नागरिकता दिनेलाई जोगाउने, लिनेलाई कोच्ने

नागरिकता दिनेलाई जोगाउने, लिनेलाई कोच्ने
सुन्नुहोस्

मोतीराम तिमल्सिना, काभ्रे

गृह मन्त्रालयको नीति, योजना महाशाखा प्रमुख रहेकी सहसचिव रुद्रादेवी शर्मा काभ्रेपलाञ्चोक जिल्लाको प्रजिअ भएर आएकी छन् । ७ महिनाको अवधिमै पुण्यविक्रम पौडेललाई धनकुटा सरुवा गरिएपछि आएकी शर्माले यसअघि भक्तपुर, रामेछाप र गुल्मी चलाइसकेकी छन् । संयोग नै मान्नुपर्छ नीति तथा योजना महाशाखा हुँदा आफैले विदेशी नागरिक दावा छिरिङ भनिने निमा तामाङको नागरिकता खारेज गरी संलग्न कर्मचारीलाई कारबाही गर्न निर्देशन दिँदै उनले लगाएको तोक आफै कार्यान्वयन गर्ने जिम्मेवारी उनीमाथि छ । 

नभन्दै उनले हाजिर भएको पाँच दिनमै आफ्नै तोक कार्यान्वयन गर्न थालेकी छन् । सुन तस्करीमा पक्राउ परेका चिनियाँमूलका बेल्जियन नागरिक दावा छिरिङले नेपालको नागरिकता प्राप्त गरेको विषयमा छानबिन समितिले दिएको निर्देशनअनुरूप जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले खारेजी प्रक्रिया शुरु गरेको छ ।

२०८० भदौ १८ गते सोमबार मात्रै हाजिर भएकी शर्माले शुक्रबार जिल्ला प्रशासन कार्यालयको नागरिकता फाँट, सहायक प्रमुख जिल्ला अधिकारीको निर्णयका साथ गृह मन्त्रालयमा नागरिकता र राहदानी खारेजीसँगै संलग्न कर्मचारीलाई कारबाहीका लागि सिफारिस गरेकी हुन् । शर्माले भनिन्, ‘नेपाली नागरिकको हकमा रद्द गर्ने अधिकार प्रजिअलाई भए पनि विदेशीको हकमा मन्त्रालय स्तरबाट निर्णय गर्नुपर्ने भएकाले आवश्यक प्रक्रियासहित पठाएको छु ।’ ‘निमा तामाङ’को हकमा मन्त्रालय स्तरबाटै छानबिन समिति गठन भएकाले मन्त्रालयले नै यसबारे निर्णय गर्नेछ । शर्माले भनिन् ‘उनी पक्राउ परेर सिआइबीले समेत अन्य विषयमा अनुसन्धान गरिरहेकाले जोडिएका अन्यको हकमा पनि कानुनअनुसार हुनेछ ।’ 

निमासँगै नागरिकता प्राप्त गरेका पासाङ तामाङ तथा अन्य विदेशीको सन्दर्भमा गृह मन्त्रालय मौन छ । त्यसमा संलग्न कर्मचारी र विदेशीका हकमा सिआइबीले पनि अनुसन्धान गरिरहेकाले मन्त्रालय मौन रहेको श्रोतले बतायो । पासाङ तामाङ र निमा तामाङका बाबुको नाम पेमा तामाङ राखिएको छ । एकै दिन र एकै ठेगाना, एउटै बाबु राखेर नेपाली नागरिकता लिएका पासाङ तामाङलाई तत्काल समातेर अनुसन्धान गर्न गृह मन्त्रालयले सुझाव दिएको थियो । यो विषयमा भने प्रशासन कार्यालय अझै मौन छ । त्यस्तै काभ्रेपलाञ्चोक जिल्लाबाट हालसम्म निमा र पासाङबाहेक राम लामा, सोनाम लामा र सोनाम छिरिङ लामा, तेञ्जिङ गुरुङले नेपाली राहदानी लिएको प्रमाणित भएको छ । 

निजले राहदानी विभागबाट लिएको राहदानीमा प्रयोग भएको औँठाछाप र नागरिकता अभिलेखमा उल्लेख भएको औँठाछाप फरक परेको छ । समितिले ०७४ पुस २० गते ३०–०१–७४–११८६८ नम्बरको निमा तामाङको नागरिकता फोटोसहितको ढड्डा र सिएमआईएस अभिलेख रहेको तर अनुसूची १ फारम अभिलेख नभेटिएको, मौकामा गरिएको सर्जमिन मुचुल्का तथा छानबिन तहकिकातमा प्राप्त प्रमाणका आधारमा नागरिकता प्रमाणपत्र किर्ते जालसाजी गरी लिएकाले उक्त कार्यमा संलग्नलाई आवश्यक कानुनी कारवाही गर्न सुझाव दिएको थियो । 

नागरिकता बिक्री गर्ने कार्यमा झपेन्द्रराज खरेल, तत्कालीन अधिकृत भूपेन्द्र पाण्डेय, सुब्बा रामचन्द्र अर्याल, कम्प्युटर अधिकृत हिराकाजी तामाङ, कार्यालय सहयोगी एक जना संलग्न थिए । अर्याल सरुवा हुने क्रममा २०७५ साउन ३ गते हराएका नागरिकताका अनुसूची सबै उपलब्ध गराउने शर्तमा कागज गराईएको थियो । तत्कालीन समयमा प्रमुख जिल्ला अधिकारी शिव सिंखडा थिए । राहदानी बिक्री गर्ने कार्यमा संलग्नलाई पनि सिआइबीले अनुसन्धान गरिरहेको छ । 

 

टिप्पणीहरू