गोकुल र रविको गला मिलेपछि

गोकुल र रविको गला मिलेपछि
सुन्नुहोस्

एमाले अध्यक्ष केपी ओलीले पछिल्लो सचिवालय बैठकमा गोकुल बाँस्कोटाप्रति लक्ष्य गर्दै भन्नुभयो – ‘पार्टी निर्णय मान्दिनँ भन्दै हिँड्नेहरू पनि छन् !’ एउटा जिल्लाका केन्द्रीय सदस्यलाई अर्को जिल्लाको इञ्चार्ज बनाउने निर्णयलाई ‘सिडिओ सरुवा’ को संज्ञा दिएका गोकुलको त्यसमा चर्को असन्तुष्टि थियो । पदाधिकारी तहका नेताले समेत आँखा जुधाएर कुरा गर्न नसकिरहेका बेला आफैंले ‘हुर्काएको केटो’ त्यसरी प्रस्तुत भएपछि ओलीको रिस सचिवालय बैठकमा प्रकट भएको हो । 

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीमा सक्रिय गराउन लागिपरेका थुप्रै नेतामध्येका एक भनिने गोकुलको पछिल्लो समय अध्यक्ष ओलीसँग दूरी बढेको चर्चा छ । कतिसम्म भने बालकोटको ढोका पहिलेजस्तो जतिखेरै खुला छैन आजकाल उनका लागि । पार्टी कार्यालयमा उभिउभि अध्यक्षसँग कुरा गरिरहेका गोकुलले दुई महिनासम्म भेट्न नपाएको गुनासो पोख्दा ओलीले ‘आए भैगो नि !’ भनेर टर्राे जवाफ दिएको नजिकबाट सुन्ने एक माननीयले पनि दूरी बढेकै अनुमान लगाए ।

तर, गोकुलले भने सिन्धुपाल्चोकका नेताहरूसँगको कुराकानीमा प्रसंग आउँदा आफैँ भेट्न नगएको बताउने गरेका छन् । पुस १० अघि सरकार बनाउन राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई मिलाउने भूमिका पाए पनि त्यसपछि बेवास्ता गरिएको उनको गुनासो छ । रविसँग गोकुलको पुरानै दोस्ती रहेका कारण ओलीले त्यतिबेला सो जिम्मेवारी दिएको बताइन्छ । 

पुराना पार्टी र नेताहरूलाई गाली गरेरै राजनीतिमा उदाएका रवि र रुखो बोलीका गोकुल दुवै काभ्रेली हुन् । जिल्लावासी मात्र नभई एकै निर्वाचन क्षेत्रका मतदातासमेत हुन् । त्यसकारण पुरानो दोस्ती मंसिरको चुनावदेखि थप झांगिएको बताइन्छ । काभ्रेको राजनीति बुझेका एमालेकै नेताहरू रविले सहयोग नगरेको भए गोकुललाई चुनाव जित्न सहज नहुने विश्लेषण गर्छन् । बताइएअनुसार चुनावअघि रविले एउटा टिमसहित दुई दिन बनेपा बसेर मत सर्वेक्षणसमेत गरेका थिए । सर्वे गराएर गोकुलकै सल्लाहमा उनी त्यहाँबाट ब्याक भएको बताइन्छ । खरो स्वभावका गोकुलले काभ्रेमा शहरको हावा नलाग्ने र नगरकोट मुनि नयाँ गाउँका सात सय लामिछानेको भोटले चुनाव नजितिने खुलस्त कुरा गरेका थिए । 

भनिन्छ, त्यसपछि उनीहरूबीच एक–अर्कालाई समर्थन गरेर जाने भित्री सहमतिसमेत भयो । कांग्रेसले शिव हुमागाईंलाई उठाइदिए आफूलाई सहज हुने भन्दै गोकुलले त्यसका लागि भूमिका खेलिदिन रविलाई आग्रहसमेत गरे । संयोग नै मान्नुपर्छ पछि कांग्रेसले उनैलाई उम्मेदवार बनायो । गोकुलले झण्डै साढे ६ हजार मतान्तरले जिते । त्यस क्षेत्रमा घण्टीले साढे १० हजार भोट पाएको थियो । 

गोकुलले रविका लागि काठमाडौँ –५ या दाङ २ मध्ये एक क्षेत्रबाट चुनाव लड्न सुझावसमेत दिएका थिए । काठमाडौँ–५ सचेत मतदाता बस्ने क्षेत्र भएकाले चुनावी माहोल बनाउन सजिलो हुने उनको तर्क थियो । जबकि त्यहाँ एमालेले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई उम्मेदवार बनाउँदै थियो । काठमाडौँ बाहिरबाट उठ्दा दाङ– २ सबैभन्दा उपयुक्त क्षेत्र हुने गोकुलको सुझाव थियो । त्यहाँ एमालेबाट महासचिव शंकर पोखरेल उठ्दै थिए । तर, रवि ती दुवै क्षेत्रबाट उठेनन् । चितवन गए । भारी मतान्तरसहित चुनाव जिते पनि । पछि उपचुनावमा एमालेले चितवन–२ को चुनावी कमाण्डर गोकुललाई बनाएको थियो । रवि निकटहरूले त्यसलाई एमालेले गरेको अप्रत्यक्ष सहयोग भन्ने गरेका छन् ।

 

टिप्पणीहरू