केपी ओलीकै ठाउँमा नेताबीच कुटाकुट

केपी ओलीकै ठाउँमा नेताबीच कुटाकुट
सुन्नुहोस्

गत वर्ष चितवनमा अधिवेशन गरेर फर्किएको नेकपा (एमाले) लाई यतिबेला प्रदेश अधिवेशनको चटारो छ । भर्खरै लुम्बिनी प्रदेशको तुष नसकिँदै कर्णाली र कोशीको अधिवेशन नजिकिएर नेतृत्वका दाबेदारहरूले आ–आफ्ना नेता केन्द्रित गतिविधि बढाएका छन् । विवादित नाम कोशी प्रदेशको असोज १२ र १३ गते गर्ने भनिएसँगै एक तहका नेताहरू नेतृत्व लिने दौडमा छन् । अध्यक्ष बन्न तुलसी न्यौपाने, घनश्याम खतिवडा, विनोद ढकाल र टीकाराम चेम्जोङ कम्मर कसेका छन् । 

ती चारमध्ये न्यौपाने अहिलेका प्रदेश अध्यक्ष हुन् । अध्यक्ष बनेको डेढ वर्षभित्रै अधिवेशन हुन लागेकाले एक पटक फेरि बस्न पाए हुन्थ्यो भन्ने उनलाई लागेको छ । उनी माधव नेपालका असली कार्यकर्ता हुन् । पार्टी फुट्दा एमालेमै बसेका उनलाई एमालेले प्रदेशमन्त्री बनाएको थियो । 

मोरङ एमालेमा दुईपटक अध्यक्ष रहेका विनोद ढकाल केपी ओलीका खास मान्छे हुन् । तर पछिल्लो समय ओलीसँग असन्तुष्ट उनी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नजिक पुगेका छन् । उनै ढकालसँग छैटौँ अधिवेशनबाट जिल्ला अध्यक्षमा पराजित घनश्याम खतिवडाले पनि भिड्ने रहर गरिरहेका छन् । उनी पनि एमाले विभाजनअगाडि माधव नेपाल समूहमै थिए । टीकाराम चेम्जोङ अहिले प्रदेश कमिटीको उपाध्यक्ष छन् । खास ओली समूहमा सक्रिय उनी धाप पाउने आशमा छन् । 

ओलीकै विकल्पको खोजी

पार्टी विभाजनपछि सबै नेता ओली समर्थक मात्रै रहेको नेताहरूले दाबी गरे पनि एमालेभित्र फरक अभ्यास शुरु भएको छ । हालै सम्पन्न लुम्बिनी प्रदेश अधिवेशनको झिल्कोले सबैतिर सल्काउँदै लगेको देखिन्छ । त्यसको छायाँ यतातिर पनि पर्न सक्ने अवस्था छ भने प्रदेश अधिवेशनमा दुई समूह बन्ने सम्भावना बढेर गएको छ । ओलीको निर्देशनले मात्रै सहमति जुट्ने हो, नत्र कसैको केही भर छैन । पूर्वराष्ट्रपति विद्या भण्डारी निकटकाले अलग्गै समूह बनाएर नेतृत्वमा प्रतिस्पर्धा गर्ने परिस्थिति बन्दै गएको छ । जबकि ओलीलाई पार्टी नेतृत्वमा पुग्न र पार्टीभित्रको अन्तरसंघर्षमा समेत भण्डारीले बलियो साथ दिँदै आएकी थिइन् । तर, अहिले सबैतिर अवस्था बदलिएको छ । केपी ओलीकै जिल्ला झापामा पनि यसको संकेत देखिएका छन् । प्रदेश अधिवेशन सकिएलगत्तै देशैभर जिल्ला अधिवेशन हुने भएकाले त्यसबाट नेतृत्व लिन जोडजुलुम भइरहेका बेला ओलीकै जिल्लामा गरिएका प्रारम्भिक अभ्यासहरूले यस्तो संकेत गरिरहेको बुझ्न सकिन्छ । 

मदन भण्डारी फाउण्डेसनमार्फत ओली र भण्डारी एउटै समूहमा थिए । तर, प्रदेश अधिवेशन नजिकिँदै गर्दा भण्डारीनिकट नेताहरूले तल–तलसम्म अलग समूह बनाएर आन्तरिक प्रतिस्पर्धा गरिरहेका छन् । यसको उदाहरण झापामा भइरहेका युवा संघका अधिवेशनलाई लिन सकिन्छ । क्षेत्रस्तरमा अलग–अलग समूह खडा भए र चुनावै गरेर अगाडि बढे । चुनावमा सहमति बन्न नसक्दा राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनलाई छोडिएको क्षेत्रमा युवाबीच कुटाकुट नै भयो । एक समूहलाई निषेध गर्ने नाममा केहीलाई पार्टी सदस्यबाटै हटाइयो । 

केपी ओली र विद्या भण्डारीकै प्रदेश भएका कारण कोशी प्रदेश अधिवेशन रोमाञ्चक बन्ने देखिन्छ किनभने अधिवेशनसम्म स्पष्ट लाइन देखिने स्थिति छ । भण्डारी समूहको नेतृत्व पूर्वमुख्यमन्त्री शेरधन राईले गरिरहेका छन् र यसमा यसै प्रदेशका सांसद योगेश भट्टराईलगायतको साथ रहने देखिएको छ । यो समूहलाई दश भाइको समर्थन रहने अवस्था छ । यसो भएमा विनोद ढकाल उम्मेदवार बन्न सक्छन् । ओली पक्षलाई कमजोर बनाउने रणनीतिअन्तर्गत काम भइरहेको छ । यसको सामान्य अभ्यास झापामै देखिन्छ । अहिले एमाले झापाभित्र दुई धार विकास भएको छ । जिल्ला अध्यक्ष बन्न हालका उपाध्यक्ष प्रेमकुमार गिरी र सचिव शिव ढुंगेल कम्मर कसेर लागेका छन् । गिरीलाई केपी ओली पक्षका कार्यकर्ताले र ढुंगेललाई दश बुँदेहरूले साथ दिएका छन् । 

उता, दुई–दुईपटक मुख्यमन्त्रीको कुर्सीबाट पछारिएका कांग्रेसका प्रदेश सभापति उद्धव थापाले परमादेशबाट फर्किएका हिक्मत कार्कीलाई त्यति सजिलै टिक्न नदिने अवस्था छ । कार्कीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ तर उनले सहजै मत पाउने अवस्था छैन । केन्द्रीय गठबन्धनको प्रभावले कोशीमा अझै काम गरिरहेकै छ । यो सरकारलाई अब राप्रपाले पनि साथ नदिने संकेत गरेको छ । त्यसो भए अब अर्को धारामा जानुपर्ने हुन्छ, त्यसो भएमा राप्रपाका भक्ति सिटौला वा एसका राजेन्द्र राई मुख्यमन्त्री हुन सक्छन् । 

कोशी प्रदेशको कुर्सीको खेलमा यसपटक भक्ति सिटौलाको रोलले काम गरेको छ । उनी उद्धव थापालाई कुनै पनि हालतमा मुख्यमन्त्री टिकेको देख्न चाहँदैनथे । पुराना सहकर्मी भएका कारण हिजो कृष्ण सिटौला र उद्धव थापाले पेलेको पैँचो उनले तिरे भन्नेहरू पर्याप्त भेटिन्छन् । कृष्ण सिटौलासँगका प्र्रतिस्पर्धी राजेन्द्र लिङ्देन पनि त्यस्तो होस् भन्ने चाहँदैनथे । तर, अब पनि कोशी प्रदेशको चावी राप्रपासँग नै छ । अब के हुन्छ त ? जबकि केही दिनअगाडि राजेन्द्र लिङदेनले भनिसकेका छन्, राप्रपाले कोशीमा कार्की सरकारलाई समर्थन गर्दैन । 
 

टिप्पणीहरू