कमरेड छिञ्चुको रातारात कायापलट

कमरेड छिञ्चुको रातारात कायापलट

१० वर्ष लामो छापामार युद्ध लडेर राजनीतिको मूलधारमा आए पनि माओवादीका कतिपय नेताको द्रव्यमोहले पार्टीलाई नै धरासयी बनाउनेतर्फ डो¥याइरहेको बुझ्न थालिएको छ । यो प्रवृत्तिको रोग स्थानीय तहदेखि केन्द्रसम्म सल्बलाइरहेको पाइन्छ । यस्तै, आर्थिक मुद्दामा डोबिएका छन् माओवादी केन्द्र बागमती प्रदेशका उपाध्यक्ष प्रेमबहादुर पुलामी, छिञ्चु चिनिने पुलामी मकवानपुर १ (क) बाट विजयी सांसद हुन् । यो द्रव्यमोहमा उनकै खल्ती गह्रुँगो भएको छ वा छैन, त्यो भने पुष्टि हुन बाँकी छ तर हेटौंडा उपमहानगरपालिका–६, रामनगर निवासी रामबहादुर कार्कीको परिवारलाई घर न घाटको बनाउने कार्यमा उनको प्रत्यक्ष भूमिका खुल्न आएको कागज पत्र हामीलाई प्राप्त भएको छ ।

यस्तो छ प्रकरण 

रामबहादुर कार्की पेशाले शिक्षक हुन् । छोरा पुजनले हेटौंडा बजारमा भ्वाइस मार्ट नामक इलेक्ट्रोनिक व्यवसाय गर्दै आएका थिए । पुजनको व्यावसायिक आय आर्जन राम्रो थियो । यता, हुन्डाइ मोटरको शोरुम सञ्चालक थिए विजय श्रेष्ठ । विजयका अर्का साथी प्रकाश राजवाहक । घर काठमाडौँमा भए पनि कारोबार बिग्रेका कारण प्रकाशले हेटौंडातिरै जीविका गर्दै आएका रहेछन् । साँढुदाइ प्रेमबहादुर पुलामी छिञ्चुको छत्रछायाँमा रहेका कारण प्रकाशको चहलपहल बढ्दै गएको थियो ।

प्रकाश राजवाहक र विजय श्रेष्ठले पैसावाल कारोबारी देखिएका युवा पुजन कार्कीलाई विभिन्न लोभलालच देखाएर आफ्नो बशमा लिने योजना बन्छ । हुन्डाइको पार्टनर बन्न्न प्रस्ताव गर्छन् । उनीहरूले ट्रिपर भिœयाउने एजेन्टको काम गर्ने गरेको पुजनलाई सुनाउँछन् । एउटा टिपरबाट २५÷३० लाख कमिसन आउने बताउँदै भन्सारमा रोकिएका टिपर छुटाउन तत्काल बजेट आवश्यक परेकाले पार्टनर बन्न आग्रह गर्दै हुन्डाइ कम्पनीको हेटौंडा डिलरमा पुजनलाई इन गराउने नाटक गरिन्छ । पुजन विश्वासमा पर्छन् र आफ्नो भइरहेको व्यवसाय भ्वाइस मार्टको पैसा सबै प्रकाश र विजयको पोल्टामा हालिदिन्छन् । आफ्नो घर जग्गा धितो राखेर ऋण निकालेको पैसासमेत प्रकाश राजवाहक र विजय श्रेठलाई सुम्पिन्छन् । पैसाजति सुम्पिएका पुजन त्यतिखेर झस्किन्छन् जतिखेर उनको भागमा न टिपरको कमिसन हाता लाग्छ न हुन्डाइ कम्पनीको शेयर नै आउँछ ।

करिब एक महिनाभित्र प्रकाश राजवाहक र विजय श्रेष्ठको गलत नियत थाहा पाएका हुन्छन् । थाहा पाउँदासम्म आफ्नो लगानी चटनी बनिसकेको हुन्छ । विजय र प्रकाशसमेतले पुजनको पैसा व्यावसायिक लगानी नै नगरी बाँडीचँुडी खाइवरी मोज गरेका हुन्छन् । योजनाकार मानिएका मुख्य पात्रमध्ये विजय श्रेष्ठले चलाखीपूर्वक आफ्नो नाम छायामा राखे पनि प्रकाश राजवाहकले जिल्ला प्रहरी कार्यालय हेटौंडा थुनामा रहँदा दिएको हिसाब टिपोटअनुसार विजयले २ करोड ४० लाख मासेको देखिने पुजन कार्कीले हामीलाई बताएका छन् । त्यसबाहेक पुजनले आफ्नै खाताबट ८१ लाख रूपैयाँ विजयको खातामा हालेको सप्रमाण दाबी पेश गरेका छन् । 

नेता र प्रहरीले डुबाए : पीडित परिवार 

बल्ल शुरु भो नेता र प्रहरीको खेल । घर जग्गा व्यवसाय सबै बन्धकी राखेर पुजन कार्कीले दिएको पैसा असुल्न अब एउटै भरोसाको बाटो थियो कानुनको सहायता । आफ्नो सर्वस्व गुमाएका कार्की परिवारले जिल्ला प्रहरी कार्यालय मकवानपुर हेटौंडामा प्रकाश राजवाहक विरुद्ध बैकिङ कसुर चेक अनादरमा मुद्दा दिए । प्रकाश पक्राउ परे । प्रकाश पक्राउ परेपछि उनका साँढुदाइ प्रेमबहादुर पुलामी, श्रीमती सबि सिन्तान, श्रीमतीकी दिदी प्रमिला पुलामी प्रकाश राजवाहकको बचाउमा सक्रिय रहे । अन्ततः चेक लेनदेन गर्ने र कागज गर्ने सहमति गराउन माननीय प्रेमबहादुर पुलामी सफल देखिए । जिल्ला प्रहरी कार्यालय मकवानपुरका उपरीक्षक वामदेव गौतम र सांसद पुलामीको अगाडि पीडितले घँुडा टेक्न बाध्य भए ।

सम्झौता कागज षड्यन्त्रको पुलिन्दा

माननीय पुलामीका साढुभाइ प्रकाश राजवाहकलाई हिरासतमुक्त गरेलगत्तै कागज गरियो । कागज गर्दा गोविन्द सारु मगरलाई मुख्य पात्रमध्येकै हैसियतमा इन्ट्री गराइयो । मगर माओवादी कार्यकर्ता अर्थात् रसुवाका वाइसिएल नेता रहेछन् । रसुवाकै अर्का वाइसिल नेता गणेश बिक र माननीय पुलामीका साली सबि सिन्तानसहित चार जनालाई दोस्रो पक्ष बनाई ३ करोड ५० लाख रूपैयाँ पीडित पुजन कार्कीलाई दिने गरी सम्झौता पत्र तयार भयो । ५ असोज २०७९ मा भएको सम्झौता पत्रमा साक्षी प्रमिला पुलामी बसेकी छन् । 

उक्त सम्झौता पत्र २०७९ असोज ६ गते हेटौंडा–६ का वडाध्यक्ष विष्णुबहादुर दाहालले प्रमाणित गरेको देखिन्छ । यो सम्झौतापत्र तयार गर्दा माननीय पुलामीको सक्रियता अर्थपूर्ण मानिएको छ । कार्यान्वयन अहिलेसम्म नभएको उक्त सम्झौता प्रमाणित गरिदिने हेटौंडा–६ का वडाध्यक्ष विष्णुबहादुर दाहालले पनि कार्की परिवारलाई अन्याय भएको बताए तर न्याय दिलाउने पहल गर्न सकेको देखिँदैन । उनले हामीसँगको फोन संवादमा भने अन्यायमा परेका छन् सहयोग गरिदिनुहोला । माओवादी नेता सालिकराम जम्मकट्टेल मुख्यमन्त्री भएको बागमती प्रदेशको राजधानी हेटौंडामा माओवादी नेता तथा कार्यकर्ताहरूबाटै सर्वसाधारण नागरिकले न्याय नपाए कहाँ जाने न्याय खोज्न ? प्रचण्ड सरकारले भुइँ मान्छेहरूको न्याय दिन कहिले सोच्ला ? कार्यकर्ताले गरेको गल्ती–कमजोरी कहिले सच्याउन पहल गर्ला ? यो भने प्रतीक्षाकै विषय बनेको छ ।  

 – यदुनाथ बञ्जार
 

टिप्पणीहरू