सुन र रक्सी त फरक हो नि सरकार

सुन र रक्सी त फरक हो नि सरकार
सुन्नुहोस्

कुनै पनि घटनामा सरकार वा अनुसन्धान गर्ने निकाय कसुरकेन्द्रित हुने, रोकथामका लागि नीतिगत पहल नहुने, यस्तो हुँदा गम्भीर प्रकारका आर्थिक घटना रोकिनुको सट्टा बढिरहेका छन् । 

विमानस्थल भन्सारलाई झुक्याएर वा प्रलोभनमा पारेर भित्र्याइएको सुनको मामिलामा सरकार कसुरतर्फ मात्रै केन्द्रित भयो । फलतः विद्युतीय सिगरेट (भेप) भित्र हालेर छिराइएको सुन काण्डमा भन्सार प्रमुख आफैं उजुरकर्ता भई मुद्दा अगाडि बढिरहँदा फेरि चार–पाँच महिनामै ब्रेक सुजभित्र सुन हालेर ६५ केजी सुन ल्याइयो । भेप प्रकरणमै केही मानिस समातिए, कारवाहीमा पनि परेकै छन् । तर, दोषीहरू समातेर मुद्दा चलाउँदैमा सरकारको काम सकिन्छ कि त्यसरी हुने तस्करी रोक्न प्रणालीगत तथा नीतिगत योजना नै परिवर्तन गर्दै अगाडि बढ्ने हो ? यो प्रश्न गम्भीर छ ।

प्रश्न सरकारमाथि मात्रै छैन । भन्सार, जहाँ कोही मान्छेले एउटा बोतल रक्सी वा मोबाइल फोन बढी ल्याउँदा कर्मचारीको आँखा पुग्छ । त्यहीँबाट सयौं केजी सुन भित्रिँदा कसरी चाल पाइएन ? यसमा दोषी भन्सार, जाँचकी वा प्रहरी ? यस्तो प्रश्न व्यापक भएको छ । कर्मचारीहरु भन्छन्, रक्सी र सुनको किस्सा फरक छ । रक्सी अर्थोक केही बनाएर ल्याउन मिल्दैन । सुन विभिन्न सामानको आकार र अंगका रुपमा छिराउन सकियो । नेपालको विमानस्थल मात्रै हैन, भारतमा पनि धाराभित्र हालेर तस्करी गरिएको भेटिएकै हो । कार्गो हुँदै आउने र यात्रुले साथमै लिएर ल्याउने सुनका किस्सा फरक हुन्छन् । सामान्य यात्रुले भन्सारमा पठाउनु नपर्ने गरी पनि सुन ल्याउने गरेका छन्, जुन आँखाले देखिन्छ । त्यसरी यात्रुले सुन ल्याउने भनेको सय, दुई सय ग्रामभन्दा बढी भएमात्रै हो ।

भन्सारमा जाने सामानको एक्सरे हुन्छ, त्यसमा सुन देखिएन र अरु नै वस्तुभित्र सुन घुसाइएको छ भने त्यो झुक्यान हो भन्ने भन्सार कर्मचारीहरुको दावी छ । त्यही विमानस्थलमा सुनकाण्डपछि प्रहरी चेकिङबाटै चरेश छुटेर हङकङ पुगेको छ । प्रहरीको लागु औषधका विज्ञ २४ सैं घण्टा विमानस्थलमा तैनाथ हुँदा यस्तो कसरी सम्भव भयो ? यसमा प्रहरीको जवाफ प्रहरीलाई नै जोगाउने गरी आउँछ । भन्सारमाथि प्रश्न गरे त्यहीँका कर्मचारी बन्द, हड्ताल र अवज्ञामा उत्रने गरेका छन् । खास समस्याचाहिँ सरकारको प्रणालीगत सुधार नहुनुमा देखिएको छ ।

भन्सार छलेर विमानस्थलबाट बाहिरिएको सुन प्रकरणमा राजश्व अनुसन्धानको टोलीले एक तहको कसुरदार र कारोबारी पत्ता लगाइसकेको थियो । अर्थात्, भन्सार कर्मचारी, पास गर्ने बाहिरका व्यक्ति र सामान बुझिलिने व्यक्ति पत्ता लाग्यो । अब प्रहरीले त्यसपछिको संलग्नता पत्ता लगाउने हो । अर्थात्, ल्याइएका सुनको खपत कहाँ, कसरी र कसले गरिरहेको छ भन्ने अनुसन्धानको प्रमुख पाटो बाँकी नै छ । 
 

टिप्पणीहरू