कार्यकर्ताको मन कुँडिएपछि

 कार्यकर्ताको मन कुँडिएपछि

स्थिर त्यसमा पनि कम्युनिष्ट पार्टीको सरकारले त साँच्चै देश र जनताको पक्षमा काम गर्दो रहेछ । छिमेकी राष्ट्रले नाकाबन्दी गर्दा मात्र होइन दैविक विपत्ती र महामारीको अवस्थामा पनि विचलित नभई यिनीहरुकै पक्षमा दृढ भएर कम्युनिष्ट पार्टीको सरकारले त उधुमै पो गर्दो रहेछ भनी सन्देश प्रवाह गर्नुपर्ने बेला हो यो । तर आमनागरिक, कार्यकर्ता र स्वदेश तथा विदेशमा रहेका पार्टी समर्थक सर्वसाधारणको अपेक्षा र चाहना विपरीत कम्युनिष्ट पार्टीका शीर्ष नेताहरुको लडाईंले सबैमा एकाएक निराशा छाएको छ । सरकारद्वारा अगाडि सारिएको ‘सुखी नेपाली र समृद्ध नेपाल’ को सपना बेवारिसे बन्ला भन्ने पीर एकातर्फ छ भने अर्कातर्फ वि.सं.२०७५ जेठ ३ गते पार्टी एकताको संयुक्त घोषणा–पत्रमा अध्यक्षद्वय (केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’) ले उल्लेख गर्नुभएको “पार्टी एकीकरणको निर्णय र मर्मानुरुप आगामी दिनहरुमा अझ सशक्त पार्टी निर्माण र यसको विकासमा योगदान पुर्याउने” प्रतिबद्धता पनि त्यत्तिकै चकनाचुर होला जस्तो भएको छ ।

देश, जनता, सहिद र पार्टीको विरासतलाई गम्भीरतापूर्वक स्मरण गर्दै कसैको कान टोकाई वा लहलहैमा नलागी अहंकार विसर्जन गरी पार्टीको उच्च नेतृत्व खुला हृदयले छलफलमा जुटेको भए केही घण्टाभित्रै सकारात्मक नतिजा सहजै निस्कन्थ्यो । दूर्भाग्यवश, त्यसो हुन नसकेकोले लाजमर्दो हुने गरी पार्टीका बैठक लम्बिए । बाहिर आउनै नपर्ने सामान्य विषय पनि सामाजिक सञ्जाललगायतका माध्यममा भोलिका दिनमा उठाउनै नसकिने गरी असरल्ल भएर छरिएका छन् । नेताहरुको आपसी भेटघाटको क्रम टुटेको हो कि टुटाइएको हो छुट्याउन नसकिने अवस्थामा पुग्यो । नेताहरुले आफूलाई सही देखाउन चुरो विषयबाट कार्यकर्तालाई विषयान्तर गराएर आफ्नो पक्षमा तान्न अनेक हत्कण्डा अपनाए ।

यसै सिलसिलामा एकथरीले आफू जननेता क.मदन भण्डारीको जनताको बहुदलीय जनवाद (जबज) पक्षमा रहेको ऐलान गर्नुभयो भने अर्काथरीले वर्तमानमा पार्टीको नीति तथा कार्यक्रम समाजवादोन्मुख जनताको जनवाद (सजज) भएकोले आफू त्यसबाट टसमस नगर्ने लिट्टी कस्नु भयो । विगतमा पार्टी आरोहावरोहलाई नजिकबाट नदेख्नु भएका, आफूलाई निरपेक्ष सही र अर्कालाई निरपेक्षरुपले गलत सावित गर्न कम्युनिष्ट पार्टीका नेताहरुले कतिसम्मको हर्कत गर्छन् भन्ने थाहा नपाएका कार्यकर्ता समेत अन्र्तय नै नबुझी सार्वजनिक खपतको लागि फ्याँकिएको पासोमा अल्झेर मानौं अब एउटै पार्टीमा बस्नै पर्दैन भनेझैँ गरी एकार्कामा खरो दन्तबझानमा उत्रिए ।

यसै परिपे्रक्ष्यमा तत्काललाई अन्य कुनै पृष्ठभूमिमा प्रवेश नगरी कम्युनिष्ट पार्टीका सदस्य तथा समर्थकहरुको जानकारीको लागि विशेष गरेर त्यसबेलाको वाह्य परिस्थितिको चेपुवामा परेर कम्युनिष्ट आन्दोलनको साखवृद्धि र जनताको विश्वासका लागि कमरेड मदन भण्डारीले सुझबुझका साथ प्रतिपादन गर्नुभएको जबज र पार्टी एकीकरणको सिलसिलामा जबज र एक्काइसौं शताब्दीको जनवादलाई सश्लेषण गरी तयार गरिएको समाजवादोन्मुख जनताको जनवादका आधारभूत केही विशेषताहरुलाई पस्कने प्रयास गरिएको छ । जनताको बहुदलीय जनवादका आधारभूत विशेषताहरु :

– नेपालमा व्याप्त गरिबी, अभाव तथा सबै प्रकारका शोषण र असमानताहरुलाई अन्त्य गरी प्रगतिशील, विकसित, सम्पन्न र समृद्ध समाज निर्माणको निमित्त वैज्ञानिक समाजवाद र साम्यवादलाई नै उच्चतम लक्ष्य मान्ने,

– नेपालको क्रान्ति र निर्माणलाई बाटो देखाउने सिद्धान्त माक्र्सवाद–लेलिनवाद हुने,

–  संविधानको सर्वोच्चताको आधारमा जनताको बहुदलीय जनवादी व्यवस्था स्थापना गरिने,

–  नेपाललाई स्वतन्त्र, सार्वभौमिक, धर्मनिरपेक्ष र जनताको जनवादी गणतन्त्र घोषणा गरिने,

–  बहुदलवादी खुला समाज कायम गरिने,

– संविधानको मर्यादाभित्र सबै राजनीतिक दलहरुलाई राजकीय निकायमा शान्तिपूर्ण ढङ्गले प्रतिष्पर्धा  गर्ने स्वतन्त्रता दिने,

–  बहुमतप्राप्त राजनीतिक दलले सरकार गठन गर्ने र अल्पतले विपक्षको भूमिका खेल्ने,

–  कानूनको शासन कायम गर्ने,

– स्थानीय निकायहरुले नै आफ्नो क्षेत्रको विकास निर्माण र प्रशासनको नेतृत्व र सञ्चालन गर्ने संवैधानिक व्यवस्था गरिने,

–  समाजवादमा सङ्क्रमण गर्ने उद्देश्यले कार्यक्रमको आधारमा ठोस रुपले भौतिक तयारी गर्ने,

–  प्रगतिशील, राष्ट्रिय एवम् जनवादी साहित्य, संस्कृतिको विकास गरिने,

–  राजनीतिक, आर्थिक, सामाजिक जीवनका हरेक क्षेत्रमा महिलाहरुको सक्रिय सहभागिता बढाउँदै लैजाने,

–  प्रत्येक व्यक्तिलाई जनता र राष्ट्रको निमित्त सोच्ने, बोल्ने तथा आफ्ना अनुभूतिहरु अभिव्यक्त गर्न पाउँने स्वतन्त्रता प्रदान गर्ने,

पार्टी एकतापछि सार्वजनिक भएको नेकपाको राजनीतिक प्रतिवेदन–२०७६ ले एकातिर पूर्व नेकपा–एमाले) को नेतृत्वमा सञ्चालित शान्तिपूर्ण र वैधानिक सङ्घर्षले राष्ट्रिय र अन्तर्राष्ट्रियरुपमा कम्युनिष्ट आन्दोलनलाई लोकप्रिय बनाउन महत्वपूर्ण भूमिका खेलेको र अर्कातिर पूर्व नेकपा (माओवादी) को नेतृत्वमा सञ्चालित जनयुद्धले समाजका उत्पीडित वर्ग, जाति, क्षेत्र, लिङ्ग र विभिन्न सांस्कृतिक समुदायका जनतामा अभूतपूर्व राजनीतिक चेतना र जागरण ल्याएको सत्यलाई स्वीकार गर्दै निम्न विषय अगाडि सारेको छ ।

–  नेपाली जनवादी क्रान्ति सम्पन्न भई नेपाली समाज आम रुपमा समाजवादी क्रान्तिको ऐतिहासिक चरणमा प्रवेश गरेकोले अबको नेपाली क्रान्तिको दीर्घकालीन रणनीतिक लक्ष्य समाजवाद स्थापना हुने,

–  अवलम्बन गरिने समाजवादमा एकदलीय राज्य प्रणाली, निजी संपत्तिको औपचारिक उन्मूलन, सम्पूर्ण कुराहरुको राष्ट्रियकरण र राज्य नियन्त्रित आर्थिक प्रणालीका रुपमा लागू नगरिने,

–  दलको मूल रणनीतिक लक्ष्य समाजवाद र उच्चतम उद्देश्य साम्यवाद स्थापना हुने,

–  दलको मार्गदर्शक सिद्धान्त माक्र्सवाद–लेलिनवाद हुने,

–  वालिग मताधिकार, आवधिक निर्वाचन, निर्वाचित जनप्रतिनिधिहरुको संस्था र सरकार, प्रतिपक्षको अस्तित्व, विधिको शासन, शक्ति पृथकीकरण जस्ता लोकतन्त्रका आधारभूत विषयहरुको अङ्गीकार गर्ने,

–  नोकरशाही पूँजीवादलाई प्रश्रय दिने खालको अर्थतन्त्र अवलम्बन नगर्ने,

–  राज्यसत्ता सञ्चालनमा जनसमुदायको संस्थागत सहभागिता र जनमतको निर्णायक भूमिकालाई  सुनिश्चित गरिने,– सङ्गठन निर्माण, अभिव्यक्ति स्वतन्त्रता, आलोचना र विरोध तथा व्यक्तिगत स्वतन्त्रतालाई प्रत्याभूत गर्ने,

उल्लिखित बुँदाहरुले दर्शाएअनुसार देशको शासकीय स्वरुपमा आएको परिवर्तनलाई सम्बोधन गर्ने र संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानलाई आत्मसात् गर्ने बाहेक जबज र सजजमा तात्विक भिन्नता भेटिँदैन । यसर्थ, भरजीवन पार्टी एकीकरण, नेताहरुको उचित स्थान र स्वदेश तथा विदेश सबैतिर कम्युनिष्ट पार्टीको साख विस्तारको लागि अहोरात्र खट्नुभएका श्रद्धेय कमरेड मदन भण्डारीको नाम भजाएर कार्यकर्तालाई विभाजन गर्ने बाहेकको सैद्धान्तिक बखेडा बाहेक अन्यथा केही होइन । नेताहरुको द्विपक्षीय वा बहुपक्षीय वार्ता र पार्टीका विभिन्न तहका कमिटीहरुमा पनि यस विषयले प्रवेश नपाएबाट यो हात्तीको देखाउने दाँतबाहेक केही नभएको तथ्य सचेत कार्यकर्ता तथा समर्थकले बुझ्नैपर्छ ।

विग्रहबाट पार्टीलाई जोगाउन मरिमेटी खटेका दोश्रो पुस्ताका केही नेताहरु, पार्टी विभाजनको लागि आफ्नो टाउको नगन्न नेतृत्वलाई खबरदारी गर्ने माननीयहरुको भावाव्यक्तिबाट पनि अहिलेको नेकपाको विवादको चुरो सैद्धान्तिक नभएर अन्य प्राविधिक विषय केही भएको तथ्य घाम जत्तिकै छर्लङ्ग भैसकेको छ । निर्वाचन घोषणा–पत्र, अग्रज नेताहरुको राष्ट्र, राष्ट्रियता, जनवाद र जनजिविकाप्रतिको निष्ठा र बलिदानबाट अभिप्रेरित भएर अति उत्साहले झण्डै दुई तिहाई नजिकको एकमना कम्युनिष्ट सरकार बनाउने जनमत प्रदान गर्ने नेपाली महान जनता र पार्टीका लागि सर्वश्व सुम्पन तयार कार्यकर्ताको भावनामा ठेस नपुर्याइकन पार्टी एकतालाई अक्षुण्ण राख्दामात्र नेताहरुको दूरदर्शितता र पुरुषार्थ देखिन्छ ।

पार्टी कार्यकर्ता र शुभेच्छुकहरुलाई पनि  आफू एकीकृत गौरवशाली पार्टीको महत्वपूर्ण अवयव हुन रुचाउँछन् र बलियो घरमा मात्र आफ्नो र सन्ततीको सुन्दर भविष्य देख्न चाहन्छन् भने उनीहरुले पनि नेताहरुलाई सम्मानपूर्वक खबरदारी गर्न सक्नुपर्यो– ‘कमरेडहरु, हामी तपाँईहरुको रैती होइनौं । देश र जनतालाई धोखाघडी हुने र स्वर्गीय कमरेड पुष्पलाल, मनमोहन, मदन भण्डारी, जीवराज आश्रितलगायत सयौं ज्ञात अज्ञात सहिदहरुको आत्माले शान्ति नपाउने गरी केवल यहाँहरुको दम्भ, अहंकारको परिपोषण गर्न सक्दैनौं ।’ कृपया, यहाँहरुले विग्रह गराउने नयाँ पार्टीमा हामीलाई नखोज्नु होला । अतः अहंकारको ज्वालाले पुत्पुताएर वरपरको वातावरण नै पिरो बनाइरहेको विषालु आगोमा ध्यू थप्नुभन्दा यसलाई कार्यकर्ताको बलियो एकताको भावनाले सामसुम निभाएर भोलिका दिनको लागि विधि, पद्धति र मूल्यमान्यता अनुसार चल्ने कम्युनिष्ट पार्टी निर्माणमा जोड दिँदा नै देश, जनता र पार्टीप्रति न्याय गरेको ठहरिने छ । आगे जो मर्जी ।

टिप्पणीहरू