उत्तर कोरियाली मामिला हेर्ने जापानी सांसद नेपालमा
जापानको माथिल्लो सदन हाउस अफ काउन्सिलर्सका एक जना सदस्य काठमाडौं आइपुगेका छन् । काजुहिरो कोबायासी सवार विमान भर्खरै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ ।
उनी नेपाल एअरलाइन्सको उडान नम्बर आरए ४३४ मा नारिताबाट आएका हुन् । पाँच दिनको लागि काजुहिरो सरकारी भ्रमणमा आएको काठमाडौंस्थित जापानी दूतावासले जनाएको छ ।
उनलाई विमानस्थलमा दूतावासका काउन्सिलर ताकाहिरो तामुराले स्वागत गरेका छन् । काजुहिरो आगामी बिहीबार राति नेपाल वायुसेवाको उडानमा काठमाडौंबाट जापान जाने कार्यक्रम रहेको बुझिएको छ ।
लिबरल डेमाक्रेटिक पार्टीका सदस्य उनी संसदको आर्थिक तथा औद्योगिक समिति र बजेट कमिटीका सदस्य छन् । त्यसैगरी उनी संसदको उत्तर कोरियासम्बन्धी विशेष समिति र संविधानसँग सम्बन्धित आयोगमा पनि रहेको बताइन्छ ।
टिप्पणीहरू