वामदेवको थप बिजोग

वामदेवको थप बिजोग

माओवादीलाई शान्ति प्रक्रियामा ल्याउने र तत्कालीन एमालेसँग एकता गराउने क्रममा वामदेव गौतमको योगदानलाई कम आँक्न हुँदैन र मिल्दैन पनि । वहाँ त्यो बेलासमेत जनयुद्धको जन्मभूमि रोल्पा पनि पुग्नुभएकै हो । विभिन्न समय, विभिन्न ठाउँमा भएका वार्तामा सहभागी हुनुभएकै हो । एक्लो प्रयासमा शान्ति प्रक्रियाको अभियान नै छेड्नुभयो । तर, दुई वर्षअघि एमाओवादीसँग नेकपा एमालेको एकता हुँदैछ भन्ने भेउ तिनै गौतमलाई दिइएन ।

आफूलाई विभिन्न आरोप लागेको बखत पनि गौतमले मेहनत गर्न छाड्नु भएन । माओवादीलाई नजिक ल्याउन खोजेवापत माओवादीकै पिछलग्गु बनेको आरोप लगाइयो । उनै गौतमले कहिले माओवादीलाई ठेगान लगाउन आतंककारी विधेयकको समेत नेतृत्व गर्नुभएको थियो । पछि फेरि त्यहि माओवादीसँग मिल्नुपर्छ भन्दै पार्टीभित्र चर्को लबिङ्ग गर्न पुग्नुभयो । गौतमका ती गतिबिधिमाथि प्रहार गर्ने समय ढुकेर बसेका एकथरिले माओवादीको पिछलग्गु र परस्त भनेर लामो समयसम्म खेदिरहे । तर, पार्टी एकता गर्दा तीनै एकथरि उनै गौतमलाई भाउ दिएनन् ।

२०७५ जेठ ३ गते पार्टी एकीकरण भयो । आफूलाई अपमानित गरिएको भन्दै सोही वर्षको पुसमा आयोजित स्थायी कमिटी बैठकमा वहाँले पार्टी एकीकरण गर्नु नै गलत रहेको धारणा व्यक्त गर्नुभयो । पार्टि एकीकरणको औचित्य नै नरहेको भन्दै फरक मत राख्ने ठाउँसम्म पुग्नुभयो ।

अहिले फेरि गौतमकै जोडबलले राजनीतिक डिलमा पुगेको केपी शर्मा ओलीको सरकार अडिएको छ । दुईवटा पदमध्ये एउटा छाड्न लगाउने अभियान उत्कर्षमा पुगेको बखत एकाएक प्रचारमा ल्याइएको ‘छ बुँदे मिलन सूत्र’ भित्री रूपमा वहाँको थिएन । किनकि उक्त सूत्रमा प्रधानमन्त्री ओली पुनः दुईवटै पदमा कायम रहने विषय प्रमुख थियो । त्यसरी केपी ओलीलाई फेरि एकपटक अभयदान दिने नेतालाई पार्टीभित्रको थप विवाद मिलाउन भन्दै गठन गरिएको कार्यदलको बारेमा पनि अत्तोपत्तो नै दिइएन । यसरी पछिल्लो पटक कार्यदलको सम्बन्धमा समेत वहाँलाई अलपत्र पारियो र नराम्रोसँग ठगिनुभयो ।

गौतमको विशेषता नै अनावश्यक ढंगले हौसिने, मच्चिने र थच्चिने हो ।

गौतमको विशेषता नै अनावश्यक ढंगले हौसिने, मच्चिने र थच्चिने हो । त्यत्तिले नपुगेर आफूले विगतमा गरेको कुरोसमेत आफैँले थाहा नपाउने र त्यसैको बिरोधमा फेरु उग्र हुने वहाँको पुरानै स्वभाव हो । आफैँले उठाएको विषयमा पछि कोही कसैको उक्साहटमा पल्टाबाजी खाएपछि मात्रै वास्तविकता थाहा पाउँदा उग्र बन्ने गर्नुहुन्छ । पछिल्लो सचिवालय  बैठकमा कार्यदललाई बैधता दिने प्रक्रिया जब अघि बढ्यो उहाँले चर्को स्वरमा भन्नुभयो ‘यो कार्यदलको औचित्य के ? समस्या सचिवालयमा देखिन्छ तर त्योभन्दा बाहिरबाट कार्यदल बनाउने ? त्यसले समाधान दिन्छ ? यदि कार्यदलले दुबैजना अध्यक्षलाई पदबाट हट्न भन्यो भने के वहाँहरूले पद छाड्न सक्नहुन्छ ?”

यसरी वामदेवका रूपहरू एकपछि अर्को गरी छर्लङ्ग हुँदै गएको छ । वहाँलाई उपयोग गर्ने अनि अलपत्र पारेर छाड्ने र भुईं पुछेको टालोको हैसियतमा पुर्याउने गरिएको छ । तर पनि आफूलाई बेकम्मा बनाइएको कैयौँ दिनसम्म थाहा नपाउने अवस्थामा गौतम पुग्न थाल्नुभएको बताइन्छ । वहाँलाई प्रधानमन्त्री तथा अध्यक्ष केपी ओली समूहले पटक पटक प्रयोग गरेर रछ्यानमा फाल्दै आएको छ । तर, काम सकिएपछि पूर्व एमाओवादीका मणि थापालाई जति पनि महत्व दिइएको छैन । किनभने सचिवालय र स्थायी समितिमा रहेका वहाँसँग नजिक भनिएका हिजो मालेकालमा साथ दिएका किरण गुरुङ्गजस्ता साथीहरू अहिले अर्कै कित्तामा पुगिसकेका छन् ।

संसदमा पनि पत्नी तुलसा थापाबाहेक वहाँसँग आफ्ना भन्ने कोही देखिँदैनन् । पार्टीमा पनि आफ्ना को हुन् भनेर सिलो खोज्नुपर्ने भएको छ । राजनीतिक रूपमा खिईँदै जानुभएको छ । यति हुँदा पनि वामदेव भन्ने एउटा इमेज, पर्सनालिटी, छवि र ओज अहिलेसम्म पनि कायम छ तर समर्थकको पंक्ति पातलिँदै गएको छ । रामकुमारी भाँक्री, जीवनराम श्रेष्ठ, ठाकुर गैह्रे, वसन्त मानन्धरहरू झगडा गर्न जाने अवस्थामा पुगेका छन् । सबैले बिस्तारै छाडेर जाने अवस्था बढ्दै गएको छ । वहाँको आफ्नो भनिएकी विमला बिक पनि कहिले हो कहिले बालुवाटारले चोरेर उतैको खेमामा पुर्याइसकेको छ । उदेक लाग्छ तैपनि नेताहरूले आफू सिध्ँदिदै गएको समेत चाल पाउन छाडेका छन् ।

– हरिहर उपाध्याय

टिप्पणीहरू