नेकपा बैठकमा काउन्सिलमाथि हस्तक्षेपको विरोध

नेकपा बैठकमा काउन्सिलमाथि हस्तक्षेपको विरोध

आफ्नो जयगान गाउनेलाई खोजी खोजी नियुक्ति दिने ? जसले इमान्दारिताका साथ काम गरिरहेका छन् उनीहरूलाई चाँहि हटाउने?’

सरकारले गरेको एकपछि अर्को विवादित नियुक्तिहरूलाई लिएर नेकपाको छ सदस्यीय कार्यदलमा राम्रैसँग कुरो उठेको छ । मंगलबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीसँग त्यहि विषयलाई लिएर बालुवाटारमा रातो मुख बनाउनुभयो ।

ओलीसङ्गको भेटमा दाहालले व्यक्त गर्नुभएको भनाई उद्धृत गर्दै स्रोतले बतायो- ‘यस्तो पनि गर्ने ? आफ्नो जयगान गाउनेलाई खोजी खोजी नियुक्ति दिने ? जसले इमान्दारिताका साथ काम गरिरहेका छन् उनीहरूलाई चाँहि हटाउने ?’दाहालको अप्रत्याशित आक्रोशलाई मत्थर पार्न प्रधानमन्त्रीले ‘त्यो पहिलेकै निर्णय हो’  भनेर टार्न खोज्नुभएको थियो ।

उता खुमलटारमा बुधबार बिहान भएको प्रचण्ड,माधव नेपाल,झलनाथ खनाल र नारायणकाजी श्रेष्ठबीचको छलफलमा पनि प्रेस काउन्सिलमा गरिएको सरकारी हस्तक्षेपबारे लामै चर्चा चलेको बताइएको छ । छलफलमा अलि ढिलो पुग्नुभएका महासचिव विष्णु पौडेलसमेतको उपस्थितिमा सरकारले प्रेस स्वतन्त्रताको घाँटीमै अँठ्याउन खोजेको देखिएकोमा सबैले असन्तुष्टि व्यक्त गर्नुभएको थियो ।

सिनामङ्गलमा रहेको काउन्सिललाई पनि बालुवाटारभित्रै सार्न उपयुक्त हुने भन्दै व्यङ्गय गरिएको थियो ।

छलफलमा उहाँहरूले बालुवाटारको चाहनालाई मूर्तरूप दिलाउन सिनामङ्गलमा रहेको काउन्सिललाई पनि बालुवाटारभित्रै सार्न उपयुक्त हुने भन्दै व्यङ्गय गरिएको थियो । नेकपा कार्यदलले सरकारले गरेका यसअघिका विवादित नियुक्तिहरूलाई बदर गर्न लगाउने सम्बन्धमा आवश्यक सिफारिशसहितको प्रतिवेदन तयार गर्नुपर्ने विषय पनि छलफलमा उठेको थियो ।

स्रोतका अनुसार कार्यदल बनिसकेपछिका नियुक्तिहरू समेत सरकारले नै बदर गर्नुपर्ने र त्यस्तो निर्णय गर्दा कसैले मानेनन् वा अदालत जान खोजे भन्ने बहानामा अन्यथा गर्न नपाइनेमा सबैजनाको एकमत देखिएको छ ।

यता,बालुवाटारले कार्यदल प्रतिवेदन प्रतिकूल बनाइएको खण्डमा स्वीकार नगर्ने भन्ने समाचारलाई विभिन्न कोणबाट प्रचारमा ल्याइएको छ । यसबीच नयाँ राजनीतिक मोड देखिएकाले प्रतिवेदन प्रतिकूल बनाइएको खण्डमा कुनैपनि बहानामा नबुझ्ने मनस्थितिमा बालुवाटार पुगेको समेत बताइएको छ ।

टिप्पणीहरू