करी छानविनका लागि संसदीय समिति बनाउनुपर्ने माग गर्दै प्रमुख प्रतिपक्ष एमालेले साउन १० यता प्रतिनिधिसभाका सबै बैठक अवरुद्ध पार्दै आएको छ । सत्ता र प्रतिपक्ष आ-आफ्नै अडानमा रहँदा संसद खुलाउन प्रधानमन्त्री र सभामुखसहित शीर्ष तहमा भएका प्रयास सफल भएको छैन ।
आज दिउँसो १ बजेका लागि प्रतिनिधि सभाको बैठक बोलाइएको छ । सदनमा जारी अवरोध खुलाउने विषयमा सत्ता पक्ष र प्रतिपक्ष दलबीच आज बिहानैदेखि छलफल भएपनि सहमति जुटेको छैन ।
टिप्पणीहरू