सात गाउँ चहारेपछि बल्ल भेटियो केपी ओली बस्ने कुर्सी

सात गाउँ चहारेपछि बल्ल भेटियो केपी ओली बस्ने कुर्सी

– सन्तोष बराइली 

भदौ १३ गते बुधबार मदन भण्डारी महासचिव बनेको गाउँ सिरहाको धनगढीमाई १३, सर्रे अम्बास एमालेका शीर्ष नेतामय बन्यो । विराटनगर हुँदै बेलैमा अम्बास पुगेका ओली कसैसँग बोल्ने र भलाकुसारी गर्ने मुडमा देखिँदैन थिए । उनी सहयोगीहरूसहित सरासर तत्कालीन मालेको चौथो महाधिवेशनस्थल दुईतले काठेघरको टाँडमा चढे । सचिवालय बैठक लेखिएको ब्यानर हेरे । र, व्यानर अघिल्तिरको कुर्सीमा बसे । स्थानीय मिस्त्रीले बनाएको काठे कुर्सी हेर्नलायकको थियो । 

बैठक व्यवस्थापनको मुली सिरहा एमाले अध्यक्ष चन्देश्वर मण्डलले यो कुर्सी सात गाउँ चहारेपछि बल्ल फेला पारेका थिए । बैठकमा सहभागी अन्यलाई प्लाष्टिकको कुर्सी सहजै उपलब्ध भए पनि ओली बस्ने कुर्सी जुटाउन गाह्रो परेको थियो । चोहर्वा घर भएका एमाले नेता तथा प्रतिनिधिसभा सदस्य लीला श्रेष्ठको निर्देशनमा ओली बस्ने कुर्सी खोजिएको हो । सात गाउँ चहारेपछि एमाले सिरहाका सल्लाहकार चौधरी महतोले ओली बस्ने कुर्सी बल्ल तल्ल फेला पारे नथु मगरको घरमा । अम्बासका नथुले यो कुर्सी पाहुना आएका बूढाखाडाको लागि बनाएर राखेको चौधरी महतोले जानकारी दिए । अग्राखैअग्राखबाट बनाईएको कुर्सी बोक्न २ जनालाई हम्मे पर्छ ।

सचिवालय बैठक सकिएपछि चौथो महाधिवेशन स्मारक शिलान्यास गरे ओलीले । लगत्तै उतिबेला महाधिवेशन सम्पन्न गर्न भूमिका खेलेकाहरूलाई सम्मान गरियो, मञ्चमा । फेरि शुरु भयो उही कुर्सीको कथा । प्रमुख अतिथि ओलीलाई आसन गराउन टाँडबाट फेरि झारियो उक्त कुर्सी । त्यसपछि ओलीले एमालेले देश विकासको लागि अहं भूमिका खेलेको बेलिविस्तार लगाए । अम्बासको विकास गर्ने वाचा गरे । 

नेताहरूको गाडी प्रेम

महासचिव शंकर पोखरेल, पूर्वसभामुख सुवास नेम्वाङ, सचिव गोकर्ण विष्टलगायतले ज्यान जाला गाडी छाडेनन् । सर्रे खोलामा आएको बाढी सुक्ने क्रममा भए पनि बगरमा दलदल भने कायमै थियो । करिब ५ ठाउँमा सर्रे खोला तरेपछि मात्रै पुगिन्थ्यो बैठकस्थल । बाटामा भास्सिएका गाडी निकाल्न सुरक्षाकर्मीलाई धौ–धौ परेको देखिन्थ्यो । 

बादल ३ किलोमिटर पैदल

एमाले उपाध्यक्ष रामबहादुर थापा बादल हिँडिरहेको अवस्थामा भेटिए । पूर्वगृहमन्त्रीसमेत रहेका बादल हातमा मोजा बोकेर बैठकस्थलतर्फ लम्किँदै थिए । ‘बीचबीचमा खोला तर्नुपर्ने र मोजा भिज्ने भएकाले हातमा बोकेर हिँडेको हुँ’ बादल जनआस्थासँग गफिए, ‘बाटो पनि हिलाम्मे रहेछ । तर, धेरै समयपछि खोला र खेतका आलीमा हिँड्न पाउँदा रमाइलो लागेको छ ।’ एक्लै हिँडिरहेका उनले जनआस्थासँग माओवादी युद्धताका हिँडाइको पनि संक्षेपमा वर्णन गर्न भ्याए ।

‘साँच्चै टेकबहादुरको के छ ?’, स्थानीय तह चुनावलगत्तै माओवादी केन्द्रमा फर्किएका एमाले केन्द्रीय सदस्य महोत्तरीको बर्दिबास – ७ हात्तिलेड निवासी टेकबहादुर बलम्पाकीबारे जिज्ञासा राखे बादलले, ‘सल्लाहै नगरी एमाले छोडेर टेकबहादुरले गल्ती ग¥यो ।’ बर्दिबास नगरपालिकाको मेयरमा हारेपछि अन्तर्घात भयो भन्दै एमाले छाडेका उनी बादलका विश्वासपात्र थिए ।

पैदलयात्रामा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र सचिव प्रदीप ज्ञवाली पनि भेटिए । उपाध्यक्ष पोखरेल भने थकित मुद्रामा थिए । बैठकस्थल आइपुग्नै लाग्दा जनआस्था प्रतिनिधिको स्प्लेन्डर मोटरसाइकल चढेर गए उनी । पोखरेललाई बाइक चढ्न ज्ञवालीले सुझाएका थिए । ज्ञवालीको भनाइ थियो, ‘मचाहिँ हिँड्नै रूचाउँछु । अम्बास गाउँका दृश्यले रोमाञ्चित बनायो ।’ ज्ञवालीको पछिपछि एक हुल कार्यकर्ता लामबद्ध भएर हिँडिरहेका थिए ।

माओवादीको बाटोमा एमाले

मदन भण्डारी महासचिव बनेको अम्बासको विकास भनेको सर्रे खोलामा बनेको २ वटा झोलुंगे पुल हो । मदन भण्डारी मावि निर्माणाधीन अवस्थामा छ र महेन्द्र राजमार्गको जिरोमाइलबाट अम्बाससम्म पुग्ने १३ किमि कालेपत्रे सडक पनि बन्ने क्रममै छ । अम्बासबाट उदयपुरको मदन भण्डारी मार्ग जोड्ने सडकको ट्र्याक भर्खरै स्थानीयले जनही घरधुरी ५ हजार रूपैयाँको दरले उठाएर खोलेका छन् । तत्कालीन मालेको चौथो महाधिवेशनस्थलसम्म पुग्ने ग्रामीण कच्ची बाटो बनेको छ । यो बाटो माओवादी केन्द्रको केन्द्रीय सदस्यसमेत रहेका धनगढीमाई नगरपालिकाका तत्कालीन मेयर हरिनारायण चौधरीले बनाएका हुन् । जुन बाटो हुँदै एमालेका सबैजसो शीर्ष नेता बैठकस्थल पुगे । एक स्थानीय भन्दै थिए, ‘ माओवादीले बनाएको बाटोमा एमाले हिँड्यो ।’

अहिले भने धनगढीमाई नगरपालिकाको मेयर एमालेले जिते पनि अम्बासको विकासमा खासै चासो दिइएको छैन । स्थानीय बाटो, तटबन्ध, कुलोपैनी र मदन भण्डारी स्मारक पार्क बनेर यो ठाउँ पर्यटकीयस्थल बनेको हेर्न चाहन्छन् । उनीहरूले अम्बास भ्रमणमा आएकी मदनपत्नी विद्यादेवी भण्डारी, नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र शंकर पोखरेलसँग पनि यिनै माग राखेको धेरै भइसक्यो । तर, सुनुवाइ भएन । यसपटक ओलीसमक्ष यही माग राखेका छन्, सबैले । मोबाइलको टावरसमेत नलाग्ने अम्बासबासीको यो माग पूरा गर्ने प्रतिबद्धता एमाले नेतृत्वले गरेको छ । 

सधैँ प्रतिबद्धता जनाउने तर पूरा नगर्ने परिपाटीकै कारण सधँै एमालेले जित्दै आएको अम्बासमा पछिल्लो स्थानीय तह चुनावमा वडाध्यक्ष कांग्रेसले जितेको तीतो यथार्थ स्मरण गरे स्थानीय ८० वर्षीय बलबहादुर सुनुवारले । चौथो महाधिवेशनका लागि घरै उपलब्ध गराएका बलबहादुरले डेढ बिघाभन्दा बढी जग्गा दिएका छन् ।

फोटा खिच्नेको ताँती, मञ्चमा बस्न रोक

बुधबार टाँडमा सचिवालय बैठक बसिरहँदा छेवैमा रहेको आफ्नो घरको आँगनमा रहेको आँपको रुखमुनि जनआस्थासँग निकैबेर गफिए बलबहादुर । उनी कान लगभग सुन्दैनन् । प्रेसर र थाइराइडका बिरामी लौरो नटेकी हिँडडुल गर्न सक्दैनन् । काठमाडौं गएर ठूलै अस्पतालमा कान जँचाउने र औषधोपचार गर्ने धोको छ । तर, अभावले गर्दा धोको अधुरै छ । मालेकालीन भूमिगत नेता उनका कान्छाभाइ पनि औषधोपचार अभावमा अकालमै मरेका थिए । एमाले मदन भण्डारीले देखाएको बाटोमा नहिँडेको भन्दै चित्त दुखाए, ‘एमाले नेतृत्व व्यक्तिवादी भयो । सबै पैसाको पछि लागे । घरघडेरी जोड्नतिर लागे । मै खाउँ मै लाऊँ भन्नेमा जोड दिन थाले । जनभावनाको कदर गर्न छाडे । भ्रष्टाचारमा मुछिए । मदन भण्डारीले भनेको सर्वहाराको मुक्ति यो छाँटले कसरी होला र खै !’ 

अर्काे दृश्य त झन् हृदयविदारक छ । जनआस्थासँग कुराकानी टुंगिन नपाउँदै लिन आइपुगेकी कान्छी छोरीको भरमा लौरो टेक्दै बैठकस्थल पुगेका बलबहादुरसँग ऐतिहासिक घरअगाडि उभिएर फोटा खिच्नेको लर्काे लाग्यो । करिब आधा घण्टासम्म लौरो टेकेर पोज दिइरहँदा उनी थरथर काँप्दै थिए । उनको दर्दतिर कसैको चासो थिएन । सुटेडबुटेड नेताहरू थरीथरी पोज दिइरहेका थिए । धेरैबेरसम्म उभिनुपरेकाले बलबहादुरको अनुहार कालोनीलो बनेको थियो । 

धेरैबेरको फोटो सुटपछि छोरीचेलीले पाखुरा पक्रिएर मञ्चतिर बसाउन लगे । सुरक्षामा तैनाथ प्रहरीले आदेश नभएको भन्दै मञ्चमा बसाउन मानेनन् । उनकी छोरीले बैठक बसिरहेको घर देखाउँदै भनिन्, ‘यो घर दिने मान्छे उहाँ नै हो ।’ प्रहरीले भने, ‘खै त्यो त थाहा भएन । मञ्चमा मान्छे राख्ने आदेश छैन ।’ स्वयंसेवकले कुर्सी खोजेर ल्याए । अप्ठ्यारो मानिमानी बलबहादुर मञ्चमा बसे । अघिल्तिर टेण्टको ओतमा बसेका केन्द्रीय सदस्यहरू यो दृश्य हेरिरहेका थिए । माइकमा जोरजोरले गीत घन्किरहेको थियो, ‘गाउँगाउँबाट उठ, बस्तीबस्तीबाट उठ – यो देशको मुहार फेर्नलाई उठ ...।’

भदौ १३ गते मदन र माधवलाई आश्रय दिएकोमा सम्मानित हुँदै गर्दा राजकुमार घिमिरे भक्कानिए । मदन भण्डारीको नाम बेचेर खाएको भन्दै एमाले नेतृत्वको सत्तोसराप गरे । घिमिरेसँगै चौथो महाधिवेशनका मुख्य व्यवस्थापक ईश्वर पोखरेल, व्यवस्थापन सदस्यहरू सत्यनारायण मण्डल, नरेन्द्र पोखरेल र हिराबहादुर सुनुवारलाई पनि सम्मान गरियो । ईश्वर पोखरेलले अनियमितता गरेको पैसा खानेपानीको ट्यांकीमा लुकाएको चर्चा अखबारहरूमा छाइरहँदा औषधोपचार अभावमा हीराबहादुर सुनुवारको निधन भने उदयपुरको गराँसमा भएको थियो ।

त्यस्तै, भदौ १३ गते अम्बासमा तत्कालीन मालेको महाधिवेशनमा विशेष भूमिका निर्वाह गर्ने गिरीधारी मैनाली, रामईश्वर शाह, शिवदयाल बिक, स्वर्गीय नरेशचन्द्र उराव, तेजप्रसाद तिमल्सिना, नारायण गेलाल, हिकबहादुर लुंगेली, तुलसी आचार्य, हरिहर उपाध्याय, हरिप्रसाद लामा, चौधरी महतोलाई सम्मान गरिएको थियो । 
अम्बाससँगै जोडिएको विष्णुपुरका चौधरीको घरमा मदन महिनौँसम्म बस्थे । चौधरीसँगै खैनी मोल्दै गाउँ डुल्थे । ०४६ सालमा चौथो महाधिवेशन हुनुअघि तत्कालीन मालेको केन्द्रीय कमिटी मिटिङ विष्णुपुरस्थित चौधरीको घरमा बसेको थियो । महाधिवेशनका लागि लहानबाट चौधरीले ३० किलो आलु बोक्दा मदन भण्डारीले २० किलो चिनी बोकेको चौधरीले बताए ।

त्यस्तै, सोही दिन चौथो महाधिवेशन सफल बनाउन भूमिका निभाएको भन्दै कमलबहादुर जर्घा, स्वर्गीय पूर्णबहादुर जर्घा, मदनबहादुर जर्घा, स्वर्गीय वीरबहादुर सुनुवार, गुणबहादुर सुनुवार, इमानसिहं मसरांगी, जितबहादुर सुनुवार, भीमबहादुर मगर, स्वर्गीय रामकरण महतो, स्वर्गीय वैकुण्ठ निरौला र विराटनगरको एमएम प्लास्टिक उद्योगलाई सम्मान गरिएको थियो । सचिवालय बैठकमा भाग लिन काठमाडौंबाट प्लेनमा जनकपुर हुँदै आएका नेतागण प्लेनमै फर्किनुपर्ने भएकाले हतारमा थिए । बैठकस्थलबाट फर्कने क्रममा लहानस्थित चौधरी आँखा अस्पताल छिरे ओली । अहिले यस अस्पतालले ओलीले समेत आँखा चेक गराएको अस्पताल भनेर सीमावर्ती भारतीय क्षेत्रमा प्रचारप्रसार तीव्र बनाएको छ ।
 

टिप्पणीहरू